बर्षातका कारण बिग्रिएको सडक स्थानीयले बनाए

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर । निरन्तरको बर्षातका कारण भत्किएको सडकका कारण आवतजावतमा समेत समस्या हुन थाले पछि स्थानीयहरूले श्रमदानमार्फत सडक मर्मत गरेका छन । भोजपुरको पश्चिम टेम्केमैयुङ गाउँपालिका २ छिनामखुका स्थानीयहरुले श्रमदान मार्फत सडक मर्मत गरेका हुन ।

छिनामखुवासीले श्रमदान मार्फत आफै चार किलोमिटर सडक मर्मत गरेका छन् । वडा कार्यालयको पहल र छिनामखु सरोकार समाजको अग्रसरतामा वडामा रहेको सडक मर्मत भएको छ । वडा भित्रको साढे आठ किलोमिटर सडक मर्मत गर्ने उद्धेश्यका साथ सडक मर्मतमा वडावासीहरु जुटेको स्थानीयको भनाई रहेको छ ।

श्रमदान मार्फत पातेसुङ चोकबाट, तिस्मुरे, थलाखाम, देवीस्थान हुदै हिटिधारासम्मको चार किलोमिटर सडक मर्मत भएको छ । श्रमदान अभियान मार्फत आठ किलोमिटर सडक मर्मत गरिने स्थानीय प्रदिप राईले बताउनुभयो । राईले भन्नुभयो, ‘वडा भित्रको वाटो विग्रिएर यातायात आवत जावतमा समस्या भएपछि श्रमदानमार्फत सडक मर्मत गर्न थालिएको हो ।’ श्रमदानमा जनप्रतिनिधि र वडावासीहको सहभागिता रहेको छ ।

प्रत्येक हप्ता हुने श्रमदानका लागि एक घर एक जना उपस्थित हुने तालिका बनाईएको छ । आफ्नो गाउँ आफै बनाऔँ भन्ने उद्धेश्यका साथ पालिका भित्र रहेको वडाका वडावासीहरु सडक मर्मतमा सक्रिय बनेको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो । अध्यक्ष बस्नेतले भन्नुभयो, “पालिका र वडाको समिति बजेटबाट मर्मत सभारका सवै काम सम्भव हुँदैन, स्वतस्फूर्तरुपमा आफै लागियो भने समस्या समाधानमा समेत सहजता हुन्छ ।” गाउँको सानातिना विकासको काम गर्न सरकारको मुख र वजेट नै ताकी रहनु पर्देन ।

छिनामखुवासीहरुले थालेको श्रमदान अभियान अव निरन्तर जारी रहने छिनामखु सरोकार समाजका कोषाध्यक्ष चन्द्रमा प्रधानले बताउनुभयो । आफ्नो ठाउँको बिकासका लागि सवै एक जुट भएर लाग्नु पने स्थानीय शिक्षक जंगनाथ राईको भनाई रहेको छ ।

सडकको मर्मतमा स्थानीय सकृय भएर लागेपछि अहिले आवत जावतमा सहज हुन थालेको छ । वडा कार्यालयले थालेको श्रमदान अभियानमा स्थानीयहरुको उत्साहजनक सहभागिता देखिएको छ । यो अभियानको जिल्ला भित्रका अन्य पालिकाहरू र वडाहरुले समेत अनुशरण गर्ने वडाध्यक्ष बाल चन्द्र राईले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?