ताम्राकारद्वारा संघको अध्यक्षमा उम्मेदवारी घोषणा

हिमालय टाइम्स
Read Time = 5 mins

ललितपुर । ललितपुर उद्योग वाणिज्य संघको ४४औँ साधारणसभासँगै हुने निर्वाचनमा अध्यक्ष पदका लागि पूर्ववरिष्ठ उपाध्यक्ष रविन्द्रराज ताम्राकारले उम्मेदवारी घोषणा गर्नुभएको छ । उहाँले मंगलबार एक कार्यक्रमबीच उम्मेदवारी घोषणा गर्नुभएको हो । संघको असोज १९ र २९ गते ४४औँ अधिवेशन हुँदैछ ।

संघमा २८ वर्षभन्दा बढी समयदेखि विभिन्न पदमा रहेर निर्वाह गरेको सक्रिय भूमिका र विगतमा संघमा रहेर उद्योगी, व्यवसायीको हितमा गरेको काम र खेलेको भूमिकाका आधारमा संघको विशेषता, चुनौती र अवसरलाई सूक्ष्म रूपमा केलाउन सक्ने, अग्रज र अनुभवीलाई साथमा लिएर नयाँ पुस्तालाई पनि समेटेर जान सक्ने क्षमता आफूसँग रहेकाले आफू अध्यक्षका लागि योग्य रहेको उहाँको दाबी छ ।

ताम्राकारले भन्नुभयो, ‘आफ्नो समग्र, अनुभव, ज्ञान, फराकिलो सम्बन्धको निचोडका रूपमा निजी क्षेत्रलाई सामाजिक उत्तरदायित्वसहित व्यावसायिक हितको सवालमा अघि डोहोर्‍याउने मुख्य लक्ष्य लिएर निर्वाचनमा होमिएको छु । मेरो जीवनको अधिकांश समय उद्योग र वाणिज्य क्षेत्रमा बिताइसकेको छु । मेरो ध्येय र एजेण्डा अहिलेसम्मको कार्यले देखाइसकेको छ । अब एकपटक अध्यक्ष भएर संघको इतिहासको गौरवलाई कायम राख्दै संघको उचाइलाई माथि पुर्‍याउने दृढता रहेको छ ।’

‘आफ्नो समग्र अनुभव, ज्ञान, फराकिलो सम्बन्धको निचोडका रूपमा निजी क्षेत्रलाई सामाजिक उत्तरदायित्वसहित व्यावसायिक हितको सवालमा अघि डोहोर्‍याउने मुख्य लक्ष्य लिएर निर्वाचनमा होमिएको छु ।’

संघका विभिन्न तहमा रहेर झण्डै तीन दशकदेखि सक्रिय रूपमा जिम्मेवारी वहन गर्दै आउनुभएका ताम्राकारले २०२३ सालमा स्थापित ललितपुर उद्योग वाणिज्य संघमा २०५१ सालमा सदस्यता लिनुभएको थियो । पूर्वअध्यक्षद्वय नरेशकुमार श्रेष्ठ र मृगेन्द्रमान प्रधानको कार्यकालमा कार्यसमिति सदस्य तथा संगठन विस्तार तथा प्रचारप्रसार संयोजक रहेर काम गर्नुभएका ताम्राकार अजरमान जोशीको नेतृत्वमा बनेको कार्यसमितिमा प्रथम उपाध्यक्ष र सविन श्रेष्ठ अध्यक्ष रहेको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो ।

पुख्र्यौली व्यवसाय तामा पित्तल व्यवसायका साथै हस्तकला क्षेत्रमा संलग्न ताम्राकार विभिन्न सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । उहाँले २०५७ सालदेखि ताम्राकार समाजका विभिन्न पदमा रहेर दुर्ई कार्यकाल अध्यक्षको भूमिका निर्वाह गर्नुभएको थियो ।
ताम्राकार समाजमार्फत् ललितपुरका विभिन्न जातीय समाज, खलः पुचः हरूबीच आपसी समन्वय र सद्भावको वातावरण बनाई भाषा, संस्कृति संरक्षणमा जोड दिनुभएको थियो । संघले ललितपुर उपमहानगरपालिका र ज्यापू समाजसँग मिलेर २०६९ चैत १५ गतेदेखि चैत २१ सम्म आयोजना गरेको ललितपुर महोत्सवको सदस्य-सचिव रहेर पनि उहाँले काम गर्नुभयो । २०७५ सालमा संघको अग्रसरतामा लोपोन्मुख खड्गजात्रा पुनःजागरण गर्ने कार्यमा सक्रिय भएर लाग्नुभयो । स्वर्गीय बेखानाथ श्रेष्ठको अग्रसरतामा २०२३ साल चैत ४ गते स्थापना भएको संघमा २०६६ सालदेखि हरेक वर्ष चैत ४ गते उद्योगी, व्यवसायी भेला भएर संस्थापक र अग्रजलाई स्मरण गर्दै स्थापना दिवस मनाउने परम्परा सुरु गर्नुपर्नेमा उहाँले जोड दिँदै आउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?