स्याङ्जाको एकमात्र बालगृह अमोर, जहाँ विद्यार्थीले इन्जिनियरिङ समेत पढ्छन्

युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 8 mins

स्याङ्जा । कक्षा १० मा अध्ययनरत १४ वर्षीया प्रिया जिसी अमोर बालगृह फेदीखोलामा आएको धेरै भइसक्यो ।

नजिकैको दामगाडे माध्यमिक विद्यालयलमा अध्ययनरत जिसीलाई सानैबाट योग गर्न मन पर्थ्यो । बालगृहमा आइसकेपछि सानै उमेरबाट गृहकी मामु कमला पराजुलीबाट उनले योग सिकिन् । अहिले उनी योगकी गुरु जस्तै बनेकी छिन् । भविष्यमा योगकै क्षेत्रमा केही गर्न चाहने उनको तीव्र इच्छा छ ।

कक्षा १२ मा अध्ययनरत सुजाता गुरुङ भने गीतकी स्वरकिन्नरी नै रहिछन् । उनले आफ्नै आमा पराजुलीको अगाडी मिठो गीत गाइन् । उनको सुमधुर आवाजले बालगृहका सबै बालबालिकाहरु खुसीले चिच्याए । आफूलाई सानैबाट गीत गाउने इच्छा भएको बताउँदै गुरुङले अब स्टेज कार्यक्रमहरुमा गीत गाउन पाए हुन्थ्यो भन्ने रहर जाग्न थालेको बताइन् ।

कक्षा १० सम्म नजिकैको दामगाडे माध्यमिक विद्यालयमा पढेर एसइइ पास गरेपछि सिद्धार्थ माध्यमिक विद्यालय फेदीखोलाबाट कक्षा १२ सकेर अहिले डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ पढ्दै गरेकी अमृता गुरुङ पनि यसै बालगृहमा छन् । उनले फुर्सदमा ससाना भाइबहिनीहरुलाई पढाउँछिन् । अनुशासन सिकाउँछिन् । कम्प्युटरका विषयमा पनि उनले भाइबहिनीलाई पढाएर आमालाई सजिलो बनाएकी छन् ।

बालबालिकाको क्षेत्रमा पोखराको पृथ्वीनारायण क्याम्पसमा ब्याचलर पढ्दादेखि नै काम गर्न थालेकी ३८ वर्षीय कमला पराजुलीले आजभन्दा १२ वर्ष अगाडि २०६८ सालमा अभिभावकविहीन तथा असाहय बालबालिकाहरुको संरक्षणका गर्ने सोचका साथ अमोर नेपाल बालगृह नामको बालगृह स्थापना गरेकी थिइन् ।

यो बालगृह स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नं १ स्थित कटुञ्जेस्वाँरा गाउँमा अवस्थित छ । बालगृह पुग्नका लागि सिद्थार्थ राजमार्गको सर्केटारीबाट माथि करिब १ किमी दुरीको उकालो पार गर्नुपर्दछ ।

स्याङ्जा जिल्लाकै एकमात्र बालगृहका रुपमा चिनिने अमोरमा सुरुमा तत्कालीन समयमा द्वन्दवको प्रभाव परेका जिल्लाहरुमा रहेका अभिभावकविहीन द्वन्दव पीडित बालबालिकाहरुलाई रुकुम, रोल्पा लगायतका जिल्लाबाट ल्याउनका लागि उनी लगायत उनका ब्याचलर पढ्ने साथीहरु ती जिल्लाहरुमा पुगेका थिए । तत्कालीन दिलशोभा प्रकरणको देशव्यापी प्रभावपछि सरकारले जिल्लाबाहिर बालबालिका लैजाने कुरामा कडाइ गरिदियो । त्यसपछि सरकारका निकायहरुको कानुनी झमेला र विभिन्न व्यवधानका कारण कमलाको टिम हैरान परेर फर्कियो ।

२०६८ सालमा संस्था दर्ता गरेकी पराजुलीले २०७२ सालबाट भने बालगृहलाई राम्रो व्यवस्थापन गरी ११ जना विद्यार्थीलाई राखेर बालगृह सुरु भयो, जहाँ अहिले ३० जना अभिभावकविहीन, असाहय तथा सडक बालबालिकाहरु रहेका छन् ।

कक्षा शिशुदेखि ब्याचलर इन डिप्लोमा इन्जिनियरिङसम्म पढ्ने विद्यार्थीकी आमा बनेकी अविवाहित कमला पराजुली आफू विवाह गरेको भए एक दुई बच्चाकी मात्र आमा बन्थिन् होला तर अहिले उनी ३० जना असहाय बच्चाकी आमा बनेकी छन् । गरिब, विपन्न, समस्यामा परेका बालबालिकाहरुकी प्यारी आमा बन्न पाउँदा आफू खुसी भएको पराजुलीले बताइन् । ’म यिनै बालबालिकाका कारण कतै पनि टाढा बास बस्ने गरी जाँदिन । कहिलेकाँही एकदमै आवश्यक परेर जाँदा पनि ती बालबालिकाहरुको मात्र चिन्ता लागिरहन्छ ।’

कमला पराजुलीले हाल ३० जना बालबालिकाहरुको खानपान, कापी किताब, औषधोपचार, शिक्षादीक्षा तथा सम्पूर्ण संरक्षण गर्दै आएकी छन् । उनलाई यस कार्यमा साथ दिने उनका ६८ वर्षीय बुबा दण्डपाणी पराजुली र ६४ वर्षीय आमा मुरली पराजुली तथा दिदीबहिनीहरु छन् ।

अमोर संस्थाका बारेमा पराजुलीले भनिन्, ‘यो मुठ्ठीदान तथा सहयोगबाट चलेको संस्था हो । यसमा २ वटा भवन बनेको छ । यसमा सरकारको सकेको सहयोग छ । अझै पनि सरकारले सोचेजस्तो सहयोग नगरेको हो कि जस्तो लाग्छ ।’

विदेशी सहयोग आफूहरुले नलिएको बताउने पराजुलीले मुठ्ठीदान, विवाह वर्षगाँठ, पितृश्राद्ध तथा अन्य दिवश र अवसरमा सहयोग गर्ने व्यक्ति तथा संस्थाहरुको सहयोगबाट बालगृहको खर्च व्यवस्थापन गर्दै आएको बताइन् ।

कमला पराजुलीले जीवनको एउटै उद्देश्य बनाइन् । जीवनमा घर परिवार विवाह सन्तान यो त सबैले गर्ने स्वभाविक कर्म नै भइहाल्यो । त्योबाहेक पनि अरुको लागि बाँच्नुपर्छ, मान्छेले आफूभन्दा कमजोरको लागि पनि केही मानवतावादी काम गर्न सक्नुपर्छ भन्ने मनभित्र पलाएको विचारले उनलाई फरक जीवन बाँच्न प्रेरित गर्दै गयो ।

घर परिवारको विवाह गर्ने दबाबलाई उनले राम्रोसँग थेगिन् । उनको मनमा कहिलेकाँही विवाह गर्ने सोच पनि नपलाएको होइन तर विवाह गरेपछि टुहुरा बालबालिकाहरुका क्षेत्रमा काम गर्न कठिनाइ हुने देखेपछि उनले सबै प्रस्तावहरुलाई फर्काइदिइन् ।

उनी भन्छिन्, ‘वास्तवमा मेरो जीवन नै बालबालिकाको लागि रहेछ । मलाई यी बालबालिकाहरुको मायाले कतै निस्कन दिएन । विवाह समेत गर्ने सोचिन । अहिले मेरो संसार भनेकै यिनै बालबालिकाहरु हुन् ।’

वास्तवमा कमला पराजुलीले अमोर बालगृहमा टुहुरा असहाय बालबालिकाहरुलाई जीवन दिएकी छन्, शिक्षा, संस्कार र चेतनाको ज्योति दिएकी छन् । तिनको जीवनको सहारा बनिरहेकी छन् । उनले गरेको परिश्रम र मानवतावादी कर्मको जति प्रंशसा गरे पनि कमै हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?