न्याय क्षेत्रमा प्रवेश गरेपछि पछाडि फर्कनु परेन : प्रधानन्यायाधीश श्रेष्ठ

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आफू न्याय क्षेत्रमा प्रवेश गरेपछि कहिल्यै पछाडि फर्कनु नपरेको बताउनुभएको छ । सुदूरपश्चिमाञ्चल सरोकार मञ्चले आज उहाँलाई अभिनन्दन गर्ने क्रममा उहाँले भन्नुभयो, “न्यायापालिका प्रवेश गरेपछि पछाडि फर्केर हिँड्नु परेन । जहिले पनि म अग्रस्थानमा पुगिरहेको छु ।”

त्यसपछिका वृत्तिविकासमा आफू सधँै काममा अब्बल रहेका कारण नै होला सधँै अग्रस्थानमा पुगेको उहाँको भनाइ थियो । प्रधानन्यायाधीश श्रेष्ठले मञ्चको अभिनन्दनले आफूलाई गौरव महसुस भएको उल्लेख गर्दै भन्नुभयो, “यसले मलाई न्यायिक कार्यमा थप सक्रियता हुन र थप बल पुग्नेछ भन्ने लागेको छ ।”

सो अवसरमा उहाँले आफू डोटीमा जन्मिइ सुदूरपश्चिमबाट भारतको बाटो हुँदै काठमाडौँ आउनुपर्ने अवस्थामा दुःखसुख गरेर कठिनाइ र सङ्घर्षका साथ अध्ययन तथा वृत्तिविकासमा लागेको स्मरण गर्नुभयो । प्रधानन्यायाधीश श्रेष्ठले हाल आफ्नो कार्यक्षेत्रमा राम्रै गरेको छु भन्ने लागेको र सबैले पनि त्यही बुझेको महसुस गरेको भन्ने लागेको बताउनुभयो ।

“सुदूरपश्चिम भन्नासाथ असाध्यै माया लाग्छ । जन्मेको ठाउँ । नजिक रहने हाम्रो स्वभाव पनि हो”, उहाँले भन्नुभयो । मञ्चले सुदूरपश्चिम प्रदेशका लागि राम्रो काम गरिरहेको जनाउँदै उहाँले आगामी दिनमा पनि निरन्तरता पाओस् भन्ने कामना गर्दै आफूबाट हुनसक्ने सहयोग सधैँ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा मञ्चका अध्यक्ष बहादुरसिंह विष्टले संस्थाले गर्दै आएका कामका बारेमा जानकारी गराउँदै संस्थाका तर्फबाट प्रधानन्यायाधीश श्रेष्ठलाई अभिनन्दन गर्नुभएको थियो । यसैगरी मञ्चका संस्थापक संरक्षक एवं पूर्वप्रहरी महानिरीक्षक मोतीलाल बोहराले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । कार्यक्रममा मञ्चका सल्लाहकार, पदाधिकारी एवं सदस्य सहभागी हुनुहुन्थ्यो ।

सुदूरपश्चिम प्रदेशको डोटीको सिलगढीमा बुवा दिव्यनारायण श्रेष्ठ र आमा देवकुमारी श्रेष्ठको कोखबाट विसं २०१६ असोज २० गते जन्मिनुभएका विश्वम्भरप्रसाद श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ ।

विसं २०४१ मा सुदूरपश्चिमको क्षेत्रीय अदालतमा शाखा अधिकृतका रुपमा कार्य गर्नु भएका उहाँले २०४४ सालमा उपसचिव र २०४५ सालमा जिल्ला अदालत दार्चुलामा न्यायाधीशका रुपमा काम गर्नुभएको थियो । विसं २०४९ मा सर्वोच्च अदालतमा डेपुटी रजिष्ट्रार र झण्डै चारदशकसम्म न्याय सेवामा रहनुभएका उहाँ २०८० साल भदौ ५ गते प्रधानन्यायाधीश पदमा नियुक्त हुनुभएको हो ।
रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?