कृषि उद्योगका जोखिमहरू

स्वयम्भुनाथ कार्की
Read Time = 13 mins

सबै पेशामा अ-आफ्नो किसिमका जोखिम हुने गर्दछन् । अन्य सबै उद्योग वा पेशाका जोखिम क्षमता, कौशलता तथा व्यावसायिक चातुर्यले हल गर्न सकिन्छ । सम्पूर्णरूपले हल नभएमा पनि सहज वा अस्तित्व कायम राख्न सक्नेसम्मको हल पाईन्छ । तर कृषि उद्योगका कठिन समस्याका हलहरू प्रायःजसो सहजै हल गर्न नसकिने प्रकारका हुन्छन । भारतका विभिन्न प्रन्तमा छिटपुट तर निरन्तर सुन्न पाइने किसानको आत्महत्याका समाचार अनि नेपालकै पनि विदेशी मुलुकमा तल्लो स्तरको काम गर्न आफ्नो श्रीसम्पत्ति जाकटी राखेर जाने प्रवृत्ति यही कृषिका जोखिम हल गर्न नसकेर नै आउने गरेको हो । उसै पनि भने आफ्नो छापथलो तथा प्रियजन छोडेर को पो परदेशिन चाहन्छ र ? यदि आफ्नो छापथलो र आफन्तको साथ छोडेकै हो भने किन पो कठिन मिहिनेत गरेर पेट काटीकाटी पैसा नेपाल पठाउँछ र ?
अन्य उद्योगहरूको प्रमुख समस्यामध्ये एक प्रतिस्पर्धा र त्यसबाट श्रृजित बजारमा आफ्नो हिस्सा कम हुने वा आफू बजारबाट प्रतिस्थापन हुने खतरा हो । मिलेमतो प्रणाली जसलाई कार्टेलिङ भनिन्छ, यसै खतराबाट आपूmलाई सुरक्षित राख्ने अचुक हतियार हो । यो काम कानुनी रूपमा अवैध भए पनि विभिन्न रूपमा निर्वाध चलिरहन्छ । अझ भन्ने हो भने यसबाट हुने हानी सबैलाई हुँदैन, कसैलाई हानी भयो भने अर्काले लाभ प्राप्त गर्दछ । अर्को प्रमुख समस्या बन्द तथा हड्ताल हो ।

यो मानव निर्मित जोखिम हो, ज्यादातर नाफामा ज्यादा हिस्सा पाउनुपर्ने वा ज्यालामा बढोत्तरीको आकांक्षामा यस्ता बन्द वा हड्ताल हुने गर्दछन् । मोलमोलाईबाट, वार्ताबाट या सामुहिक सौदावाजीबाट यस्ता समस्या हल हुन्छन र हुने गरेका पनि छन । कृषिबाहेक अन्य उद्योग व्यवसायमा प्राकृतिक विनाशबाहेकका कुनै यस्ता समस्या हुँदैनन् जसको समाधान मान्छेको क्षमता, कौशलताले हल गर्न नसकोस् ।

नेपालमा विगतका केही दशकदेखि जग्गाको खण्डीकरण तीव्र भएको छ । जग्गाको खण्डीकरण कृषि उद्योगको निमित्त हानिकारक हुन्छ भन्ने जानकारी नभएको होइन । त्यसैले खण्डीकरण भएको भूमिलाई फेरि एकत्र गर्ने सरकारी प्रयत्न कृषि सहकारीको रूपमा सामुन्ने आएको छ । 

विकासको क्रममा कुनै एक वस्तु वा सेवाको रूप परिवर्तन भएर पुरानो रूपको विस्थापन हुने गर्दछ । यसले कुनै वस्तुको माग घट्न गएर त्यस्ता वस्तुको उत्पादकलाई समस्या पर्न सक्छ । तर, त्यसको स्थानमा अर्को वस्तु त्यसैको पनि रूप बदलिएको वस्तुको माग बढ्न जाने हुन्छ । यस्तो विकासकोक्रमलाई जोखिमको रूपमा भन्दा चुनौतीको रूपमा लिइनुपर्दछ । कृषि उद्यममा भने अन्य उद्योगका सबै समस्याका साथै अन्य विशिष्ट समस्या पनि हुने गर्दछन् । यस्ता समस्या मानवका कुनै क्षमता वा कौशलबाट सहजै हल हुन नसक्ने प्रकारका हुन्छन् । तेस्रो विश्वका ज्यादातर मुलुकहरूले अपनाएको अर्थव्यवस्थाले कृषि उद्योगका यस्ता समस्या हल गर्नुभन्दा पनि बरू अझ विकराल रूपले बढाउन सहयोग पुर्‍याएका छन् ।

यसको फलस्वरूप यस्ता मुलुकका कृषक (कृषि उद्यमी) कृषिबाट विस्थापित हुनेक्रम त बढेकै छ, अझ कहिलेकाँही त आत्महत्या जस्ता दुःखद् समाचार पनि सुन्नुपर्दछ । यस्ता मुलुकहरूमा कुनै विशेष कृषि उत्पादन आयात गर्नु परेन भने त्यसलाई ठूलो सफलता मानेर सत्ता सञ्चालकहरू आफैँले आफ्नो पिठ्यूमा धाप मार्ने गर्दछन । अर्थात् व्यावसायिक कृषिको नारामा मग्न हुँदै गर्दा उत्पादन भने निर्वाहमुखी पनि हुन छोड्न थाल्छन ।

यसको विपरीत केही मुलुकहरू चुपचाप आफ्नो बढी भएको कृषि उत्पाद यस्तै मुलुकहरूमा निर्यात गर्ने मुलुकहरूले तेस्रो विश्वको प्रगतिशील कृषि प्रणाली अपनाएका छैनन् । यस्ता कृषि उत्पादन निर्यातक मुलुकहरूले कृषि क्षेत्रमा अनावश्यक सरकारी हस्तक्षेप गर्दैनन् । जग्गालाई उत्पादनको साधन मानिन्छ । अनि जग्गाको खण्डीकरण भरसक हुन दिइँदैन । प्रगतिशील कृषि प्रणाली अपनाएका तेस्रो विश्वका मुलुकमा नेपाल पनि पर्दछ । नेपालमा विगतका केही दशकदेखि जग्गाको खण्डीकरण तीव्र भएको छ । जग्गाको खण्डीकरण कृषि उद्योगको निमित्त हानिकारक हुन्छ भन्ने जानकारी नभएको होइन ।

त्यसैले खण्डीकरण भएको भूमिलाई फेरि एकत्र गर्ने सरकारी प्रयत्न कृषि सहकारीको रूपमा सामुन्ने आएको छ । तर, प्रमुख समस्या भने जहाँको तहाँ छ, बाक्लो दाल खान बाबुआमाबाट अंश लिएर छुट्टिने मानसिकता र आफ्नो स्वतन्त्र अस्तित्व र आत्मनिर्णयको खोजीमा लागेको मानव मन सहमति त सहमति तर सहमति भने मेरै कुरामा हुनुपर्दछ भन्ने मान्यता राख्दछ । त्यसमाथि लगातार जस्तो समाचारमा आउने सहकारीहरूको असफलताले सामुहिक रूपमा नै टाट पल्टने खतरामा पर्ने खतरा हुन्छ ।

कृषि उद्योगको विशिष्ट प्रकृतिले अन्य व्यवसायमा भएको प्रमुख जोखिम प्रतिस्पर्धा कृषि उद्योगमा भने वरदान हो । एक्लैले कुनै विशिष्ट बाली लगाउँदा हुने हानी धेरैले लगाउदा सबैमा भाग लाग्छ र आफ्नो हिस्सामा कम पर्दछ । उत्पादन वृद्धिले बजार हिस्सा घटाउने नभई बरू नयाँ अवसर पैदा भएर माग बढने कृषि उत्पादहरूको सामन्य प्रवृति हुन्छ ।

कृषि उद्योगको सबैभन्दा ठूलो जोखिम कुनै पटक कुनै बाली राम्रो हुने र कुनै बाली पटक्कै नहुने हो । यस परिस्थितिको अग्रीम आकलन गर्न सकिदैन । यसको सबैभन्दा असरदार उपाय भनेको विविध बाली लगाउने नै हो । तर, सीमित क्षेत्रफलमा कृषिलाई सिमित गर्दा यो सम्भव हुँदैन । राज्य नियन्त्रित बाली योजना हो भने कुनै पटक कुनै बाली नराम्रो हुँदा त्यो लगाउने कृषक कंगालीको स्तरसम्म पुग्छ । अनि उसको सामुन्ने आत्महत्या मात्र विकल्प रहने दुःखद् परिस्थिति आउने सम्भावना प्रबल हुँदै जान्छ ।

कृषि उद्यम र उद्यमीको कान निमोठेर मुलुक उँभो लाग्दैन बरू त्यसको सम्मान गरेरमात्र उँभो लाग्छ । अन्य उद्योगहरूका जोखिमका बारेमा चासो राखेर हल गर्ने प्रयत्न गरिन्छ तर कृषि उद्योग अर्थात् खेतीपातीलाई भने उपेक्षा गरिने गरेको पाइन्छ । 

विकासे खेती प्रणालीको निमित्त भएका प्रयत्नहरूले कृषि उद्यमको ढाड भाच्ने काम त गरेकै छ अझ भूमिमा नचाहिँदो किसिमले हस्तक्षेप गरेर कृषि उद्यमलाई धुलै चटाउने काम पनि हुँदैछ । विकसित मुलुक अमेरिकाको गहुँ, अष्ट्रेलियाको मासु र दूध, न्यूजिल्याण्डको धुलो दूध आदिको बजार कायम राख्न त यो सबै प्रयत्न भएको छैन भन्ने संशयले विस्तारै बल पाउ“दैछ । नत्र भने मुलुकको सानो क्षेत्रफलमा सबैको हिस्सा चाहिन्छ भन्नेहरू सोचको संवाहक बुद्धिजीवीहरू किन विश्व नागरिक भएका कारणले विश्वका सम्पूर्ण विश्वका प्रकृतिक सम्पदाहरूको समान वितरण हुनुपर्दछ भन्ने आवाज किन उठाउँदैनन् ?

कुनै मुलुकको सरकारले कसैलाई आफ्नो नागरिक स्वीकार नगर्ला, उसको त्यो निणर्य अवैधानिक होला । तर, विश्वमा रहेका सबै निर्विवाद रूपले विश्व नागरिक हुन् । आदिवाशी जनजातिको कुरा उठान गर्ने अन्तर्राष्ट्रिय श्रम संगठन विश्वका सबै मानव पृथ्वीका आदिवाशी जनजाति हुन् भन्न किन चुकेको छ ? कृषि उद्यम सबैभन्दा जोखिमपूर्ण, आदिम, महत्वपूर्ण अनि भविष्यमा पनि अति आवश्यक उद्यम हो । कालान्तरमा यस उद्योगलाई मनपरी गर्नेहरू निन्दित हुनेछन् । विश्वमा प्रचलित सबै धर्ममा कृषि उद्यमी वा किसानलाई सम्मान गर्नुपर्ने कुरा छ । जब भारत कठिनाइमा परेको थियो जवाहरलाल नेहरूले नारा दिए जय जवान जय किसान ।

कृषि उद्यम र उद्यमीको कान निमोठेर मुलुक उँभो लाग्दैन बरू त्यसको सम्मान गरेरमात्र उँभो लाग्छ । अन्य उद्योगहरूका जोखिमका बारेमा चासो राखेर हल गर्ने प्रयत्न गरिन्छ । तर, कृषि उद्योग अर्थात् खेतीपातीलाई भने उपेक्षा गरिने गरेको पाइन्छ । कृषिको निमित्त भनेर छुट्याइएको भनेको रकमको उपयोग कसरी भएको छ भन्ने बारेमा खासै चासो लिइएको पाइन्न । त्यसैले यस्ता सरकारी लगानी, वित्तीय संस्थाहरूका कर्जाहरू वास्तविक कृषि उद्योगका उद्यमीहरूलाई थप जोखिमको रूपमा देखापरेका छन् ।

उदाहरणको निमित्त सरकारी बजेट, सहुलियत व्याजदरका कृषि ऋणहरूका कारणले कृषि फर्म बढेका छन् । यस्ता उद्योगहरू बढ्नु सामन्यतया सकारात्मक कुरा हो । तर कृषिको किताबी ज्ञान, कृषिमा अनुभव शून्य विगत अनि गैरकृषि क्षेत्रमा गरिएको कामको अनुभव लिएर यस्ता फर्महरू खुल्ने गरेका छन् । यस्ता उद्यम वास्तविक कृषि उद्योगको निमित्त धेरै तरिकाले हानिकारक हुन्छन् । कृषिलाई लगानी मात्र गरेर नाफा दिने उद्योगको रूपमा बुझेका यस्ता उद्योगीहरू अपवादमा मात्र सफल हुन्छन् ।

यसरी कृषि उद्योगहरू असफल हुँदा त्यो देखेर कृषि उद्यम गर्न चाहाने हतोत्साहित हुने गर्दछन् । ठूलो लगानीको निमित्त ऋण लिएका अनुभवहीन कृषि उद्यमीहरू अन्य स-साना कृषि उद्यमीहरूको उत्पादनले आफ्नो बजार गुमेको नतिजामा पुग्छन । अनि त्यस्ता साना उत्पादकको उत्पादन रोक्न प्रयत्न गर्ने गर्दछन् । यसले कैयौं साना उत्पादकहरूले उनीहरूको अनुभवहीन, कौशलहीनताको सजाय भोग्नुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?