विपन्न परिवारका २२ विद्यार्थीलाई प्राविधिक शिक्षा पढाउँदै गाउँपालिका

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 10 mins

बागलुङ । काठेखोला गाउँपालिका–४ का अनिल विश्वकर्मा सानैदेखि होटल व्यवस्थापन पढ्न रुचाउनुहुन्थ्यो । गत चैतमा एसईई दिनु भएका अनुललाई रिजल्ट आएपछि बजार झरेर होटल व्यवस्थापननै पढ्ने मनाशय बनाउनु भएको थियो । तर घरको आर्थिक अवस्था निकै कमजोर भएको हुँदा कक्षा १० भन्दामाथिको शिक्षा पढाउने परिवारको क्षमता थिएन । मन पढ्ने चाहना भए पनि अनिलले आर्थिक अवस्था कमजोर हुँदा विद्यालय छोड्ने स्थिती थियो । तर एसईईको रिजल्ट आएपछि काठेखोला गाउँपालिकाले एउटा विज्ञापन सार्वजनिक ग¥यो । जसले अनिलको ‘होलट म्यानेजमेन्ट’ पढ्ने चहना पूरा गरि दियो ।

काठेखोला गाउँपालिकाले गरिब तथा विपन्न परिवारका विद्यार्थीलाई लक्षित गरि प्राविधिक शिक्षा पढाउने सम्बन्धि सूचना गरेपछि अनिलले पनि आवेदन दिनुभयो । आवदेन दिएपछि धौलागिरी प्राविधि शिक्षालय मुस्ताङले प्रवेश परीक्षा लियो । प्रवेश परीक्षामा अनिलाको नाम पनि निस्कियो । गरिबीका कारण आर्थिक अभावले विदेश पलायन हुने सोच बनाउनु भएक अनिल अहिले तीन वर्षे होटल व्यवस्थापन पढ्नका लागि धौलागिरी प्राविधि शिक्षालय मुस्ताङमा जानु भएको छ । गाउँपालकाले अनिल जस्ता २२ जना प्राविधिक शिक्षा लिन चाहने विद्यार्थीलाई निःशुल्क पढाउन थालेको छ ।

गाउँपालिकाले शनिबार प्रवेश परीक्षामा विद्यार्थीहरुलाई मुस्ताङको लेते स्थित धौलागिरी प्रविधिक शिक्षालयमा पठाएको छ । गाउँपालिकाका अध्यक्ष राजु थापालेनै विद्यार्थीलाई लिएर लेते जानु भएको हो । कक्षा १० सम्म निकै मुस्किलका साथ पढेको सुनाउँदै अनिलले अब प्राविधिक शिक्षा अध्ययनपछि व्यवसायिक बन्ने बताउनुहुन्छ । अहिलेसम्म आर्थिक आभवका कारण धेरै चाहना र रहर मरेको दुखेसो पोख्दै गाउँपालिकाले आफू जस्ता विपन्न परिकारका लागि काम गरेको उहाँको भनाइ छ ।

“गाउँपालिकाले मलाई निःशुल्क पढाउने निर्णय नगरेको भए मैले १० भन्दामाथि पढ्न पाउने रैनछु, म होटल तीन वर्षे ‘डिप्लोमा इन होटल म्यानेजमेन्ट’ विषय पढ्ने भएको छु, यो पढ्नका लागि मेरो सबै सम्पत्ति बेचेर पनि पुग्ने थिएन, गाउँपालिले हामीमाथि यति ठूलो गुन लगायो” विश्वकर्माले भन्नुभयो – “अब कसरी, कापी कलम जुटाउने, ड्रेस सिलाउने होला भन्ने पिर हट्यो, अब राम्रोसँग पढेर सकेपछि गाउँमै आएर व्यवसायिक बन्ने रहर छ ।”

कक्षा १० पास गरेर यतिकै घरमा बस्दै आउनु भएकी काठेखोला गाउँपालिका – ४ की अस्मिता परिवारले अब बाली विज्ञान पढ्नु हुने भएको छ । आर्थिक अभावका कारण प्राविधिक शिक्षा पढ्न नसक्नु भएकी परियार पनि प्रवेश परीक्षामा पास भएर अहिले बाली विज्ञान पढ्न लेते जानु भएको छ । घरमा कमाएर पढ्नका लागि सहयोग गर्ने कोही नहुँदा आफू यतिकै बसको र गाउँपालिकाले निःशुल्क पढाउने सूचान थाहा पाएपछि फारम भरेको उहाँ बताउनुहुन्छ । परियारले १८ महिने बाली विज्ञान पढ्नुहुने भएको छ ।

परियारले भन्नुभयो – “कृषि प्रधान देशमा उत्पादन थोरै हुन्छ, हाम्रो परिवारमा पनि बारी धेरै हुने तर उत्पादन थोरै हुने गथ्र्यो, त्यसले वर्षभरी खान पनि पुग्दैनथ्यो, यो समस्याले गर्दा मलाई पहिले देखिनै कृषि पढेर धेरै उत्पादन गर्नु पर्छ भन्ने लाग्थ्यो तर, आर्थिक संकटका कारण पढ्न पाइँदैन कि भन्ने लागेको थियो, गाउँपालिकाले पढाउने भयो, निकै खुसी लागेको छ, अब बढेर मैले गाउँमै उत्पादन गरेर आत्मनिर्भर बन्ने चाहाना छ ।”

काठेखोला गाउँपालिका–८ लेखानीका दिल बहादुर दर्जीले गाउँपालिकाले आफ्नो छोरालाई निःशुल्क पढाई दिने भएपछि खुसी हुनु भएको छ । दिनभरी काम गरेर विहान बेलुकाको छाक टार्न गाह्रो हुने गरेको भन्दै छोराले राम्रोसँग पढ्यो भने परिवारको आर्थिक अवस्था सुधार हुने विश्वास व्यक्त गर्नुभयो । कक्षा १० सम्म ऋण धन गरेर कापि, कलम र ड्रेसको जोहो गरि दिएको भन्दै अब सबै व्यवस्था गाउँपालिकाले गरि दिने दर्जी बताउनुहुन्छ ।

“छोराले पहिलेदेखिनै होटल लाइन वाला पढाई गर्छु बाउ भन्थ्यो, १० क्लिाससम्म गाउँमै जसोतसो पढ्यो, त्यसपछि कहाँ पढाउने होला भन्ने चिन्ता लागेको थियो, बागलुङमा त्यो पढाइ हुने रैनछ, यहाँ पढाई हुने भए त गाउँबाट आँटो पिठो बोकेर ल्याएर खान्थ्यो पढ्थ्यो, पोखरा काठमाडौँ पठाउने मेरो क्षमता थिएन,” दर्जीले भन्नुभयो – “गाउँपालिको सूचना निकालेर फारम भरेको थियो, पास भएछ, अहिले गाउँपालिकाले पुरै फ्रिमा पढाउने भयो, मेरो कमाई केही छैन, गाउँमा सानो घर र थोरै जग्गा छ, त्यसका काम गरेर वर्ष दिनलाई पनि खान पुग्दैन, छोरोले पढेर राम्रो मान्छे हुने भयो, पछि कमाउला राम्रो होला, राम्रो अवस्था भन्दा गतिलो होला भन्ने लगेको छ ।

कोठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले गरीबीका कारण धेरै बालबालिका उच्च शिक्षा पढ्नबाट वञ्चित हुँदै गएको भन्दै उनीहरुलाई व्यवसायिक र जीवन उपयोगी शिक्षा दिए दक्ष बनाउन गाउँपालिकाले निःशुल्क प्रविधिक शिक्षा पढाउन थालेको बताउनुभयो । गाउँकार्यपालिकाको बैठकले निर्णय गरेर प्रत्येक वडाका विपन्न परिवारका बालबालिकालाई खाना, बस्न लाग्नेदेखि सबै खर्च पालिकाले व्यहोर्ने अध्यक्ष थापाले बताउनुभयो ।

अध्यक्ष थापा भन्नुहुन्छ – “अब गाउँमा दक्ष जनशक्ति उत्पादन गरि गाउँमै रोजगार सिर्जना गर्नु पर्छ, सोही अनुसार यस वर्षदेखि हामीहरुले केही विद्यार्थीलाई प्राविधिक शिक्षा दिन थालेका छौँ, उहाँहरुले शिक्षा हाँसिल गरि सकेपछि पक्कै पनि व्यवसायिक बन्नुहुने छ भन्ने हिमीले विश्वास गरेका छौँ, प्राविधि शिक्षा लिन चाहने विद्यार्थीहरुका लागि सूचना जारी गरेका थियौँ, सोही अनुसार २५ जनाको आवेदन परेको थियो, तीन जना अनुउपस्थित भए, २२ जना आउनु भएको थियो, गाउँपालिकाले २० जनाको लागि मात्रै भने पनि पछि हामीले २२ जनानै पढाउने निर्णय ग¥यौँ ।”

गाउँपालिकाले यस वर्ष प्राविधिक शिक्षा पढ्ने विद्यार्थीका लागि २० लाख रुपैयाँ विनियोजन गरेको अध्यक्ष थापाको भनाइ छ । वार्षिक एक जना विद्यार्थीको करिब ७५ हजार बढी खर्च आउने उहाँको भनाई छ । यस वर्ष १० जनाले तीन वर्षे र चार जनाले १८ महिने होटल व्यवस्थापन, चार जनाले १८ महिने होटल व्यवस्थापन, दुई जनाले कुलिन आर्ट, चार जनाले बाली विज्ञान र दुई जनाले पशु विज्ञान पढ्ने भएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?