गिरीबन्धु टी स्टेट र नेपाल ट्रष्टको जग्गा अनियमितता प्रकरणको छानबिन गर्न सांसदको माग

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौँ । सांसदहरुले गिरीबन्धु टी स्टेट र नेपाल ट्रष्टका नाममा रहेको गोकर्ण फरेस्ट रिसोर्टको जग्गा प्रकरणमा अनियमितता भएको चर्चा सञ्चारमाध्यम लगायतमा आइरहेकाले यसको छानबिन गर्न माग गनुृभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद राजेन्द्रकुमार केसीले गिरीबन्धु टी स्टेटमा हदबन्दी छल्ने गरी कानुन बनाएर भ्रष्टाचार गरिएको दाबी गर्नुभयो । नेपाल ट्रष्टका नाममा रहेको गोकर्ण फरेस्ट रिसोर्टको जग्गा कौडीको भाउमा नेपाल सरकारले यति होल्डिङसलाई भाडामा दिएकाले छानबिनको माग गर्नुभएको हो ।

सांसद रामहरि खतिवडाले पनि गिरीबन्धु टी स्टेटका विषयमा निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गर्नुभयो । भ्रष्टाचारका काण्डमा छानबिन भइरहेका बेला यी घटनामा तत्काल छानबिन गरी दोषी पत्ता लगाउन उहाँले माग गर्नुभएको हो । सांसद महेश बस्नेतले इलाम र झापामा रहेका चिया बगान निजीकरणका नाममा भ्रष्टाचार भएको भन्दै छानबिन गरिनुपर्ने बताउनुभयो ।

सांसद भानुभक्त जोशीले शून्य समयका विषय सरकारले सम्बोधन नगरेको बताउनुहुँदै संसद्मा उठेका विषयमा गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । सांसद मङ्गलप्रसाद थारुले सरकारी निकायमा बेरुजु बढ्दै गएकाले यसको नियन्त्रण गरी भ्रष्टाचार रोक्न माग गर्नुभयो । सांसद योगेशकुमार भट्टराईले पहाडी जिल्लामा जग्गाको वर्गीकरण अव्यावहारिक भएकाले सच्याउन माग गर्नुभयो । ताप्लेजुङ जिल्लामा कर कार्यालय नभएकाले कर तिर्न पनि समस्या रहेको उल्लेख गर्नुहुँदै उहाँले कर कार्यालय जिल्लामै खोल्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद रघुजी पन्तले चुच्चे नक्साका विषयमा सरकारले अहिलेसम्म के के गरेको छ, त्यसको जानकारी संसद्मा गराउन माग गर्नुभयो । सांसद रञ्जुकुमारी झाले २०७८ साल असारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सप्तरीमा शिलान्यास गरेको रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान र अस्पताल अलपत्र रहेकाले छिटो निर्माणको वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

सांसद रमा कोइराला पौडेलले केही वर्षदेखि भक्तपुरका विभिन्न स्थानमा स्मार्ट सिटीका नाममा जग्गा रोक्का राखी स्थानीयलाई दुःख दिने काम भएकाले स्मार्ट सिटी नबनाउने भए जग्गा फुकुवा गर्नुपर्नेमा जोड दिनुभयो । सांसद रामनाथ अधिकारीले दैनिक उपभोग्य वस्तुको मूल्य कति भएपछि सरकारले नियन्त्रण गर्ने हो रु भनी प्रश्न गर्नुभयो ।

सांसद रुक्मिनी रानाले धुलिखेल–खावा सडक लामो समयदेखि अलपत्र बनेकाले छिटो काम गराउन सरकारसँग माग गर्नुभयो । सांसद रेखा यादवले नागरिकताविहीनको समस्या छिटो समाधान हुनुपर्नेमा जोड दिनुभयो ।

सांसद लक्ष्मी तिवारीले माइतीघर मण्डलामा विभिन्न माग राखी अनशनमा बसेकाको समस्या सरकारले किन समाधान गर्दैन भनी प्रश्न गर्नुभयो । सांसद लेखनाथ दाहालले कात्तिकसम्म ठेक्का गरिसक्ने चालु आर्थिक वर्षको बजेटको प्रतिबद्धता कार्यान्वयनमा लैजान माग गर्नुभयो ।

सांसद भगवती चौधरी सांसद बलमकुमारी मगर, रणेन्द्र बराइलीले, रामकुमार राई, महेशकुमार वर्तौला, रोशन कार्की, रुपा विश्वकर्मा, प्रसाद साँवा लिम्बू, लालवीर चौधरीलगायतले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?