दरबाङमा अस्पताल उद्घाटन : पश्चिम म्याग्दीवासी हर्षित

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 4 mins

दरबाङ (म्याग्दी) । पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र एवम् मालिका गाउँपालिकाको मुकाम दरबाङ बजारमा सोमबार दरबाङ आधारभूत अस्पतालको उद्घाटन गरिएको छ ।

गण्डकी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री नरदेवी पुनले पाँच शैया क्षमताको उक्त आधारभूत अस्पतालको उद्घाटन गर्दै अस्पतालको क्षमता विकासका साथै विशेषज्ञ चिकित्सक सहितको सेवा आवश्यक रहेको बताउनुभयो ।

पश्चिम म्याग्दीको पायक पर्ने ठाउँमा संचालन गरिएको यो अस्पताल यस क्षेत्रका जनताका लागि भरपर्दो र सुविधायुक्त बनाउन स्थानीय सरकार र प्रदेश सरकारले पहल गर्नुपर्ने उहाँको भनाइ थियो ।
मालिका गाउँपालिकाले दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई पाँच श्यया क्षमताको आधारभूत अस्पतालमा स्तरोन्नति गरेपछि आज उद्घाटन गरिएको हो ।

आधारभूत अस्पताल सञ्चालन गर्न निक साइमन इन्टिच्युटले एक जना चिकित्सक, एक जना रेडियोग्राफर र एक जना स्टाफ नर्सको जनशक्ति सहयोग गरेको छ । एक जना चिकित्सकको दरबन्दी रहेको अस्पतालमा छात्रवृत्तिमा अध्ययन गरेका थप एक जना चिकित्सक आउने मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले जानकारी दिनुभयो ।

आधारभूत अस्पतालका लागि गाउँपालिकाले थप २४ लाख बजेट विनियोजन गरेको अध्यक्ष गर्बुजाले बताउनुभयो । हाल प्रयोगशाला, एक्स–रे, अल्ट्रासाउन्ड, मुटुको इसिजी, पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने स्क्रिनिङ, हातखुट्टा भाँचिएको प्लास्टर सेवा दिइरहेको केन्द्रले आफ्नै औषधि पसल सञ्चालन गरेको छ ।

भवन बनाइएकाले शव परीक्षणको काम पनि दरबाङमै गर्ने तयारी भएको छ । अहिले शव परीक्षण गर्न बेनी ल्याउनुपर्ने समस्या छ ।
मालिका, धवलागिरि र मङ्गला गाउँपालिकाका बासिन्दाले सेवा लिने यो अस्पतालमा एक सय एमए क्षमताको सादा एक्स–रे मेसिन पनि केही दिन अघि मात्र संचालनमा आएको छ । केन्द्रका निमित्त प्रमुख यमन नेपालीले बिग्रिएको एक्स–रे मेसिन मर्मत गरेर गत बुधबारदेखि सेवा सञ्चालन गरिएको जानकारी दिनुभयो ।

“आर्थिक स्रोतको अभावका कारण एक्स–रे मेसिन सञ्चालन हुन सकेको थिएन”, उहाँले भन्नुभयो “धेरै प्रयास गरेर बायोमेडिकल इञ्जिनियर बोलाएर मेसिन मर्मत गरी एक वर्षपछि गत बुधबारदेखि उक्त मेसिन संचालनमा आएको हो ।”
पुरानो एक्स–रे मेसिनको तयारी भइरहेको समयमा गत पुस महिनामा अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लबले केन्द्रलाई पाँच सय एमए क्षमताको एक्स–रे मेसिन उपलब्ध गराएको थियो । केन्द्रमा जडान भएको विद्युत्को क्षमता कम भएकाले नयाँ एक्स–रे मेसिन सञ्चालन हुन सकेको छैन ।

नयाँ एक्स–रे मेसिन सञ्चालन गर्न धेरै समय लाग्ने भएपछि पुरानैलाई मर्मत गरेर सेवा सञ्चालन गरेको नेपालीले बताउनु भयो । सो क्षेत्रका बासिन्दालाई एक्स–रे सेवाका लागि सदरमुकाम बेनी पुग्नुपर्ने समस्या हटेको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीलाई एक्स–रेको रिपोर्टका आधारमा बिरामीको समस्या पहिचान गर्न सहज भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?