लगातार चौथो जितसँगै नेपाल सेमिफाइनलमा

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपालले आइसिसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा लगातार चौथो जित हात पार्दै सेमिफाइनलमा स्थान बनाएको छ । प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा नेपालले कतारलाई नौ विकेटले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । लगातार चौथो जितसँगै नेपालले समूह ‘ए’ बाट एक खेलअगावै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।

मलेसियाको बांगीमा सोमबार भएको खेलमा नेपालले कतारलाई नौ विकेटले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । प्रतियोगितामा नेपालको यो लगातार चौथो जित हो । यसअघि नेपालले घरेलु टोली मलेसियालाई पाँच रन, बहराइनलाई १० विकेट र भुटानलाई तीन विकेटले पराजित गरेकोे थियो ।

समूह ‘ए’ बाट नेपालले एक खेलअगावै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो । जितका लागि ७५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले १० दशमलब तीन ओभरमा एक विकेट गुमाउँदै पूरा ग¥यो । नेपालको जितमा काजल श्रेष्ठले सर्वाधिक ३२ रनको योगदान दिनुभयो । उहाँले २८ बलमा चार चौकासहित ३२ रन जोड्नुभएको हो । त्यस्तै, इन्दु बर्मा १२ बलमा ३ चौकासहित २० रनमा अविजित रहनुभयो । सीता रानामगर २३ बलमा १७ रनमा अविजित रहनुभयो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ७४ रनको योगफल बनाएको थियो । कतारकी साची धडवालले ४४ बलमा एक चौकासहित सर्वाधिक २१ रनको योगदान दिनुभयो । त्यस्तै, एलिना खानले १५, एञ्जिली मारेले अविजित १४ तथा कप्तान आयशाले १० रन बनाउनुभयो ।

नेपालका लागि इन्दु बर्माले तीन विकेट लिनुभयो भने पूजा महतो र कविता जोशीले समान एक विकेट लिनुभयो । नेपालले समूह चरणको अन्तिम खेल बुधबार युएईसँग खेल्नेछ ।

समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा मलेसियालाई पाँच रन, बहराइनलाई १० विकेट र भुटानलाई तीन विकेटले हराएको थियो । नेपालले अन्तिम खेल बुधबार युएईसँग खेल्नेछ ।

युएईसँगको खेलले समूह विजेता र उपविजेता निर्धारण हुने देखिन्छ । नेपाल चार खेलमा आठ अंकका साथ शीर्ष स्थानमा छ । युएई तीन खेलमा ६ अंकका साथ दोस्रो स्थानमा छ । समूह ‘बी’ मा हङकङ तीन खेलमा ६ अंकका साथ शीर्षस्थानमा छ । थाइल्याण्ड दुई खेलमा चार अंकका साथ दोस्रो स्थानमा छ । कुवेत दुई खेलमा दुई अंकका साथ तेस्रो, चीन तीन र म्यानमार दुई खेलमा जितविहीन छन् ।

समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेतासँग सेमिफाइनलमा खेल्नेछ । समूह ‘ए’ को उपविजेताले समूह ‘बी’ को विजेतासँग सेमिफाइनल खेल्नेछ । फाइनल पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल महिला टी-२० विश्वकप छनोट खेल्न पाउनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?