भारतसँग नेपालको सम्मानजनक खेल प्रदर्शन

समूह ‘ए’ बाट भारत-पाकिस्तान ‘सुपर फोर’ मा, बाहिरियो नेपाल

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । विश्व क्रिकेटको शक्ति भारतसँग एसिया कपको आफ्नो अन्तिम खेलमा नेपालले सम्मानजनक प्रदर्शन गरेको छ । पहिलोपल्ट भारतको सिनियर टोलीसँग खेलेको नेपालले २३० रनको सम्मानजनक योगफल बनाएको थियो ।

वर्षाका कारण खेल केही समय रोकिएपछि निर्धारित ५० ओभरको खेललाई छोटयाएर २३ ओभरमा झारिएको छ । त्योसँगै भारतले १४५ रनको नयाँ लक्ष्य पाएको थियो । जुन भारतले बिना विकेटको क्षतिमा पूरा गर्यो ।

जितसँगै भारत सुपर फोरमा पुग्दा नेपाल भने प्रतियोगिताबाट बाहिरिएको छ । भारतका लागि सुभमन गिल ६७ तथा कप्तान रोहित शर्माले ७४ रनको पारी खेल्नुभयो । रोहितले ५९ बलमा ६ चौका र ५ छक्का प्रहार गर्नुभयो । यस्तै सुभमन गिले ६२ बलमा ९ चौका र एक छक्का प्रहार गर्नुभयो ।

त्यसअघि टस हारेर पहिले व्याटिङ गरेको नेपालले नेपालले ४८ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै २ सय ३० रनको योगफल बनाएको थियो । नेपालका लागि आसिफ शेखले ५८ रन जोड्नुभयो । उहाँले ९७ बलमा ८ चौका प्रहार गर्नुभएको थियो । उहाँ एसिया कपमा तथा भारत विरूद्धको खेलमा अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडीसमेत बन्नुभयो ।

यस्तै अर्का ओपनर कुशल भुर्तेलले २५ बलमा ३ चौका र २ छक्कासहित ३८ रनको आक्रामक इनिङ खेल्नुभयो । नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ९.५ ओभरमा ६५ रनको सुरुवाती साझेदारी दिलाउनुभएको थियो ।

भारतका तीव्र गतिका बलर शार्दुल ठाकुरको बलमा कुशल एज लाग्दै आउट भएपछि नेपालको मध्यक्रम जम्न सकेन । तल्लोक्रममा अलराउण्डर सोमपाल कामीले ५६ बलमा १ चौका र २ छक्कासहित ४८ रनको महत्वपूर्ण पारी खेल्नुभएपछि नेपालले उक्त स्कोर बनाएको हो ।

त्यसबाहेक दीपेन्द्रसिंह ऐरीले २९ र गुल्सन झाले २३ रन बनाउनुभयो । अन्तर्राष्ट्रिय क्रिकेट खेलको २७ वर्षपछि पहिलो पटक भारतसँग पहिलोपल्ट खेलेको हो । गुल्सनले ३५ बलमा ३ चौका प्रहार गर्नुभयो ।

कप्तान रोहित पौडेल भारतका रवीन्द्र जडेजाको बलमा पाँच रनमा आउट हुनुभयो । कुशल मल्ल चौथो विकेटको रूपमा दुई रनमै आउट हुनुभयो । भीम सार्की पनि सात रनमा भारतका जडेजाको बलमा १६ ओभरमा बोल्ड हुन पुग्नुभएपछि नेपाली पारी धरमराएको थियो ।

सातौँ विकेटका रूपमा नेपालले दीपेन्द्र सिंह ऐरीलाई गुमायो । उहाँ खेलको ४१ दशमलव एक ओभरमा २९ रन जोड्दै आउट हुनुभएको थियो । उहाँले २५ बलमा तीन चौकाको मद्दतमा उक्त स्कोर बनाउँनुभएको हो ।

त्यसैगरी खेलको ४७ दशमलव चार ओरभमा नवौँ विकेटको रूपमा सन्दीप लामिछाने आउट हुनुभयो । उहाँले १७ बल खेल्दै नौ रन बनाए । त्यस्तै अन्तिम विकेटका रुपमा ललित राजवंशी शून्य रनमा आउट हुनुभयो । करण केसी दुई रनमा अविजित रहनुभएको थियो ।

बलिङतर्फ भारतका रवीन्द्र जडेजा र मोहमद सिराजले समान तीन/तीन विकेट लिनुभयो भने मोहम्मद शामी, हार्दिक पाण्डे र शार्दुल ठाकुरले समान एक/ एक विकेट हात पार्नुभयो ।

एसिया कप क्रिकेटअन्तर्गत समूह ‘ए’ बाट भारत र पाकिस्तानले सुपर फोरुमा स्थान बनाएका छन् । सोमबार राति नेपाललाई १० विकेटले पराजित गरेसँगै भारत सुपर फोरमा पुगेको हो । नेपाल भने प्रतियोगिताबाट बाहिरिएको छ ।

पाकिस्तान यसअघ नै सुपर फोरमा पुगिसकेको छ । पाकिस्तान तीन अंकका साथ सुपर फोरमा पुगेको हो ।

पाकिस्तानले पहिलो खेलमा नेपाललाई भारी अन्तरले पराजित गरेको थियो । दोस्रो खेलमा वर्षा बाधक बनेपछि भारतसँग अंक बाँड्न बाध्य भएको थियो । समूह ‘ए’ मा भारत, पाकिस्तान र नेपाल थिए ।

समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?