चुच्चे नक्शा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनु नेपालको कर्तव्य हो : अध्यक्ष नेपाल

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालले जारी गरेको चुच्चे नक्शाका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनु सरकारको कर्तव्य भएको बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै अध्यक्ष नेपालले संसदबाट पारित भएको लिपुलेक, लिम्पियाधुरा, कालापानी समेटिएको नेपालको नक्शा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनुपर्ने कर्तव्य भएको बताउनुभएको हो ।

उहाँले अन्तर्राष्ट्रिय समुदायलाई नेपालको नक्शाका बारेमा जानकारी गराउनु दायित्व पनि भएको उल्लेख गर्दै त्यसो गरे, नगरेको सम्बन्धमा सरकारलाई प्रश्न समेत गर्नुभयो । उहाँले यदी अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराइएको भए कुन रुपमा, कसरी गराइएको हो तत्कालिन परराष्ट्रमन्त्रीले स्पष्ट पार्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘जानकारी गराइसकेको भइसकेपछि एक्लाएक्लै अनौपचारिक रुपमा गरिएको हो कि नेपाल सरकारको तर्फबाट आधिकारिक रुपमा पूर्व परराष्ट्रमन्त्रीजीले जानकारी गराउनुभएको हो । यदी गराउनुभएको हो भने परराष्ट्र मन्त्रालयबाट कसै न कसैको उपस्थिति भएको हुनुपर्दछ । यदि परराष्ट्र मन्त्रालयमा कुनै कर्मचारीको उपस्थिति थियो भने, कुनै अधिकारीको उपस्थिति थियो भने त्यसको रेकर्ड राख्नेगरेको चलन छ कि छैन ? के के कुराहरु भयो भन्ने राख्ने गरिन्छ कि गरिदैनँ ? त्यो पनि एउटा जिज्ञासा छ । हाम्रो सिस्टमले कत्तिको काम गरिरहेको छ ? आधिकारिक रुपमा सबै सूचनाहरु, तथ्य, तथ्यांकहरु रहने गरीएको छ कि छैन ? छ भने त्यसको बारेमा पनि जानकारी होस् । मौखिक रुपमा उहाँले जानकारी गराएको हो कि होइन भन्ने वर्तमान परराष्ट्रमन्त्रीजीले सोध्नुभएको भए राम्रो हुन्थ्यो । त्यो बेलामा लिखित रुपमा चिठी पठाउने काम भयो, भएन ? अरु सबै राजदूतसँग भएको हो कि एउटा देशको राजदुतसँग मात्रै भेटघाट, कुराकानी भएको हो ? संसदबाट हाम्रो नक्सा पारित भइसकेपछि स्वभाविक रुपमा सिंगो अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनुपर्ने नेपाल सरकारको कर्तव्य हुन्थ्यो । दायित्व हुन्थ्यो । त्यस अनुसार सबैलाई गराइयो गराइएन ? त्यो गराइयो भने मौखिक मात्रै गराइयो कि ? लिखित रुपमा प्रश्तुत गर्ने काम भयो, भएन ? पछि लेखेर पठाउने काम हुनसक्यो सकेन । के भएको हो पहिले तथ्य कुरा थाहा पाउनुप¥यो । यस्ता कमजोरी भएका हुन् भने आउने दिनमा त्यस्ता कमजोरीहरु नदोहोरिउन भन्ने कुरामा विशेष ढंगले ध्यान आर्कषित हुनुपर्छ भन्ने लाग्दछ । यसलाई आयो, गयो भनेर छोड्ने काम नगरियोस् । कहाँबाट कमी, कमजोरी हुन गए ति कमी, कमजोरीहरुलाई राम्ररी खोजीनीति गरेर अहिलेलाई पुर्ताल गर्ने, पछिको निम्ति नदोहोरिने दुई वटै कुरा गर्नुपर्ने आवश्यकता छ ।’

उहाँले परराष्ट्र सम्बन्धको सन्दर्भमा सरकारले आवश्यक ध्यान पु-याउन नसकेको बताउनु भयो । अध्यक्ष नेपाललले परराष्ट्र सम्बन्धमा देखिएका कमी, कमजोरीहरुको समिक्षा गर्दै आगामी दिनमा दोहोरिन दिनु नहुने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?