मानव शरीर सञ्चालनार्थ शक्तिको आवश्यकता पर्ने गर्दछ । उक्त ऊर्जा आहारबाट प्राप्त हुन्छ । प्राप्त आहारलाई पनि पाचनयोग्य बनाउन दाँतको विशेष भूमिका हुन्छ । भोज्य वस्तुलाई पाच्यबनाई ऊर्जाको परिपूर्तिका निम्ति दाँतको विशेष भूमिका रहन्छ । यद्यपि सौन्दर्यका दृष्टिले पनि दाँतलाई विशेष रूपमा लिइन्छ । मूलतः पाचन प्रक्रियालाई सहज तुल्याउने कार्यमा नै दाँतको विशेष भूमिका रहने गर्दछ । मानव विशेषका प्राकृतिक दाँत सर्वप्रथम कसरी पलाएका छन् भन्ने कुराले पनि व्यक्ति र परिवारमा शुभाशुभ फल प्राप्त हुन्छ भन्ने मान्यताका आधारमा पौरस्त्य शास्त्रमा फल वर्णन गरिएको छ । सर्वप्रथम दाँत आउने प्राकृतिक र अप्राकृतिक समयका बारेमा विचार गरिएको छ । अप्राकृतिक समयमा दाँत आए अशुभ रहन्छ ।
यसैले अशुभ फलबाट निवृत्तिका निम्ति शान्ति गर्ने उपाय पनि शास्त्रमा उल्लेख पाइन्छ ।बालकको जन्मभएपछि निश्चित समयमा दाँत आउनु सामान्य प्रकृतिक प्रक्रिया हो । कतिपय अवस्थामा यस्तो नहुन पनि सक्छ । कतिमहिनामा दाँत आयो भने के फल मिल्छ भन्ने विषयमा पौरस्त्य धर्मशास्त्र एवं ज्योतिषमा विशद् विवेचना गरिएको छ । समयमा आएका दाँतको कुनै शान्ति गर्नु नपरे पनि असामान्य अवस्थामा दाँत आए भने,सुरुमा माथिका दाँत आए भने अशुभ मानिएको छ । अशुभ समयमा दाँत उत्पन्न भए शान्ति गर्नुपर्छ जसबाट शुभ फल मिल्छ भन्ने शास्त्रीय व्यवस्था रहेको छ ।
पाँच मिहिनाभित्र दाँत आउनु अशुभ र पाँचदेखि माथिका वर्षमा दाँत आए शुभ फल बताइएको छ । सुरुमा तलका दाँत आउनुपर्छ भन्ने शास्त्रीय मान्यता रहेको छ । सुरुमा माथिका दाँत आए भने अशुभ सूचक मानिन्छ ।
बालक वा बालिका जन्मिँदै दाँत लिएर आएका छन् वा पहिलो महिनामा दाँत आयो भने स्वयं बालकलाई नै हानि गर्ने हुन्छ । यसैगरी दोस्रो महिनामा दाँत आयो भने पछि जन्मिने भाइलाई हानि (अशुभ) गर्ने हुन्छ । यसैगरी तेस्रो महिनामा दाँत आए बहिनीलाई हानि हुन्छ । चौथो महिनामा दाँत आए आमालाई कष्ट दिने हुन्छ । पाँचौ महनिामा दाँत आए दाजुलाई हानि गर्छ । यसरी पाँच महिनासम्म दाँत आएको अशुभ फल बताइएको छ ।
‘मासे चेत्प्रथमे भवेत्सदशनो बालो विनश्येत्स्वयं
हन्यात्स क्रमतोद्रनुजातभगिनीमात्रग्रजान् द्व्यादिके ।’ (मुहूत्र्तचिन्तामणि, संस्कारप्रकरण, श्लो १३)
यसैगरी छ महिना वा छ महिनापछि दाँत आउनुलाई शुभ मानिएको छ । छैटौं महिनामा दाँत आए बालकको जीवन अत्यन्त सुखी हुन्छ । सातौं महिनामा दाँत आए पितालाई सुख प्रदान गर्ने हुन्छ । आठौं महिनामा दाँत आए बालकलाई शारीरिक पुष्टि प्राप्त हुन्छ । नवौं महिनामा दाँत आउने बालक धनवान् हुन्छन् । दशौं महिनामा दाँत आए बालको जीवन सुखमय हुन्छ भनी बताइएको छ । सर्वप्रथम माथिका दाँत आउनु भने अशुभ मानिएको छ । जसको फल पिता आदिलाई कष्ट दिने हुन्छ भनी मुहूत्र्तचिन्तामणिमा बताइएको छ ः
‘षष्ठादौ लभते हि भोगमतुलं तातात्सुखं पुष्टतां
लक्ष्मीं सौख्यमथो जनौ सदशनो वोध्र्वं स्वपित्रादिहा ।।’ (मुहूत्र्तचिन्तामणि, संस्कारप्रकरण, श्लो १३)
यसैगरी एघार बाह्र आदि महिनामा दाँत आए भने शुभ मानिएको छ । एघार महिनामा दाँत आए सौख्य, बाह्रौं महिनामा दाँत आए धनसम्पत्ति प्राप्त हुन्छ भन्ने फल शास्त्रकार चण्डेश्वरले बताएका छन् :
‘लभते दशमे मासि सौख्यमेकादशेद्रपि वा ।
द्वादशे धनसमपत्तिर्दन्तानां जनने फलम् ।।’ (चण्डेश्वर)
यसरी हेर्दा पाँच मिहिनाभित्र दाँत आउनु अशुभ र ५ देखि माथिका वर्षमा दाँत आए शुभ फल बताइएको छ । सुरुमा तलका दाँत आउनुपर्छ भन्ने शास्त्रीय मान्यता रहेको छ । यसैले सुरुमा दाँत आउँदा प्रायः तलका दाँत नै आउने गर्दछन् । सुरुमा माथिका दाँत आए भने अशुभ सूचक मानिन्छ । कुनै शारीरिक विकारका कारण यस्तो हुनसक्ने भएकाले शास्त्रमा शान्तिका विधान बताइएका छन् । यसका साथै बालक जन्मसँगै दाँत लिएर आएको भए पनि अशुभ मानिन्छ । उक्त अवस्था पनि अशुभ फल दिने भएकाले शान्ति गर्नुपर्ने शास्त्रमा उल्लेख गरिएकोछ । यसरी हेर्दा दाँतसहित जन्म भयो भने, पाँचमहिनाभित्र दाँत आयो भने र सुरुमा माथिको दाँत आयो भने अशुभकारक रहन्छ । फल पारिवारिक कष्ट मिल्ने भएकाले शान्ति गर्नुपर्ने विधान शास्त्रमा गरिएको छ ।
हाम्रा ऋषिमहर्षिले दिएका ज्ञान आजको विज्ञानभन्दा पनि माथि छन् । सबैको कल्याण नै शास्त्रकालरले बताएका छन् । प्राकृतिक विषयवस्तुमा देखिने सकृत् र विकृत् विषयवस्तुको मिहिन अध्ययन गरी उपायसमेत बताइएका ज्ञान हामी सबैका निम्ति कल्याणदायक रहन्छन् ।
अशुभ दन्तोत्पत्तिको शान्ति विधि
सुरुमा माथिको दाँत आउने वा जन्मदेखि पाँचमहिना भित्र दाँत आउने वा जन्मसँगै दाँत आउने बालक वा बालिकालाई हात्तीको पिठ्यूँमा राख्नुपर्दछ अथवा डुङ्गामा चढाउनुपर्दछ । हात्तीको पृष्ठप्रदेशमा वा डुङ्गामा राख्न असमर्थ भए सुनको सुन्दर आसन बनाएर राख्नुपर्दछ । एक कलश स्थापना गरी उक्त कलशमा सर्वौषधी (कुट, वेसार, जटामसी, चुत्रो, मुरा, श्रीखण्ड, शिलाजित, बोझो, चाँपो र मोेथो), सर्वगन्ध(दुई भाग कस्तूरी, चार भाग श्रीखण्ड, तीनभाग पत्थर कुंकुम र चारभाग कपुर मिसाइएको गन्ध विशेष), बीज (बिउ विशेष अङ्कुर टुसा विशेष), पुष्प, फल, पञ्चगव्य (गाईको गउँत, गोवर, दुध, दही र घिउ), पञ्चरत्न (सुन, हीरा, मोती, पद्मरागर र नीलम), सप्तमृत्तिका (घोडा बसेको स्थान, हात्ती बसेको स्थान, धमिरो लागेको ठाँउ, नदीको संगम, दहमा जमेको,राज दरबारका ढोकाको, गोठको गरी सात ठाँउको माटो) वैदिक मन्त्र उच्चारणपूर्णक राख्नुपर्दछ । यसपछि अग्नि, चन्द्रमा, वायु, प्रसिद्ध पर्वत र देवताका पनि देवता केशव भगवान्को विशेष उपचारले पूजा गर्नुपर्दछ ।
ब्रहृमाको पनि पूजा आराधना गरी स्थालीपाक (खीर विशेष) अर्पण गर्नुपर्दछ । विधिपूर्वक पूजा आराधना पश्चात् बालक वा बालिकालाई पहिले स्थापना गरिएको कलशको जलले स्नान गराउनुपर्दछ । यसरी सातदिनसम्म भद्रासनमा राखी स्नान गर्नुपर्दछ । आठौं दिनमा अग्निस्थापना विधिले हवन गर्नुपर्दछ । यसैगरी सुन, चाँदी, गाई, भूमि, आसन आदि ब्राहृमणलाई दान गर्नुपर्दछ । यसका साथै पूर्णहुति, पूर्णपात्र, ब्राहृमण भोजन एवं दक्षिणा दान पनि गर्नुपर्दछ । यसरी विधिपूर्वक शन्ति गर्नाले दोष निवारण हुन्छ भनी पद्मपुराणको कुरा पीयूषधारा टीकामा उल्लेख छ ।
सुरुमा माथिको दाँत आए मामालाई कष्ट हुन्छ यसैले शान्ति गर्नुपर्दछ भनी निर्णयसिन्धुमा बताइएको । यसरी गरिने शान्ति विधि निम्नानुसार रहेको छ : सुन, चाँदी, ताँबो अथवा काँसको भाँडोलाई दही भातले भरेर शिशुको हातमा राखिदिनुपर्छ :
‘प्रथमं दन्तनिर्मुक्तिरूध्र्वं बालस्य चेद्भवेत् । क्लेशाय मातुलस्येह तदा प्रौक्ता मनीषिभिः । सौवर्णं राजतं वापि ताम्रं कांस्यमयं तु वा । दध्योदनेन सम्पूर्णं पात्रं दद्याच्छिशोः करे ।। समन्त्रं भाजनं दत्त्वा स पश्येन्मातुलः शिशुम् ।।’ (निर्णयसिन्धु) यसरी शिशुको हातमा राख्नुभन्दा पहिले यो मन्त्र पढ्नुपर्दछ :
‘रक्ष मां रक्ष मां भागिनेय ! त्वं रक्ष मे सकलं कुलम् । गृहीत्वा भाजनं सान्नं प्रसन्नो भव मे सदा ।
निर्विघ्नं कुरु कल्याणं निर्विघ्नं च स्वमातरम् । मय्यात्मानमधिष्ठाप्य चिरं जीव मया सह ।।
एवं कृते विधाने तु विघ्नंः कोद्रपि न जायते ।।’ (अर्थ : हे भाञ्जा ! वा भाञ्जी ! तिमीले मेरो र मेरा सम्पूर्ण कुलको रक्षा गर । यो दही भातसहितको अन्नपात्र ग्रहण गरी मसँग प्रसन्न होऊ । तिमीले निर्विघ्नरूपमा मेरो कल्याण गर । आफ्नी आमाको कल्याण गर । ममा आत्मा राखी मेरो साथमा धेरै वर्षसम्म बाँच) यसरी शान्तिकर्म र प्रार्थना गरेपछि कुनै विघ्न रहँदैन भनी बताइएको छ । (निर्णयसिन्धु, चूडामणि टीकासहित, वेणीमाधव ढकाल, विसंं २०७७, पृ.५१३-५१४)।
हाम्रा ऋषिमहर्षिले दिएका ज्ञान आजको विज्ञानभन्दा पनि माथि छन् । सबैको कल्याण नै शास्त्रकालरले बताएका छन् । प्राकृतिक विषयवस्तुमा देखिने सकृत् र विकृत् विषयवस्तुको मिहिन अध्ययन गरी उपायसमेत बताइएका ज्ञान हामी सबैका निम्ति कल्याणदायक रहन्छन् । हरेक विषयवस्तुको समय हुन्छ । दाँत पनि निश्चित समयमा आउनुपर्छ, झर्नुपर्छ पुनः पलाउनुपर्दछ । सर्वप्रथम शिशुको दाँत आउने कुरालाई यहाँ विशेष रूपमा बताइएको हो । दोस्रोपटक झर्ने र आउने दाँतका बारेका खासै चर्चा गरिएको पाइँदैन । यसैले पहिलोपट दुधेदाँत आउने अवस्थाका शुभाशुभ अवस्था र अशुभ अवस्थामा दाँत आए शान्तिका उपाय बताइएका छन् । यसरी शान्ति विधि गर्नाले अशुभ हटेर जान्छ र शुभ फल प्राप्त हुन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच