विराटनगरबाट समाजवादी मोर्चाको सन्देश :

परिवर्तन उल्ट्याउने षड्यन्त्र हुँदै छ, प्रतिगामी शक्तिहरूले टाउको उठाउन थाले

हिमालय टाइम्स
Read Time = 9 mins

विराटनगर । चारदलीय समाजवादी मोर्चा नेपालका शीर्षनेताहरूले परिवर्तनलाई उल्ट्याउने षड्यन्त्र भइरहेको ठहर गरेका छन् । सोमबार विराटनगरमा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै मोर्चाका नेताहरूले प्रतिगामी शक्तिहरूले टाउको उठाउने प्रयास गरिरहेको जिकिर गरेका हुन् । विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धि संस्थागत हुन नसकेको उनीहरूको भनाइ थियो । गणतन्त्र ल्याउनेहरू रक्षात्मक बनेको भन्दै गाली गरेको भरमा आएकाहरू पार्टी बन्ने विडम्बना रहेको गुनासो नेताहरूले गरे । नेपालमा सामन्तवादको अन्त्य भए पनि अझै परिवर्तन बाँकी रहेको उनीहरूको भनाइ थियो । सभामा सत्तारूढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सम्बोधन गर्नुभएको थियो । यसअघि अमेरिकी सहयोग परियोजना एमसिसी कार्यान्वयमा जाने क्रममा मोर्चामा केही मतभेद देखिएको थियो । तर, सोमबारको मोर्चामा नेताहरू एकमत जस्ता देखिएका हुन् ।

निरंकुशताका दलालहरूको चरित्र गुण्डाको भन्दा फरक छैन : प्रचण्ड
प्रधानमन्त्री प्रचण्डले इँटको जवाफ पत्थरले दिन समाजवादी मोर्चाका नेता-कार्यकर्तालाई निर्देशन दिनुभयो । गणतन्त्र ल्याउनेहरू रक्षात्मक र गाली गरेको भरमा आएकाहरू पार्टी हुनेजस्तो विडम्बना देखिएको उहाँले बताउनुभयो । सामाजिक सञ्जाल हेर्न नसक्ने अवस्था आएको उहाँको भनाइ थियो । ‘नाम त के लिनु र मैले । निरंकुशताका दलालहरू जसको चरित्र गुण्डाको भन्दा फरक छैन,’ उहाँले भन्नुभयो । उनीहरूमध्येकै एकले नेपाली कांग्रेसको सहमहामन्त्रीमाथि खुकुरी प्रहार गरेको उहाँले बताउनुभयो । ‘उनीहरूको मनोबल कस्तो रहेछ, तपाईं हामी चाहिँ बडो रक्षात्मक ?’ उहाँले भन्नुभयो, ‘त्यस्तो होइन अब । अब यो समाजवादी मोर्चाले जहाँ बदमासी हुन्छ, गालीगलौज हुन्छ, त्यो इँटको जवाफ पत्थरले दिने हो । दिनैपर्‍यो ।’

‘सरकार ढल्ने चिन्ता छैन, भ्रष्टाचारविरुद्धको अभियान रोकिँदैन’
प्रधानमन्त्री ‘प्रचण्ड’ले आफूलाई सरकार कतिञ्जेल टिक्छ भन्नेमा चिन्ता नभएको बताउनुभएको छ । सरकार भ्रष्टाचारविरुद्धको अभियानमा लागेको बताउनुभयो । उहाँले भुटानी शरणार्थी, ललितानिवास र सुन प्रकरणमा सरकार लागेको बताउनुभयो । सरकार भ्रष्टाचार र भ्रष्टाचारीविरुद्व लागे पनि केही तत्व सरकारविरुद्ध लागेको बताउनुभयो । ‘सरकार कतिञ्जेल टिक्छ भन्ने मतलब छैन भ्रष्टाचारविरुद्व अन्तिम समयसम्म लड्नेछु,’ उहाँले भन्नुभयो । आफूले गरेको एक्सनबाट केही नयाँ कुरा गर्न खोजेको उहाँको भनाइ थियो । प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेशको नामकरणलाई लिएर जातीय दंगा भड्काउने प्रयास भइरहेको दाबी गर्नुभयो । प्रतिक्रियावादी, धार्मिक अतिवादी र गणतन्त्रविरुद्ध लाग्नेहरूले प्रदेश नामकरणलाई मुठभेटमा बदल्न खोजेको उहाँले दाबी गर्नुभयो । विवाद र मुठभेटबाट भन्दा सहमतिबाटै प्रदेशको नामकरण विवादको अन्त्य गरिनुपर्ने उहाँको भनाइ थियो ।

प्राप्त उपलब्धि संस्थागत हुन सकेको छैन : यादव
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीले खुद्राखुद्री काममा अल्झिरहेको बताउनुभएको छ । क्रान्तिकारी नेताले खुद्राखुद्री कुरामा नअल्झी आर्थिक राजनीतिक र सामाजिक न्याय दिलाउने गरी काम गर्नुपर्ने उहाँले बताउनुभयो । यो सरकारले काम नगरे प्रतिगामी शक्तिहरूले टाउको उठाउने उहाँको भनाइ थियो । ‘सशस्त्र आन्दोलन गरेर आएको मान्छेको नेतृत्वको सरकारले काम नगरे कसले गर्ने ? योभन्दा क्रान्तिकारी को हुने ? यही सरकारले काम गर्नुपर्छ,’ उहाँले भन्नुभयो । राजनीतिक हिसाबले देशमा महत्वपूर्ण अधिकारहरू प्राप्त भए पनि व्यवहारमा नदेखिएको उहाँको जिकिर थियो । ‘१६ वर्षमा १३ पटक सरकार बदलियो तर राजनीतिक, आर्थिक र सामाजिक विभेद कायमै छ । सशस्त्र आन्दोलन, मधेश विद्रोहबाट प्राप्त उपलब्धि संस्थागत हुन सकेको छैन,’ उहाँले भन्नुभयो, ‘प्रदेशहरूले दिएको अधिकार लिन कानुनसमेत बनाउन सकेका छैनन् ।’ कोशीको नामकरणबाट निम्तिएको समस्या पनि समाधान हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रतिगामी शक्तिहरूले इतिहासलाई पछाडि धकेल्न खोजे : नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले चार पार्टी मिलेर मिसन समाजवाद लिएर मेचीदेखि महाकालीको यात्रामा लागेको बताउनुभयो । आफूहरूले समाजमा आशाको सञ्चार गर्न चाहेको उहाँले बताउनुभयो । एकथरी मान्छेले अँध्यारोको सञ्चार गर्न खोजेको उहाँको आरोप थियो । प्रतिगामी शक्तिहरूले इतिहासलाई पछाडि धकेल्न खोजेको उहाँले बताउनुभयो । व्याख्यात्मक टिप्पणी गरेर एमसिसीमा नेपालको हात माथि परेको उहाँले जिकिर गर्नुभयो । कुनै पनि आयोजना नेपालको हितमा हुनुपर्ने भन्दै व्याख्यात्मक टिप्पणीले एमसिसीमा नेपालको हात माथि भएको उहाँले बताउनुभयो ।

सामन्तवादको अन्त्य भए पनि अझै परिवर्तन बाँकी छ : विप्लव
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले नेपाल इतिहासकै पेचिलो अवस्थामा पुगेको बताउनुभएको छ । मुलुक पेचिलो अवस्थामा पुगेकाले माओवादीहरू एक हुने उहाँको भनाइ थियो । देश असजिलो अवस्थामा पुगेकाले समाजवादीहरू एक भएर समाजवादी मोर्चा गठन भएको उहाँले बताउनुभयो । उहाँले नेपालमा सामन्तवादको अन्त्य भए पनि अझै परिवर्तन बाँकी रहेको बताउनुभयो । ‘अहिले नागरिकहरू सन्तुष्ट हुन सकेका छैनन् । सबैतिर उकुसमुकुसको अवस्था छ,’ उहाँले भन्नुभयो, ‘समाजवादी मोर्चा गठनपछि जनतामा उत्साह थपिएको छ । केही समूह भने मोर्चा गठनपछि त्रसित भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?