नेपाल चिकित्सक संघद्वारा आन्दोलन घोषणा

७२ घण्टा भित्र दोषीलाई कारबाही नगरे देशभर आकस्मिक बाहेकका सेवा बन्द गर्ने चेतावनी

Read Time = 11 mins

काठमाडौं । नेपाल चिकित्सक संघले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सन्चो अस्पताल हेटौँडामा कार्यरत चिकित्सकद्वय डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि आक्रमण गरी घाइते बनाएको भन्दै संघले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

संघका महासचिव डा.सञ्जीव तिवारीले ७२ घण्टाभित्र घटनामा संलग्न दोषीलाई कानूनी कारबाही नगरे देशभर आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गरेर ज्यानको सुरक्षामा खटिन बाध्य हुने चेतावनी दिनुभयो ।

एक समूहले डा. थापा र बिडारीमाथि ज्यान मार्ने उद्देश्यले शारीरिक हमला गरी गम्भीर घाइते बनाएको भन्दै सरकारले दोषीमाथि कडा कारबाही गर्नुपर्ने बताउनु भयो । गत भदौ २७ गते डा थापा र डा. बिडारीमाथि सन्चो अस्पताल हेटौँडामा बिरामीहरूको उपचार गरिरहेको अवस्थामा आक्रमण भएको थियो । तिवारीले गम्भीर घाइते भएका चिकित्सकहरूको स्वास्थ्य अवस्थ अत्यन्तै नाजुक भएको बताउनु भयो ।

उहाँले चिकित्सकका परिवार एवं अन्य स्वास्थ्यकर्मीहरूलाई समेत बारम्बार धम्काइ असुरक्षित एवं आतंकित बनाइएको बताउनु भयो । उहाँले ज्यान मार्ने किसिमको घटनालाई अस्पतालको सिसिटिभीमा कैद भई सामाजिक सञ्जालभर सार्वजनिक भइरहँदा समेत सुरक्षा निकायले गम्भीरतापूर्वक नलिएको बताउनु भयो ।

उहाँले ७२ घण्टाको अल्टिमेटम दिएर सो घटनाका दोषीहरूलाई कानूनी दायरामा ल्याई हदै सम्मको कारवाहीको माग गर्नुभयो । डा.तिवारीले देशमा कानूनी राज्यको प्रत्याभुति चिकित्सक, स्वास्थ्यकर्मीहरूले कहिले पनि गर्न नसकेको बताउनु भयो । उहाँले नियमित रूपमा उपचार प्रक्रियालाई इमान्दारीपूर्वक पालना गरी थप सुविधा सम्पन्न अस्पतालमा प्रेषण गरिएको बिरामीको मृत्यु भएको घटनालाई अतिरञ्जित गरी चिकित्सकहरूलाई ज्यान मार्ने मनसायले अस्वभाविक, अकल्पनीय र अमानवीय घटना भएको बताउनु भयो । उहाँले संलग्न दोषीलाई यथाशिघ्र कानूनी दायरामा ल्याई कडा भन्दा कडा कारवाही गर्नका लागि प्रधानमन्त्री, गृहमन्त्री र स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई ध्यानाकर्षण गराइएको बताउनु भयो । उहाँले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि संशोधन ऐन, २०७९ बमोजिम चिकित्सकमाथि कुटपिट गर्नेहरुलाई कानूनी कारवाही गर्न माग गर्नुभयो ।

डा.तिवारीले भन्नुभयो, ‘मिति २०८० श्रावण २२ गते एकजना विरामी डेंगी रोगको लक्षण लिई उपचारका लागि सन्चो अस्पताल हेटौँडामा आएको र उक्त बिरामीलाई थप उपचार आवश्यक भएको हुनाले २३ गते चितवनको सुविधा सम्पन्न अस्पतालमा प्रेषण गरिएको थियो । उक्त बिरामीको २०८० श्रावण २५ गते उपचारका क्रममा असामयिक निधन हुन गएको घटनालाई लिएर पहिला पनि क्षतिपूर्तिका लागि धम्की दिने गरेको तथा मिति २०८० भाद्र २७ गते सन्चो अस्पतालमा कार्यरत रहेकै अवस्थामा कार्यरत द्वय डा. थापा र बिडारी माथि ज्यानै मार्ने उद्देश्यले शारीरिक हमला गरी गम्भीर घाइते बनाइको विद्यमान अवस्था छ । गम्भीर घाइते भएका चिकित्सकहरूको स्वास्थ्य अवस्थ अत्यन्तै नाजुक भएको तथा निजका परिवारजन एवं अन्य स्वास्थ्यकर्मीहरूलाई समेत बारम्बार धम्काइ असुरक्षित एवं आतंकित वातावरण बनाइएको घटनाले नेपाल चिकित्सक संघ स्तब्ध भएको छ । यस घटनाका सम्बन्धमा स्थानीय सुरक्षा निकायले हालसम्म संलग्न दोषीहरूलाई पक्राउ गरी कानूनी दायरामा नल्याइएको कारण देशभरका स्वास्थ्य संस्थामा कार्यरत सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरू आतंकित भई मनोबल गिर्न गएको हुनाले अत्यन्तै विषमपूर्ण परिस्थिति सिर्जना भएको छ । ज्यान मार्ने किसिमको घटनालाई अस्पतालको सिसिटीभीमा कैद भई सामाजिक सञ्जालभर सार्वजनिक भइरहँदा समेत सुरक्षा निकायले गम्भीरतापूर्वक नलिई शान्ति सुरक्षा कायम गराउन नसकेको विद्यमान परिस्थितिले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम कानूनी कारवाही गर्न समेत पछि परेको तीतो यथार्थबाट नेपाल चिकित्सक संघ आजीत भइसकेको छ । देशमा कानूनी राज्यको प्रत्याभुति हामी चिकित्सक, स्वास्थ्यकर्मीहरूले कहिले पनि गर्न सकेका छैनौ । त्यसैले हामीले ७२ घण्टाको अल्टिमेटम दिएर उक्त घटनाका दोषीहरूलाई कानूनी दायरामा ल्याई हदै सम्मको कारवाहीको माग गरिरहेका छौँ । नियमित रूपमा उपचार प्रक्रियालाई इमान्दारीपूर्वक पालना गरी थप सुविधा सम्पन्न अस्पतालमा प्रेषण गरिएको बिरामीको मृत्यु भएको घटनालाई अतिरञ्जित गरी चिकित्सकहरूलाई ज्यानै मार्ने मनसायले अस्वभाविक, अकल्पनीय र अमानवीय घटना देशभर कुनै न कुनै रूपमा निरन्तर घटिरहेकोले सुरक्षाको प्रत्याभुति हामीले गर्न नपाएको घटनाप्रति यस संघ गम्भीर आपत्ति प्रकट गर्दै संलग्न दोषीलाई यथासिघ्र कानूनी दायरामा ल्याई कडा भन्दा कडा कारवाही गर्नका लागि आजै हामीले सम्माननीय प्रधानमन्त्रीज्यु समक्ष, माननीय गृहमन्त्रीज्यु एवं माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्रीज्युलाई ज्ञापन पत्र बुझाई ध्यानाकर्षण गराएको व्यहोरा यहाँहरूलाई निवेदन गर्दछु । हामीले दिएको ७२ घण्टाभित्र उक्त घटनामा संलग्न दोषीलाई कानूनी कारवाही नगरिएको अवस्थामा नेपाल चिकित्सक संघ देशभर आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गरेर जीउज्यानको सुरक्षामा खटिन बाध्य हुने व्यहोरा यसै पत्रकार सम्मेलन मार्फत अवगत गराउँदछौ । यसबाट उत्पन्न हुने जुनसुकै परिस्थितिको जिम्मेवार नेपाल सरकार स्वयं हुनेछ ।’

डा.थापाले एक समूहले हातपात गरेको बताउनु भयो । उहाँले दुवै चिकित्सकको टाउकोमा गम्भिर चोट लागेको बताउनु भयो । उहाँले एक महिनाअघि एक बिरामीको मृत्यु भएपछि मृत्युको विषयलाई लिएर एक समूहले आफूहरुमाथि आक्रमण गरेको बताउनु भयो । उहाँले सञ्चो अस्पतालबाट भरतपुर रेफर गरिएको र भरतपुरमा नै बिरामीको मृत्यु भएको बताउनु भयो ।

डा.थापाले भन्नुभयो, ‘म र डाक्टर बिडारी भएर राउण्डमा थियौं । त्यहीक्रममा १५÷२० जनाको हुल आएर हामीसँग कुरा गर्ने भनेर हामीलाई बोलाउनु भयो । त्यसपछि हामी दुई जनामाथि हातपात भयो । हातपात भएपश्चात केही समयपछि प्रहरी आएर छुटाउनु भयो । हामी दुवै जनालाई टाउकोमा चोट लागेको छ । मेरो टाउकोमा सिटीस्क्यान गर्दा हड्डीमा फ्याक्चर भएको देखिएको छ । थप उपचारका लागि काठमाडौं आएको हुँ । एक महिना अगाडी एक जना प्यासेन्टको डेथ भएको थियो । निमोनियाको केस थियो । त्यही विषयलाई लिएर हामीमाथि हातपात गरेका थिए । हाम्रोमा एक दिन भर्ना हुनुभएको थियो । अलि गाह्रो भएपछि भरतपुरमा रेफर भयो । त्यसपछि त्यहाँ दुई दिन बसेपछि एक्सपायर हुनुभएको हो । यही इस्यु बनाएर हातपात गर्नुभएको हो ।’

सन्चो अस्पताल हेटौँडामा कार्यरत चिकित्सकहरू डा. थापा र डा. बिडारीमाथि भएको कुटपिटको घटनामा प्रहरीले ४ जनालाई पक्राउ गरिसकेको छ । बुधवार चिकित्सकहरुमाथि अस्पतालभित्रै आक्रमण भएको थियो ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?