इंग्ल्याण्डको जितमा स्टोक्सको सानदार शतक

Read Time = 4 mins

लण्डन । अलराउण्डर बेन स्टोक्सले विस्फोटक शतक प्रहार गरेपछि तेस्रो ओडिआई सिरिजमा घरेलु टोली इंग्ल्याण्डले न्युजिल्याण्डलाई पराजित गरेको छ । द ओभलमा बुधबार राती सम्पन्न खेलमा इंग्ल्याण्डले १८१ रनको फराकिलो जित दर्ता गरेको छ । जितसँगै घरेलु टोलीले चार खेलको ओडिआई सिरिजमा २-१ को अग्रतासमेत लिएको छ ।

जितका लागि ३६९ रनको विशाल विजयी लक्ष्य पछ्याएको न्युजिल्याण्डले ३९ ओभरमा सबै विकेट गुमाएर १८७ रनमात्रै बनाउन सक्यो । न्युजिल्याण्डका ग्लेन फिलिप्सले ७६ बलमा ५ चौका र २ छक्कासहित ७२ रनको योगदान दिनुभयो । उसका रचिन रविन्द्रले २२ बलमा ५ चौकासहित २८, कायल जेमिसन १४, ओपनर डेभन कन्वे ९, विल योंग १२, हेनरी निकोलस ४, डर्याल मिचेल १७ र टम लाथमले ३ रन जोड्नुभयो । इंग्ल्याण्डका क्रिस वोक्सले ८ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिनुभयो । लियाम लिभिङस्टोनले ५ ओभरमा १६ रन खर्चेर ३ विकेट हात पार्नुभयो ।

त्यसअघि लण्डनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्याण्ड ४८.१ ओभरमा ३६८ रनमा अलआउट भएको थियो । इंग्ल्याण्डका बेन स्टोक्सले १२४ बलमा १५ चौका र ९ छक्कासहित १८२ रनको विस्फोटक शतकीय इनिङ खेल्नुभयो । यो बेन स्टोक्सको ओडिआई करिअरको चौथो र सर्वोत्कृष्ट प्रदर्शन हो । यसअघि स्टोक्सको ओडिआईमा उच्च प्रदर्शन २०१७ मा अष्ट्रेलियाविरुद्ध १०२ रनमात्रै थियो ।
स्टोक्स इंग्ल्याण्डबाट ओडिआईमा एकै इनिङमा सर्वाधिक रन बनाउने ब्याटर पनि बन्नुभयो । उहाँले २०१८ मा ओपनर जेसन रोयको अष्ट्रेलियाविरुद्ध १८० रनको कीर्तिमानसमेत तोड्नुभयो । त्यसबाहेक इंग्ल्याण्डका ओपनर डेविड मलान ९५ बलमा १२ चौका र १ छक्कासहित ९६ रनमा आउट हुनुभयो । तेस्रो विकेटका लागि मलान र स्टोक्सले १९९ रनको साझेदारी गर्नुभयो ।

ठूलो सटको चक्करमा अन्य ब्याटर भने सस्तैमा आउट भए । कप्तान जस बटलर २४ बलमा ६ चौका र १ छक्कासहित ३८, लियाम लिभिङस्टोन ११, मोइन अली १२, जो रुट ४ र जोनी बेयरस्टो डक आउट हुनुभयो । न्युजिल्याण्डका ट्रेन्ट बोल्टले ९.१ ओभरमा ५१ रन खर्चेर ५ विकेट लिए पनि टोलीलाई जिताउन सक्नुभएन । बेन लिस्टरले ९ ओभरमा ६९ रन खर्चेर ३ विकेट हात पार्नुभयो । लोकी फर्गुसन र ग्लेन फिलिप्सले एक-एक विकेट लिनुभयो ।

पहिलो खेलमा न्युजिल्याण्ड ८ विकेटले विजयी भएको थियो । दोस्रो खेलमा इंग्ल्याण्ड ७९ रनले विजयी भएको थियो । चौथो तथा निर्णायक खेल शुक्रबार हुनेछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?