प्रधानमन्त्री प्रचण्ड आज अमेरिका प्रस्थान गर्दै

राष्ट्रसंघको महासभा र चीन भ्रमणबारे सदनलाई जानकारी

अनिल क्षेत्री
Read Time = 20 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज (शनिबार) त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । प्रधानमन्त्रीले २१ सेप्टेम्बरमा महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यस महासभाको सामान्य बहसको विषय ‘विश्वव्यापी एकताको पुनर्निर्माण विश्वास र पुनजागृतः २०३० को एजेण्डा र यसको दिगो विकास लक्ष्य सबैका लागि शान्ति, समृद्धि, प्रगति र दिगोपनमा तीव्रता दिने’ भनी छनोट गरिएको छ । प्रधानमन्त्री प्रचण्डले महासभाको उद्घाटन सत्रमा भाग लिनुका साथै १९ सेप्टेम्बरमा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनुहुने छ । न्युयोर्कमा हुँदा प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य शिखर सम्मेलन र जलवायु महत्वाकांक्षा शिखर सम्मेलन लगायतका कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ । उहाँले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेससँग भेटवार्ता गर्नुका साथै विभिन्न देशका आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डलमा स्वकीय सचिव छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल र मन्त्रालयका अन्य वरिष्ठ अधिकारी छन् । दाहाल अमेरिकाबाटै असोज ५ गते चीन भ्रमणमा जाने कार्यक्रम छ ।

चिनियाँ राष्ट्रपति सीसँग हाङझाउमै भेटवार्ता हुने
प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघको महासभा र चीन भ्रमणबारे प्रतिनिधिसभालाई जानकारी गराउनुभएको छ । शुक्रबार प्रतिनिधिसभामा आफ्नो चीन भ्रमणबारे जानकारी गराउनुहुँदै प्रधानमन्त्री प्रचण्डले १९औँ एसियाली खेलकुदको उद्घाटनमा सहभागी हुन न्युयोर्कबाट सिधै चीन भ्रमणमा जाने जानकारी दिनुभयो । चीन भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छियाङसँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्डले सदनलाई चिनियाँ राष्ट्रपति सी चिनफिङसँग हाङझाउमै भेटवार्ता हुने जानकारी दिनुभएको छ । नेपालले युएनको महासभामा एक दर्जन मुख्य कार्यक्रममा सहभागिता जनाउने गरी गृहकार्य भएको छ । सेप्टेम्बर २१ मा महासभालाई सम्बोधन गरेर प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा निस्कने कार्यक्रम छ । आसन्न चीन भ्रमण र त्यसक्रममा हुने राजनीतिक भेटवार्ताबारे जानकारी दिँदै प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘हाङझाउमै महामहिम चिनियाँ राष्ट्रपति सी चीनफिङसँग असोज ६ गते भेटवार्ता हुने कार्यक्रम रहेको छ । त्यस्तै, बेइजिङमा सेप्टेम्बर २५ मा चिनियाँ समकक्षी ली छ्याङसँग औपचारिक भेट र द्विपक्षीय भेटवार्ता हुनेछ ।’ प्रधानमन्त्रीको हैसियतमा प्रचण्ड तेस्रोपटक चीन भ्रमणमा जान लाग्नुभएको हो ।

अमेरिकाबाट सिधै चीन भ्रमणमा जाँदा राम्रो कूटनीतिक सन्देश नजाने भनेर आलोचना भइरहँदा प्रधानमन्त्री प्रचण्डले भने राष्ट्रसंघीय महासभा र चीनको भ्रमणतालिका बीचमा छोटो समय भएकाले न्युयोर्कबाटै बेइजिङ जान लागेको जानकारी दिनुभयो । नेपाल र चीनबीच सदियौँदेखि घनिष्ठ सम्बन्ध रहँदै आएको उल्लेख गर्दै उहाँले यसपटकको भ्रमणमा कोभिडका कारण सञ्चालन हुन नसकेका विभिन्न नाकाहरू खोल्ने विषयमा पनि छलफल पनि हुने बताउनुभयो । संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा यसपटक सानो र छरितो टोली जान लागेको पनि प्रधानमन्त्री प्रचण्डले जानकारी दिनुभयो । अतिकम विकसित (एलडिसी) देशहरूको अध्यक्षका हैसियतले नेपालले साझा चासोका विषयमा विभिन्न मञ्चमा आफ्नो धारणा राख्ने पनि प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

बन्द भएका नाका खुलाउन पहल
प्रधानमन्त्री प्रचण्डले आफ्नो चीन भ्रमणका क्रममा बन्द भएका दुई देशका नाका खुलाउन पहल गर्ने बताउनुभएको छ । उहाँले चीन भ्रमणको क्रममा कोभिडका कारण हुन नसकेको दुईपक्षीय व्यापार नाका र परम्परागत सीमा नाका खोल्ने बारेमा समेत कुराकानी गर्ने जानकारी गराउँदै भन्नुभयो, ‘कोभिड महामारीपछि प्रधानमन्त्रीको हैसियतमा हुने पहिलो उच्चस्तरीय भ्रमणले नेपाल र चीनको दुईपक्षीय सम्बन्धलाई थप मजबुद बनाउनुको साथै नेपालको पूर्वाधार विकास, कृषि ऊर्जा, पर्यटन, स्वास्थ्य, शिक्षालगायत विविध क्षेत्रमा छिमेकी मित्रराष्ट्रबाट प्राप्त सहयोगबारे छलफल हुनेछ ।’ उहाँले नेपालको प्रधानमन्त्रीको हैसियतमा गर्ने औपचारिक भ्रमणबाट दुई देशबीच रहिआएको परम्परागत सहयोगात्मक थप सुदृढ हुने तथा आपसी सहयोगका क्षेत्रहरू थप विस्तारित हुँदै जाने विश्वास लिएको बताउनुभयो ।

सुन तस्करीबारे छानविन आयोग गठन प्रक्रिया अघि बढ्यो
सरकारले सुन तस्करीबारे उच्चस्तरीय छानविन आयोग गठन प्रक्रिया अघि बढाएको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पूर्वसहमतिअनुसार छानविन आयोग गठन प्रक्रिया अघि बढेको जानकारी दिँदै भन्नुभयो, ‘अवैध सुन तस्करीको सम्बन्धमा सिआइबीले अनुसन्धान टुंग्याई प्रतिवेदन बुझाइसकेको छ । यसअघि भएको सहमतिअनुसार उच्चस्तरीय छानविन आयोग बनाउने प्रक्रिया अगाडि बढेको समेत यस सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु ।’ भदौ ६ गते संसद्मा रहेका प्रमुख सात दलबीच सुन तस्करी छानविनबारे दुई बुँदे सहमति भएको थियो । जहाँ सुन तस्करीको छानविन गर्न आयोग गठन गर्ने उल्लेख छ । साउन ३ गते सिनामंगलबाट बरामद भएको साढे ६० किलो सुन तस्करीबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अध्ययन गरेर प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ । राजस्व अनुसन्धान विभागले बरामद गरेको उक्त सुनबारे थप अनुसन्धान गर्ने जिम्मा सिआइबीलाई दिइएको थियो । सिआइबीले अध्ययन सकाएसँगै उच्चस्तरीय छानबिनको प्रक्रिया अगाडि बढेको प्रधानमन्त्री प्रचण्डले संसद्लाई जानकारी गराउनुभएको हो ।

कान्ति बाल अस्पताल प्रकरणको दोषीमाथि कारबाही हुने
प्रधानमन्त्री प्रचण्डले कान्ति बाल अस्पतालको लापरबाहीका कारण आकस्मिक कक्षमा भर्ना नपाई गत भदौ १८ गते ज्यान गुमाएकी बालिकाबारे जवाफ दिनुभएको छ । प्रधानमन्त्रीले उपचारका लागि भर्ना हुन जानुभएकी मकवानपुर घर भई बाफल बस्ने ५ वर्षीया बालिका रेजिशा गोपालीको मृत्युको कारक रहेका दोषीलाई कारबाही गर्ने बताउनुभएको हो । सो घटनाबारे पाँच दिन समय दिएर तीन सदस्यीय छानविन समिति गठन गरेको र समितिले प्रतिवेदन बुझाइसकेको प्रचण्डले जानकारी गराउँदै भन्नुभयो, ‘प्रतिवेदनले अस्पतालमा आकस्मिक कक्षमा खटिएका जनशक्तिकै भरमा पनि विषयवस्तुप्रति जुन तहको संवेदनशीलता प्रदर्शन हुनुपथ्र्यो त्यो गर्न नसकेको तीतो यथार्थले हामीलाई झकझक्याउने उल्लेख गर्दै अस्पतालले विगतदेखि महसुस गरेका तर तत्काल सुधारका बाटोहरूलाई कार्यान्वयन गर्न नसकेका व्यवस्थापकीय कमजोरी नै उक्त घटनाका लागि जिम्मेवार रहेको निष्कर्ष पेस गरेको छ ।’ प्रधानमन्त्री प्रचण्डले सरकारले यस्ता घटनामा दोषी पाइए कारबाहीको दायरामा ल्याइने तथा आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन थप कदम चालिने विश्वाससमेत व्यक्त गर्नुभएको छ ।

जलवायु परिवर्तनबारे उपयुक्त नीति ल्याउनुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनबाट सिर्जित समस्या र चुनौतीलाई उपयुक्त नीति, कार्यक्रम, बजेट व्यवस्था गरी प्रभावकारी कार्यान्वयनमार्फत समाधान गर्न निर्देशन दिनुभएको छ । शुक्रबार वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्को दोस्रो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पर्वतीय राष्ट्रका समस्या पहिचान र सम्बोधनमा विश्वको ध्यानाकर्षण गर्ने ठोस पहल आवश्यक रहेको बताउनुभयो । संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा आगामी असोज ३ मा हुन लागेको जलवायु महत्वाकांक्षी शिखर सम्मेलनमा आफ्नो नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलको सहभागिता रहने जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘गरिब, महिला, आदिवासी तथा अन्य सीमान्तकृत वर्ग जलवायुजन्य जोखिमबाट बढी प्रभावित छ । नेपालले जलवायु वित्तको पहुँचमा भोगिरहेको समस्याको प्रक्रियागत कठिनाइ, कोषको बाँडफाँटमा देखिएको असमानता र अन्य कठिनाइबारेमा सम्बन्धित निकायसँग छलफल गरिनेछ । जलवायु परिवर्तनले परिरहेका असरलाई सम्बोधन गर्न थप सहयोगको प्रतिबद्धता र जलवायु न्यायको प्रश्नलाई सम्बोधन गर्न आवश्यक छ । यस विषयमा कोपमा थप राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको छलफल जरुरी छ ।’

१६ दिनपछि बस्ने गरी प्रतिनिधिसभा बैठक स्थगित
संघीय संसद् प्रतिनिधिसभाको बैठक १६ दिनपछि बस्ने गरी स्थगित भएको छ । शुक्रबार बसेको बैठकमा प्रचण्डले चीन भ्रमण र संयुक्त राष्ट्रसंघको ७८औँ महासभालाई सम्बोधन गर्ने विषयमा जानकारी गराउनुभएको थियो । प्रधानमन्त्री प्रचण्डले आफ्नो विदेश भ्रमणको विषयमा जानकारी गराएपछि सभामुख देवराज घिमिरेले अर्को बैठक असोज १४ गते बस्ने गरी स्थगित गर्नुभएको हो । शुक्रबारको बैठकमा शून्य र विशेष समयसमेत राखिएको थिएन ।

केही नेपाल ऐन संशोधन विधेयक संसदीय समितिमा
केही नेपाल ऐन संशोधन विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पुगेको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संसदीय समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । जसलाई सभाले सर्वसम्मत रूपमा स्वीकार गरेको हो । सरकारले वैशाख २६ गते प्रतिनिधिसभामा दर्ता गरेको विधेयकमा सांसदहरूले ५५ वटा संशोधन प्रस्ताव दर्ता गरेका छन् । ती संशोधन प्रस्तावउपरसमेत संसदीय विषयगत समितिमा छलफल हुनेछ । यो विधेयकमा रहेको शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन मुद्दा फिर्ता लिन सकिने प्रस्तावित व्यवस्थाप्रति सांसदहरूको बढी चासो छ । यही विषयसँग सम्बन्धित २५ वटा संशोधन प्रस्ताव परेको छ । नेपाली कांग्रेस र नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद र केही स्वतन्त्र सांसदले मूलधारको शान्तिपूर्ण राजनीतिमा आएकै कारण नेता र कार्यकर्ताको हिंसात्मक गतिविधिसँग सम्बन्धित मुद्दा फिर्ता नहुने भनी संशोधन हालेका छन् ।

विद्युत् व्यापारको विषयमा छलफल गर्नुपर्छ : पन्त
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणलाई विभिन्न नेताहरूले सुझाव दिएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसदहरूले सुझाव दिएका हुन् । नेकपा (एमाले)का सांसद रघुजी पन्तले प्रधानमन्त्रीको चीन भ्रमणमा नेपाल–चीन विद्युत् व्यापारको विषयमा छलफल गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालको विद्युत् व्यापार भारतसँग निर्भर रहँदा भारतले दबाबमा राख्नसक्ने भन्दै चीनसँग पनि व्यापार गर्नुपर्ने जिकिर गर्नुभयो । उहाँले चीनसँग विद्युत् व्यापार गर्ने सम्बन्धमा प्रधानमन्त्रीको भ्रमणको बेलामा छलफल गर्नुपर्ने बताउनुभयो । त्यस्तै, बिआरआई परियोजनालाई पनि अगाडि बढाउनुपर्ने सांसद पन्तको सुझाव थियो । त्यसैगरी, चीनसँग तीन/चारवटा नाका खोल्नुपर्ने पनि उहाँले बताउनुभयो । उहाँले प्रधानमन्त्रीले अमेरिका हुँदै चीन जानु उपयुक्त नहुने पनि प्रतिक्रिया दिनुभयो ।

भूमिको सम्बन्धमा स्पष्ट रूपमा कुरा राख्नुपर्ने : खतिवडा
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले भ्रमणका बेलामा प्रधानमन्त्री प्रचण्डले देशको राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्वभौमिकतालाई असर नगर्ने गरी काम गर्नुपर्ने बताउनुभयो । उहाँले नेपाली भूमिको सम्बन्धमा पनि कूटनीतिक रूपमा स्पष्ट रूपमा कुरा गर्नुपर्ने बताउनुभयो । प्रधानमन्त्रीको भ्रमणपछि तेल र रेलको समस्या समाधान हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

नाका खोल्ने विषयमा निर्णय हुने : पौडेल
नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले प्रधानमन्त्रीले भ्रमणका क्रममा नेपाल–चीन नाका खोल्ने विषयमा निर्णय हुने बताउनुभयो । उहाँले व्यापारको विषयमा पनि छलफल हुने जानकारी गराउनुभयो । देशको राष्ट्रियतालाई ख्याल गर्दै अन्य छिमेकी मित्रराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धहरूलाई पनि सुमधुर, सन्तुलित रूपमा राख्ने हिसाबले चिनियाँ पक्षसँग छलफल र सम्झौताहरू हुने उहाँको भनाइ थियो ।

नक्साको कुरा नटुंग्याई चीन भ्रमण जानुहुँदैन : शाही
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्रीलाई नेपालको चुच्चे नक्साको कुरा नटुंग्याई चीन भ्रमणमा नजान सुझाव दिनुभयो । उहाँले हङकङ ट्रान्जिटमा नेपाल एयरलाइन्सले प्यासेन्जर बोक्न नपाएको भन्दै सो समस्या समाधान गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो । शाहीले हङकङस्थित महावाणिज्य दूतावासले धेरै रकम कोठाभाडाबापत तिर्नुपरेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?