बेनी-दरबाङ सडकको फापरखेतमा सुख्खा पहिरो, सडक अबरुद्ध

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 5 mins

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको फापरखेतअन्तर्गतको बेनी-दरबाङ सडक खण्डमा शनिवार दिउँसोदेखि सुख्खा पहिरो खसेको छ । पहिरोको कारण आइतबार ११ बजेसम्म पनि सो सडक अवरुद्ध छ ।

उक्त सडक खण्ड म्याग्दीको ‘लाइफलाइन’ का रुपमा लिने गरिए पनि यहाँको प्रमुख समस्या पहिरो बनेको छ । फापरखेतको खोल्सोबाट झर्ने पुरानो पहिरोले सताइ रहने सो सडक खण्डमा शनिवारदेखि पुरानो पहिरोको करिव ६० मिटर वर तातोपानी क्षेत्र तर्फबाट नयाँ सुख्खा पहिरो खसेपछि नयाँ समस्या थपिएको हो ।

सुख्खा पहिरोका कारण बेनीबाट दरबाङतर्फ जाने सवारी साधनहरु तातोपानी र दरबाङदेखि बेनीतिर जाने सवारी साधनहरु मसारमा रोकिएका छन् । यात्रुहरु घुमाउरोबाटो प्रयोग गरेर पैदल नै आ-आफ्नो गन्तव्यतर्फ लाग्ने गरेका छन् ।

करिब १८ वर्षअघि सडकको मार्ग खोल्नुपूर्व नै यहाँ पहिरोको जोखिम थियो। पहिरो रोकथामका लागि दीर्घकालीन योजना नहुँदा यस खण्डमा बर्खायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको स्थानीय बताउँछन् ।

धवलागिरि, मालिका र मंगला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजार जोड्ने उक्त सडक बर्खायाममा झनै जोखिमपूर्ण बन्दै गएको बेनी नगरपालिका-४ का वडा सदस्य प्रेम श्रीसले बताउनुभयो । सामान्य वर्षा हुनेबित्तिकै खस्ने पहिराले सडक पुरिएर सवारी आवतजावत बन्द हुने गरेकोमा अहिले नयाँ ठाउँबाट सुख्खा पहिरो झर्न थालेपछि झनै समस्या भएको उहाँले बताउनुभयो ।

ढुङ्गा खसिरहने साँघुरो सडकमा जोखिम मोलेर पहिरो पार गर्दै यात्रा गर्नुपर्ने बाध्यता रहेकोमा अहिले नयाँ पहिरोबाट वारपार समेत गर्न नसकिने भएको हुँदा यात्रुहरु घुमाउरोबाटो प्रयोग गरेर पैदल नै गन्तव्य तर्फ लाग्नुपर्ने वाध्यता रहेको श्रीसको भनाइ छ ।

“वर्षापछि पाखोबाट बगेर आउने गेगर सडकमा थुप्रिँदा आवतजावत बन्द हुन्छ,” उहाँले भन्नुभयो “फापरखेतको पहिरो बेनी-दरबाङ सडकको क्यान्सर रोग जस्तो भएको छ।”

उहाँका अनुसार पहिरोबाट खसेको ढुङ्गाले चोट लागेर सवारीसाधनमा क्षति पुग्ने र यात्रु घाइते हुने गरेका छन् ।

करिब दुई सय ५० मिटर सडक पहिरोग्रस्त छ। पाखो र भिरको बीचमा खनिएको सडक मुनि म्याग्दी नदी छ । “सडक माथिको भिरमा गेगरै गेगर छ । खोल्सामा पर्ने सडक माथितर्फ पर्खाल बनाएर पहिरो रोक्ने प्रयास सफल भएको छैन,” श्रीसले भन्नुभयो “म्याग्दी नदीको किनारमा बनाइएको पक्कि पर्खालले कटान रोकिएको छ ।”

उहाँका अनुसार सडकदेखि करिब दुई सय माथि र दुई सय ५० मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको छ ।

पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नतिको काम रोकिएको र यातायात अवरुद्ध हुन नदिन डोजर तैनाथ राखेर पहिरो खस्दाबित्तिकै पन्छाउने गरिएको भए पनि अहिले सुख्खा पहिरो खसिरहेकोले समस्या उत्पन्न भएको पूर्वाधार विकास कार्यालयका प्रमुख गुरुदत्त अधिकारीले बताउनुभयो ।
“फापरखेत, लाम्पाटा र बाङ्गेको पहिरो नियन्त्रणका लागि बायोइञ्जिनियरिङसहितको छुट्टै काम गर्नुपर्छ,” उहाँले भन्नुभयो ।

फापरखेतको पहिरो नियन्त्रण सम्भव नभएकाले वैकल्पिक मार्ग बनाउनुपर्ने स्थानीयले बताएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?