वनले प्रहरी र प्रहरीले वन देखाउदै पक्राउ परेनन् रुख काट्ने जनप्रतिनिधि

फाइल तस्बिर

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 6 mins

नवलपरासी । प्रतापपुर गाउँपालिका-९ स्थित गण्डक नहर क्षेत्रमा रहेका रुख अनाधिकृत रुपमा कटान गर्ने जनप्रतिनिधि विरुद्ध पक्राउ पुर्जी जारी भए पनि पक्राउ परेका छैनन् ।

जिल्ला वनले प्रहरीले पक्राउ गर्ने र प्रहरीले वनले पक्राउ गर्ने भन्दै गर्दा पक्राउ पुर्जी जारी भएको १७ दिन पुरा हुँदा पनि अहिले सम्म पक्राउ परेका छैनन् । एकता सार्वजनिक जग्गा ब्यबस्थापन समितिले गण्डक नहर क्षेत्रमा रहेका रुखहरु अनधिकृत रुपमा कटान गरेको मुद्दामा नवलपरासी जिल्ला अदालत परासीले ३ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

पक्राउ पुर्जी जारी हुनेमा प्रतापपुर गाउँपालिकाका कार्यपालिका सदस्य खेम नारायण चौधरी, वडा नम्बर ९ का वडा सदस्य विरेन्द्र कुमार चौधरी र सोही वडाका दश बहादुर चौधरी रहेका छन् । उनीहरुलाई जिल्ला अदालतले भदौ १३ गते पक्राउ पुर्जी जारी गरेको थियो ।

अदालतले पक्राउ पुर्जी जारी गरेपछि पक्राउ गर्नका लागि सहयोग गरिदिन भन्दै भदौ १५ गते वन कार्यालयले प्रहरीलाई पत्राचार गरेको थियो । वनसंग जोडिएको विषय भएकोले पक्राउ गर्नका लागि वनका कर्मचारीहरुको सकृयता नभएको प्रहरीको भनाई छ । पक्राउ गर्ने कार्यमा सहयोग गरिदिन पत्राचार गर्दा पनि प्रहरीले चासो नदेखाएको जिल्ला वन कार्यालयले बताएको छ ।

पक्राउ पुर्जी जारी हुनेहरु जनप्रतिनिधि भएकै कारण विभिन्न बाहानाबाजी बनाएर पक्राउ नपरेका स्थानीयहरु गुनासो रहेको छ । “ पक्राउ पुर्जी जारी भएकाहरुलाई वनले प्रहरीलाई देखाउने र प्रहरीले वनलाई देखाउने गर्दै अनेकौं बहाना गरी पक्राउ गरीएको छैन ।” प्रतापपुर ०९ निवासी एक स्थानियले भने ।

कटान छपान स्विकृति नलिई रुख कटान भएपछि जिल्ला वन कार्यालयले कारवाहीको प्रकृया अगाडि बढाई जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । अदालतले जिल्ला वनलाई पक्राउ आदेश जारी गरेसंगै डिभिजन वन कार्यालयले सक्रियता देखाउनु पर्नेमा कार्यालयले प्रहरीलाई पत्राचार गरी सहयोग गरिदिन आग्रह गर्नु बाहेक केही पनि गरेको छैन ।

डिभिजन वन कार्यालयका नवलपरासीकाका निमित्त कार्यालय प्रमुख मेघनाथ काफ्लेले पक्राउ गर्न प्रहरीलाई पत्राचार गरिएको बताउनुभयो । काफ्ले भन्नुहुन्छ “पक्राउ पुर्जी जारी भएका छ । अहिले उनीहरुलाई वनले खोजी रहेको छ ।"

दैनिक विभिन्न कार्यक्रमहरुमा भेटिएका जनप्रतिनिधिहरुलाई जिल्ला वनले खोजीरहेको छ । भन्नु आफैमा लाजमर्दो कुरा रहेको स्थानीय प्रतापपुर ९ का स्थानीय काशी हरिजनले बताउनु भयो । 'पक्राउ पुर्जी जारी भएका व्यक्ति जनप्रतिनिधि भएकै कारण वनले पक्राउ गर्ने नै खोजेको छैन । जनतालाई अनेक बाहाना गराइ जनता झुक्याउने काम भएको छ ।' हरिजनले भन्नुभयाे ।

पक्राउ पुर्जी जारी गराएको वनले पक्राउका लागी कुनै चासो देखाएको छैन । पक्राउ कार्यमा खट्नु पर्ने वन कार्यालयका प्रमुख नै प्रहरी तर्फ देखाएर तर्किएका छन् । वन कार्यालयले प्रहरीले पक्राउ गर्ने बताईरहँदा वनले पक्राउ गर्ने सक्रियता देखाए आफुहरु सहयोग गर्न तयार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक काजी कुमार आचार्यले बताउनु भयो । उहाँ भन्नुहुन्छ “ वनको बिषय हो । पक्राउ पुर्जी पनि अदालतले वनलाई नै दिएको हो । वनले हामीलाई सहयोग गर्ने भन्दै पत्र पठायो तर त्यसपछि कुनै सक्रियता देखाएको छैन । वन कार्यालयका अगाडि लागे प्रहरी सहयोग गर्न तयार छ ।”

वनले अनुसन्धान अधिकृत तोकेको बताउदै काफ्लेले वनको मुद्दामा उन्मुक्ति पाउने चान्स नभएको बताउनु भयो । पक्राउमा किन चासो नदेखाएको भन्ने प्रश्नमा उहाँले यसको सम्पुर्ण अधिकार अनुसान्धान अधिकृतलाई रहेको बताउनु भयो । उहाँ भन्नुहुन्छ- 'मान्छे थुनामा गएको भए २५ दिनको हद म्याद हुने थियो । तर पक्राउ नभएको केसमा हद म्याद हुदैन ।'

पक्राउ पुर्जी लिएर वनले पक्राउ गर्नु को साटो अनेकौं बहाना बनाएको देखिन्छ । गण्डक नहर क्षेत्रमा लगाईएका ४९ वटा रुख काटिएको विषय विवादित भए संगै अदालत बाट पक्राउ पुर्जी जारी गर्ने सम्म पुगेको छ । काटिएका रुखहरु वडा नम्बर ९ को कार्यालयको जिम्मामा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?