नागढुंगा‐मुग्लिन सडक असोज ४ गतेदेखि राती चार घण्टा बन्द हुने

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 5 mins

धादिङ । संघिय राजधानीको मुख्य नाका नागढुंगा‐मुग्लिन सडक असोज ४ गतेदेखि राती चार घण्टा बन्द हुने भएको छ । काठमाडौं-नागढुंगा-नौबिसे त्रिभुवन राजपथ र नौबिसे-मलेखु पृथ्वीराजमार्ग सुधार तथा विस्तारको लागि भन्दै उक्त सडक खण्ड बन्द हुन लागेको अहिले नौबिसे-मलेखु खण्डको विभिन्न स्थानमा पहरा काट्ने काम भैरहेको छ । यसरी काम गर्दा सडक अवरुद्ध हुने र यात्रुहरु मार पर्ने भएकाले सडक रातिको समयमा बन्द गर्नु परेको धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जानकारी दिनुभयो ।

धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले पृथ्वीराजमार्गको नौबिसे‐मलेखु सडक खण्डको विस्तार कार्य भइरहेकाले खयरघारी र पोखरेखोला नजिक बाङ्गेमा स्वीकृत डिजाइनअनुसार सडक चौडा गर्दा निर्माणको समयमा सवारी प्रयोगकर्तालाई हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै असोज ४ गतेदेखि २० गतेसम्म राति ११ बजेदेखि बिहान ३ बजेसम्म बन्द गर्ने निर्णय भएको नागढुंगा‐मुग्लिन सडक योजना प्रमुख इश्वरी रिजालले बताउनु भयो ।

सडक बन्द गरेर भीर काट्ने काम भइरहेको अवस्थामा एम्बुलेन्स र सुरक्षा निकायको सवारीबाहेकका सबै यातायातका सेवा बन्द गर्ने निर्णय भएको छ । पूर्वमा थाक्रे गाउँपालिका-१ उक्लेफाँट र पश्चिममा गजुरी गाउँपालिका-५ घाटबेसीमा यातायातका साधन रोकिने छन् ।

त्रिभुवन राजपथको नागढुंगा-नौबिसे खण्डको १२ दशमलव २६० किलोमिटर सडक सुधार तथा विस्तार एक अर्ब ८८ करोड ९८ लाख रुपैयाँ लागतमा दुई वर्षमा सक्ने र पृथ्वी राजमार्गको नौबिसे-मलेखु खण्डको ४३ दशमलव ५४२ किलोमिटर सडक सुधार तथा विस्तार सात अर्ब ८३ करोड ४७ लाख रुपैयाँ लागतमा तीन वर्षमा सक्ने गरी लागत अनुमान गरिएको थियो । तर निर्माण कम्पनी जिअंसु र सगुन कन्स्ट्रक्सनले संयुक्त रूपमा २०७८ साल चैत २४ गते नागढुंगा-नौबिसे खण्डको १२ दशमलव २६० किलोमिटर सडक सुधार तथा विस्तार एक अर्ब ३१ करोड ८४ लाख रुपैयाँ लागतमा दुई वर्षमा सक्ने गरी सम्झौता गरी निर्माण गरिरहेको छ ।

यसैगरी निर्माण कम्पनी शर्मा-लामा कन्स्ट्रक्सन र जेआईसीजीले संयुक्त रूपमा २०७८ साल चैत २४ गते नौबिसे-मलेखु खण्डको ४३ दशमलव ५४२ किलोमिटर सडक सुधार तथा विस्तार पाँच अर्ब ३३ करोड १९ लाख रुपैयाँ लागतमा तीन वर्षमा सक्ने गरी निर्माण कार्य गरिरहेको छ । दुवै खण्ड गरी ५५ दशमलव ८०२ किलोमिटर सडकको लागत ६ अर्ब ६५ करोड अर्थात् प्रतिकिलोमिटर ११ करोड ९१ लाख रुपैयाँ रहेको छ । यस सडकको परामर्शदाताहरू अस्ट्रेलियाको एसएमईसी इन्टरनेसनल प्रालि, पीईसी लिमिटेड र रिपब्लिकन अप कोरिया इन एसोसिएसन, आईटीईसीओ र टीएमएस रहेका छन् । सवारी बन्द गरेर काम गर्दा यात्रुलाई समस्या हुने भएकाले दिउँसो मात्र यात्रा गर्न अनुरोध गरिएको छ ।

निर्माण कार्यस्थल नजिक हुने सक्ने सम्भावित सवारी चापलाई मध्यनजर गरी राजमार्गका उपयुक्त स्थानमा सवारीसाधन रोकी व्यवस्थापन गर्न पनि अनुरोध गरिने प्रमुख जिल्ला अधिकारी गैरेले जानकारी दिनुभयो । उहाले सम्बन्धित आयोजनाका तर्फबाट सबै पक्षलाई सूचित गर्न राष्ट्रिय दैनिक तथा अन्य सञ्चार माध्यमबाट सूचना प्रवाह गर्न र छिमेकी जिल्लासँग पनि समन्वय गरी यात्रुले दुःख नपाउने गरी काम गर्न निर्देशन दिनु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?