एसइईमा उत्कृष्ट हुनेलाई एक/एक लाख, बुहारी विद्यार्थीलाई स्टेशनरी र पोशाक

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 5 mins

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा एसइईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई नगद पुरस्कार वितरण गरेको छ । गाउँपालिकाभरीको सामुदायिक विधालयबाट शैक्षिक सत्र २०७९ मा एसईई दिएकामध्ये उत्कृष्ट अंक ल्याउने एक/एक छात्रछात्रालाई पुरस्कार वितरण गरेकोे हो ।

गाउँपालिकाको सभाहलमा मंगलबार ४१ औं शिक्षा दिवसको अवसर पारी एसईईमा २.८ जिपिए ल्याएकी थर्पुडाँडा मावि सप्तेश्वरकी आस्था राईलाई नगद एक लाखसहित प्रमाणपत्र प्रदान गरिएको छ । थर्पुडाँडा मावि सप्तेश्वरका सुजन कार्की र पृथ्वी मावि बाक्सिलाका आलोक राईले बराबर(३.० जिपिए) ल्याएकाले छात्रले पाउने एक लाखलाई आधाआधा गरी ५०/५० हजार र प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुरेन्द्र खनालले बताए । पुरस्कार थाप्न विधार्थीहरु नै गाउँपालिका आएका थिए ।

गतवर्ष एसईईमा उत्कृष्ट अंक ल्याउने थर्पुडाँडा मावि सप्तेश्वरका रेडस्टार राई(२.९०जिपिए) र पृथ्वी मावि बाक्सिलाका युनिशा राई (२.८५जिपिए)लाई नगद एक÷एक लाख प्रदान गरिएको थियो । गाउँपालिकाले आर्थिक वर्ष २०७९/२०८० देखि नीति तथा कार्यक्रम बनाएर एसईईमा उत्कृष्ट अंक ल्याउने छात्रछात्रालाई नगद पुरस्कार दिंदै आएको छ ।

उत्कृष्ट विधार्थीलाई गाउँपालिका अध्यक्ष समिर राई, उपाध्यक्ष गुरुराज राई, प्रमुख प्रशासकीय अधिकृत बोम बहादुर परियार, शिक्षा शाखा प्रमुख सुरेन्द्र खनालले पुरस्कार वितरण गर्नुभएको थियो ।

विधार्थीहरुलाई सामुदायिक विधालयमा पढ्न अझ अभिप्रेरित गर्ने लक्ष्य र प्रोत्साहन स्वरुप पुरस्कार वितरण गरिएको गाउँपालिका अध्यक्ष राईले बताउनुभयो । यस्तै, माध्यमिक विद्यालयमध्ये नतिजाको आधारमा पृथ्वी मावि बाक्सिलाका प्रधानाध्यापक रण बहादुर राई उत्कृष्ट प्रअ घोषित भएका छन् । उत्कृष्ट प्रअ राईलाई नगद दश हजारसहित दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

बुहारी विद्यार्थीलाई स्टेशनरी र पोशाक

गाउँपालिकाले शैक्षिक सत्र २०८० मा भर्ना भएका दश जना बुहारी विधार्थीमध्ये छ जनालाई आज एक÷एक दर्जन कापी र कलम वितरण गरेको छ ।
पृथ्वी मावि बाक्सिलामा कक्षा ११ मा अध्ययनरत विमला अधिकारी, बुधमाया वस्नेत, शान्तीकला राई, पुष्पा विश्वकर्मा, पृथ्वी मावि बाक्सिलामै कक्षा १२ मा अध्ययनरत लक्ष्मी पौडेल र राष्ट्रिय मावि बासपानीमा कक्षा १० मा अध्ययनरत पुजा राईलाई स्टेशनरी र पोशाक सिलाउनलाई कपडा वितरण गरिएको हो ।

अन्य चारजना बुहारी विधार्थीहरु सम्पर्कमा नआएको र आएपछि उनीहरुलाई पनि सोही अनुसारका सामाग्री र पोशाक दिईनेछ । आर्थिक वर्ष २०७९/२०८० को वार्षिक नीति तथा कार्यक्रममा समावेश गरिएको बुहारी शिक्षा कार्यक्रम अन्तर्गत गाउँपालिकाले अहिले दश जना बुहारीहरुलाई निशुल्क पढाई रहेको छ ।

बुहारी शिक्षा कार्यक्रमले कक्षा–८ पास गरेका बुहारीहरुलाई कक्षा ९ मा भर्ना शुल्क, रजिष्ट्रेशन फारम शुल्क, स्टेशनरी लगायत व्यवस्थापन गरेर एसईई परीक्षासम्म सहयोग गर्नेछ । एसईई उतिर्ण गरेका बुहारीलाई कक्षा–११ र कक्षा–१२ अध्ययन तथा परीक्षामा सामेल हुनलाई सम्पूर्ण व्यवस्थापन गरिदिनेछ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?