कृषि प्राविधिकको परीक्षामा पास गराइदिने भन्दै रकम असुलेको खुलासा

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 4 mins

कालीकोट । कृषि प्राविधिक पढ्ने विद्यार्थीहरुको परीक्षामा विद्यार्थीलाई पास गराइदिने भन्दै सुपरिवेक्षकले पैसा असुली गरेको खुलासा भएको छ ।

कालीकोटको रास्कोट नगरपालिका वडा नम्वर–८ स्थिति जनजाग्रीति माध्यमिक विद्यालयको परीक्षा केन्द्रमा सिटिइभिटी कार्यालयबाटै सुपरिवेक्षणका लागि खटिएका सुपरिवेक्षक लोकेन्द्र बहादुर मल्लले विद्यार्थीबाटै पैसा असुल गरेको खुलासा भएको हो ।

परीक्षामा बडिमालिका माध्यमिक विद्यालय रास्कोटबाट १७ जना, ज्ञानोदय माध्यामिक विद्यालय राम्नाकोटबाट ४ जना र जनप्रभात माध्यामिक विद्यालय लालुबाट १९ जना गरी ४० जना विद्यार्थी सहभागी थिए ।

उनीहरु सिटिइभिटी अन्तर्गत कोही कृषि बालीविज्ञान र कोही भेटेरेनरी जेटिओ पढ्ने विद्यार्थीहरु हुन् । सुपरिवेक्षक मल्लले प्रत्येक परीक्षार्थीहरुबाट एक हजारका दरले रुपैयाँ उठाएको, परीक्षामा चिट चोराएर भएपनि पास गराइदिने प्रलोभन अनुसार पैसा उठाएको जनजाग्रीति माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष संजय बरालले जानकारी दिनुभएको छ ।

सुपेरिवेक्षक मल्ले ४० जना विद्यार्थी मध्येबाट वडिमालिका माध्यमिक विद्यालयका १५ जना, जनप्रभात माध्यमिक विद्यालयका १५ जना र ज्ञानोदय मध्यमिक विद्यालयका ४ जना विद्यार्थी गरी जम्मा ३४ जना विद्यार्थीबाट एक एक हजारका दरले ३४ हजार रुपैया असुल गरेको कार्यवाहक अध्यक्ष बरालले खुलासा गर्नुभयो ।

उहाँका अनुसार एकएक हजार रुपैया नदिएका ६ जना विद्यार्थीहरुलाई सुपेरिवेक्षक मल्लले चर्को दबाव दिई फेल गराईने धम्की दिन थालेपछि घटनाको रहस्य विद्यार्थीबाटै सार्वजनिक भएको हो ।

घटनापछि विद्यालयका कार्यवाहक अध्यक्ष बराल सहितको टिमले इलाका प्रहरी कार्यालय रास्कोटमा छलफलका लागि पुगेपछि सुपेरिवेक्षक मल्लले १६ हजार रुपैया विद्यार्थीको फिर्ता गरेका छन् ।

सुपेरिवेक्षक मल्लले वाँकी पैसा असोज १० गते सम्म फिर्ता गर्ने लिखित प्रतिवद्धता जनाएको कार्यवाहक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बरालले जानकारी गराउनुभयो ।

यस घटनाकोबारे इलाका प्रहरी कार्यालय रास्कोटका सई दिर्घवहादुर शाहीलाई बुझ्दा विद्यालयका शिक्षकहरु नै आफैँ बसेर छलफल गरेको र आफैँ समझदारी गरेको जानकारी गराउनु भयो । उहाँले इलाका प्रहरी कार्यालयमा कुनै लिखित कागज नभएको समेत स्पष्ट पार्नुभयो । घटनाका विषयमा सुपेरिवेक्षक मल्ललाई हिमालय टाइम्सले बुझ्दा घटना त्यस्तो नभएको भन्दै आलटाल गर्नुभएको छ ।

परीक्षाकेन्द्राका केन्द्राध्यक्ष नगराज उपाध्यायलाई घटनाबारे बुझ्दा घटनाका विषयमा सुरुमा आफूलाई केही थाहा नभएको र पछि विवाद हुँदा थाहा पाएको बताउनुभएको छ । कृषि प्राविधिक तर्फको परिक्षा गत भाद्र २२ गते देखि असोज १ गते सम्म सञ्चालन भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?