सरकार अराजकता, हत्या र हिंसा उन्मुख भयो : अर्जुननरसिंह केसी

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले शिक्षकहरुको आन्दोलनलाई सरकारले सहमति र सम्झौता, वार्ता र संवादद्वारा निस्कर्ष निकाल्नुपर्ने बताउनुभएको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रिय कार्यसमितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले चार लाख शिक्षकलाई सडकमा राख्नु नहुने बताउनु भयो ।

उहाँले राष्ट्रिय रुपमा अहिले विभिन्न खालका जटिलता देखिएको भन्दै अन्तर जातिय भाइचारामा आएको द्वन्द्व,धर्मबीचको द्वन्द्व र एकले अर्कोलाई मार्छु भन्दासमेत सरकार मौन रहने स्थिति देखिएको बताउनु भयो । उहाँले देशमा अराजकता बढेकाले त्यसबाट रोक्न काँग्रेसले भुमिका खेल्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले जुन खालको राष्ट्रिय परिस्थिति छ, शिक्षक आन्दोलन जसरी चलिरहेको छ । चार लाख शिक्षकलाई सडकमा राखेर सरकारले यसलाई सहमति र सम्झौता, वार्ता र संवादद्वारा निस्कर्ष निकाल्नु पर्छ की भन्ने हाम्रो दृष्टिकोण हो । त्यसबारेमा छलफल चलिरहेको छ । राष्ट्रिय रुपमा नै जुन जटिलता खडा भइरहेको छ, अन्तर जातिय भाइचारामा आएको द्वन्द्व,धर्मबीचको द्वन्द्व र एकले अर्को जातलाई काट्छु भनेर खुकुरी देखाउँदा सरकार मौन रहने स्थिति छ, यसले जटिलता थपेको छ । हाम्रो गौरव विविधता बीचको एकता नै थियो । त्यसलाई खलबल गर्नेकुरा भइरहेको छ । मूल्यवृद्धि र युवा पलायन अर्को चुनौति छ । पार्टीले सोच्नुपर्ने भनेको अराजकता बढेको छ । त्यसलाई हुन नदिनतर्फ सोच्नुपर्छ । यो देश जसरी अराजकता, हत्या र हिंसाउन्मुख छ यो जटिल परिस्थिति छ, काँग्रेसले निकास दिनुपर्छ ।’

नेता केसीले सरकार अराजकता, हत्या र हिंसाउन्मुख भएको भन्दै यस परिस्थितिलाई रोक्न काँग्रेसले भुमिका खेल्नुपर्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?