‘पोल्ट्री व्यवसाय र कृषि उत्पादनलाई संरक्षण दिनुपर्छ’

हिमालय टाइम्स
Read Time = 6 mins

चितवन । चितवनको भरतपुर महानगरपालिका-८ मा सञ्चालन भइरहेको उत्तम पोल्ट्री फर्मले कुखुरा, अण्डा र चल्ला उत्पादनमा व्यावसायिक सफलता हासिल गरिरहेको छ । शरण पन्तले सञ्चालनमा ल्याएको फर्ममा साजनराज पाण्डेले प्रबन्धक तथा व्यवस्थापन कार्यको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । फर्ममा व्यावसायिक रूपमा कुखुराका अण्डा र चल्ला उत्पादन तथा बिक्रीवितरण हुँदै आएको छ । अहिले फर्ममा हप्तामा करिब ३२ हजार चल्ला उत्पादन भइरहेको छ । करिब १९ जनाले प्रत्यक्ष रूपमा फर्ममा रोजगारीसमेत पाइरहेका छन् । अनौपचारिक रूपमा २०५९ सालदेखि नै व्यवसाय सुरु गरे पनि २०६६ सालबाट दर्ता गरेरै व्यवसाय अघि बढाएको साजनराज पाण्डले बताउनुभयो । साजनराज पाण्डे बाग्लुङ नगरपालिका-४ का स्थानीय बासिन्दा हुनुहुन्छ । स्वदेशमै केही गर्नुपर्छ भन्ने मान्यता बोक्नुभएका पाण्डे स्थानीय युवाहरूका लागि प्रेरणादायी व्यक्तिका रूपमा पनि परिचित हुनुहुन्छ । उहाँ युवाहरूलाई कृषि व्यवसाय र मासुजन्य व्यवसायबाट राम्रो मुनाफा लिन सकिने र विदेशमा खर्चिने श्रम देशमा नै खर्चेर आत्मनिर्भर हुनुपर्नेमा जोड दिँदै आइरहनुभएका सफल व्यवसायी हुनुहुन्छ ।

करिब चार लाख लगानीबाट सुरु गरेको फर्ममा अहिले वार्षिक आठ करोडभन्दा बढीको आर्थिक कारोबार हुँदै आएको र अहिले फर्मको अचल सम्पत्तिसमेत जोड्ने हो भने १३ करोड बराबरको चल–अचल पुँजी पुगेको उहाँले जानकारी गराउनुभयो । उत्तम पोल्ट्री फर्म हाल देशकै सबैभन्दा धेरै गुणस्तरीय चल्ला उत्पादन गर्ने फर्ममध्ये एक बनेको छ । चितवनका विभिन्न क्षेत्र तथा काठमाडौं, हेटौंडा, बागलुङ, इटहरी, धनगढीलगायतका ठाउँमा फर्मको चल्ला बिक्रीवितरण भइरहेको छ ।

नेपाल मासु र अण्डामा आत्मनिर्भर छ । उत्पादन र खपतका हिसाबले कुखुरा पालन व्यवसाय आफैंमा सक्षम र सफल व्यवसायमा समेत पर्दछ । यस क्षेत्रले देशकै मासु र अण्डाको आवश्यकतामात्र पूरा गरेको छैन, रोजगारी, व्यवसाय, कृषि उद्यमशीलताको समेत विकास गरिरहेको छ । विश्वमै मासु र अण्डा मानिसलाई नभइनहुने प्रोटिन तत्वको महत्वपूर्ण स्रोत पनि हो । त्यसैले यो क्षेत्र देशकै आर्थिक उन्नति र कृषि औद्योगिक विकासको निर्विकल्प व्यवसाय बन्न सक्ने पाण्डेको भनाइ छ । तर, केही वर्षयताको आर्थिक मन्दीले यस क्षेत्रलाई पनि प्रभाव पारेको छ । कुखुराको दाना उत्पादनका लागि आवश्यक मकै, भटमासलगायतका कच्चा पदार्थहरूको मूल्य वृद्धि तथा आयातमा १५ देखि ३० प्रतिशतसम्मको भन्सार कर तिर्नुपर्ने अवस्था छ । बैंकको व्याज वृद्धि भइरहेको छ । यसले उत्पादनको लागत खर्च बढ्न गएर उत्पादित चल्ला तथा अण्डाको मूल्यवृद्धि गर्नुपर्ने बाध्यताले किसान तथा उपभोक्तालाई मूल्यको भार बढ्न गएको र बिक्रीवितरणसमेत कम भएको साथै भारतबाट अवैध रूपमा भित्रिने चल्ला, अण्डाका कारण पनि व्यवसायीहरू थप मारमा परिरहेको गुनासो पाण्डेको छ । नेपालमा कृषिबाट उत्पादन हुनसक्ने मकै, भटमासलगायतका कच्चा पदार्थसमेत भारतबाट ल्याउनुपर्ने बाध्यता सिर्जना भएकाले सरकारले कृषि उत्पादनलाई वृद्धि गर्नुपर्ने उहाँ गुनासो गर्नुहुन्छ । उहाँले भन्नुभयो, ‘सरकारले कृषि उपजलाई आयातमा निरुत्साहित गर्ने र कच्चा पदार्थ आयातमा भन्सार र करको दर घटाउने हो भने हामीजस्तो पोल्ट्री व्यवसायीलाई राहत मिल्नेछ ।’

सरकारले पोल्ट्री व्यवसाय र कृषि उत्पादनलाई संरक्षण दिनुपर्ने उहाँको धारणा छ । सरकारले संरक्षण र उत्पादनमा सहजीकरण गर्ने हो भने नेपालमा पोल्ट्री व्यवसायले औद्योगिक विकासमा ठूलो फड्को मार्ने र देशको अर्थतन्त्र बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने भएकाले यसतर्फ ध्यान दिन उहाँ आग्रह गर्नुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?