नेपालको परराष्ट्र नीतिमा साझा सहमति गरौँ : माधवकुमार नेपाल

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालको परराष्ट्र नीतिमा साझा सहमति बनाएर राष्ट्रिय प्रतिवद्धता व्यक्त गर्ने अवस्था बनाउनुपर्ने बताउनुभएको छ ।

शुक्रवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले समितिबाट यसअघि नै परराष्ट्र नीतिको मस्यौदा पास भइसकेको र अहिले आवश्यक भए पुनः छलफल गरी सबै दलबीच साझा सहमति बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले दलहरुबीच देशभित्र आन्तरिक द्वन्द्व भएपनि परराष्ट्र नीतिमा भने एक हुनुपर्ने बताउनु भयो । उहाँले राष्ट्रिय सुरक्षा नीतिको बारेमा पनि साझा सहमति बनाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले दुई वटा कुराहरु दस्ताबेजहरु पास गरेका थियौँ । एउटा परराष्ट्र नीतिको बारेमा थियो । त्यसलाई पुनः हेर्नुपर्ने छ भने हेरौँ । त्यसको कार्यान्वयनमा जोड दिऔँ । सबै पार्टीको बीचमा साझा सहमति बनाएर राष्ट्रिय हाम्रो प्रतिवद्धता व्यक्त गर्ने अवस्था बनाउनु पर्छ । किनभने भारतमा भित्र आन्तरिक द्वन्द्व हुन्छ तर परराष्ट्र नीतिमा एक हुन्छन् । त्यस्तै स्थिति नेपालमा सिर्जना गर्नुपर्छ । त्यस्तै राष्ट्रिय सुरक्षा नीतिको बारेमा पनि हामीले अघि बढाउनुपर्छ । म प्रधानमन्त्री भएको बेलामा तयार भएको थियो । त्यसमा पनि राष्ट्रिय सहमति बनाऔं ।’

समितिको बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधीले परराष्ट्र नीति साझा सहमति हुन आवश्यक रहेको बताउनु भयो । उहाँले भारत, चीन, अमेरिका, बेलायतलगायतका देशहरुबाट आइरहेको डेलिगेशनमा अपडेट हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘परराष्ट्र नीति सबैभन्दा सेन्सेटिभ विषय हो । यसमा धेरै कुरामा विगतमा छलफल भएको छ । सरकारी तहबाट, दलहरुको आफ्नो धारणा हुनुपर्छ । चीन र भारतबाट विभिन्न तहमा निरन्तर डेलिगेशन आइरहेको छ । अमेरिका, बेलायत, युएनबाट पनि नेपालसँग राम्रो सम्बन्ध भएका र सरोकार भएका मुलुकहरुबाट प्रतिनिधित्व भइरहेको छ । हामी पनि समिति पनि यो विषयमा अपडेट हुनुपर्छ । यो समितिमा नियमित छलफल हुनुपर्छ ।’

समितिको बैठकमा बोल्दै नेकपा एमालेका सांसद दामोदर पौडेल बैरागीले परराष्ट्र नीतिको बारेमा सबै प्रष्ट हुनुपर्ने बताउनु भयो । उहाँले युक्रेन-रुस युद्धताका नेपालले लिएको निर्णयलाई लिएर विभिन्न आशंका उब्जिएको भन्दै त्यसको लागि पनि साझा सहमतिमा परराष्ट्र नीति बनाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी सबै हाम्रो परराष्ट्र नीतिको बारेमा प्रष्ट हुन जरुरी छ । किनभने हामीलाई हिजोदेखि भन्दै आएको, परराष्ट्र नीतिमा खलल आएको हो की भन्ने कुरामा रुस युक्रेनमा भनेको कुराबाट नेपाल तटस्थ रहेन की के हो भन्ने आशंका छ । नेपालले त्यसबाट कि फाइदा कि व्यापार गरेको छ भन्ने आम बुझाइ छ । नेपालमा भएका पछिल्लो घटना जुन अवैधानिक रुपमा भित्रिएको सुनलाई पनि त्यो घटनासँग जोडेर हेरेको पाइन्छ । बनिरहेका विमानस्थलहरु, जस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उडानमा विवादित कुरा आएका छन्, बिआरआई, एमसीसीसँग जोडिएको छ । यसलाई विशुद्ध नजोडि अन्तर्राष्ट्रिय रुट बनाउन आग्रह गर्दछु ।’

नेकपा एमाले विशुद्ध बनाइ अन्तर्राष्ट्रिय रुट सञ्चालनका लागि पहल गर्न उहाँले आग्रह गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?