तिला गाउँपालिकाको विकास निर्माणमा जुटेका छौँ : गोरीकला बुढा

‘जनताले महसुस हुने गरी काम गर्छौँ’

विजय रावत जुम्ला, संवाददाता
Read Time = 12 mins

जुम्लाको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढा १५ वर्षको कलिलो उमेरमा १० वर्षे जनयुद्धमा होमिनुभयो । २०४३ सालमा तिला-८ स्थित ग्रामीण गाउँ ढिपुमा जन्मनुभएकी बुढा २०५७ सालमा पार्टीमा भूमिगत हुनुभयो । उहाँले जनमुक्ति सेनाको छापामार हुँदै कम्पनी कमाण्डरको नेतृत्वसमेत गरिसक्नुभएको छ । दशवर्षे जनयुद्धको लडाइँबाट राजनीतिमा प्रवेश गर्नुभएकी बुढा अहिले जुम्लाको तिला गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भएको करिब डेढ वर्ष पूरा भइसकेको छ । तिलाको विकास सम्भावना, योजना र चुनौतीबारे गाउँपालिका उपाध्यक्ष गोरीकला बुढासँग जुम्ला हिटा संवाददाता विजय रावतले गरेको कुराकानीको सम्पादित अंश :

तपाईं गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भएको करिब डेढ वर्ष पूरा भएको छ, नागरिकले महसुस हुने गरी गरेका कामहरू बुँदागत रूपमा बताइदिनुहोस् न ?
तपाईंले मलाई आफ्ना धारणा र कार्यसम्पादनका विषयमा तपाईंको लोकप्रिय पत्रिका हिमालय टाइम्समा राख्न दिनुभएकोमा हृदयदेखि धन्यवाद दिन्छु । गएको वैशाखमा स्थानीय तहको निर्वाचन भई निर्वाचित भएको करिब डेढ वर्ष पार भएको छ । तिला गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भएदेखि आजका मितिसम्म १७ महिनाको बीचमा केही नमुना काम पनि भएका छन् । जो तिलाका नागरिकले महसुस गरेका छन् । पालिकाबाट सञ्चालन भएका योजना कार्यान्वयनमा अरू स्थानीय तहभन्दा तिला अगाडि देखिएको छ । पछिल्लो समयमा तिलाले संरचनागत विकासमा फड्को मारेको छ । गाउँपालिकाले नागरिकको सन्तुष्टि तथा गुनासो सुनुवाइ गर्ने उद्देश्यका साथ सार्वजनिक सुनुवाइ कार्यक्रममार्फत् गाउँपालिकाले वर्षभरि गरिएका योजना तथा प्रदान गरिएका सेवाको पारदर्शिता सुनिश्चित गर्नका लागि गाउँपालिकाले प्रत्येक वर्ष सार्वजनिक सुनुवाइ गर्ने नीति लिएको छ । संघीय विशेष अनुदान र समपूरक अनुदानबाट गाउँपालिकाद्वारा कार्यान्वयनमा आएका गौरवका योजनामध्ये पालिकाको प्रशासकीय भवन, तलिचौरदेखि लासीसम्म तटबन्धन निर्माण, लाटिका थानदेखि लर्मीगाउँसम्म सडक निर्माण, कुडारी बजारदेखि डुंगीसम्म सडक स्तरोन्नति, राँसादेखि नदैगुफा सडक निर्माण, घोडेसिम खानेपानी आयोजना निर्माण, घोडाज्युलादेखि गाडापारि सिँचाइ कुलो निर्माण, १० शश्या अस्पताल निर्माणाधीन अवस्था, मानेचौर माविको पक्की भवन निर्माण, सरस्वती मावि, सेतिबाडा मावि, ज्योति मावि, देउराली मावि र देविदेउराली आविको पक्की भवन निर्माण भएका छन् ।

विकास निर्माण र सेवा प्रवाहलाई कसरी अगाडि बढाइरहनुभएको छ ?
गाउँपालिकाले योजनाबद्ध ढंगले विकास निर्माण र सेवा प्रवाहको कार्य गर्दै आएको छ । गाउँसभाले स्वीकृत गरेको वार्षिक विकास योजनाका कार्यहरू गर्दै आएका छौँ । नयाँ योजनाहरूको तर्जुमा र विकासका लागि केन्द्रीय निकायले लागू गरेका ऐन नियम, कार्यविधि तथा स्थानीय विधि र पद्धतिलाई पालना गर्दै तोकिएका शर्तसमेतको अभ्यासबाट गाउँपालिकालाई सभ्य र समृद्ध बनाउने गन्तव्यतर्फ तिला अगाडि बढिरहेको छ । सेवा प्रवाहलाई सहज गर्नका लागि म आफैं गाउँ केन्द्रित भइरहेको छु । जनताका समस्या र मागअनुसार गाउँ केन्द्रित सेवालाई विशेष प्राथमिकतामा राखेर यो वर्षको नीति तथा कार्यक्रममार्फत् गाउँ-गाउँमा सेवा प्रवाह गरिने भएको छ ।

तिला गाउँपालिकामा सबैभन्दा ठूलो चुनौती यातायातकै छ । अहिले पनि गाउँपालिकाका चार-पाँचवटा वडा सडक सञ्जालको पहुँचमा पुगेकै छैनन् । दिनभरि चामलको भारी बोकेर घर पुर्‍याई खानुपर्ने अवस्था अहिले पनि छ । बिजुलीको राष्ट्रिय प्रसारण प्रत्येक वडामा पुग्न सकेको छैन । गुणस्तरीय शिक्षा आर्जन गर्नका लागि दरबन्दीअनुसार शिक्षक पदपूर्ति हुन सकेको छैन । खानेपानी, स्वास्थ्य, सिँचाइकोे अवस्था दयनीय नै छ । मूलभूत रूपमा भौगोलिक विकटताले नै हामीलाई सताइरहेको छ ।

तिला गाउँपालिकामा मुख्य चुनौती के-के छन् ?
तिला गाउँपालिकामा सबैभन्दा ठूलो चुनौती त यातायातकै छ । अहिले पनि गाउँपालिकाका चार-पाँचवटा वडा सडक सञ्जालको पहुँचमा पुगेकै छैनन् । अहिले पनि दिनभरि चामलको भारी बोकेर घर पुर्‍याई खानुपर्ने अवस्था छ । बिजुलीको राष्ट्रिय प्रसारण प्रत्येक वडामा पुग्न सकेको छैन । गुणस्तरीय शिक्षा आर्जन गर्नका लागि दरबन्दीअनुसार शिक्षक पदपूर्ति हुन सकेको छैन । खानेपानी, स्वास्थ्य, सिँचाइकोे अवस्था दयनीय नै छ । मूलभूत रूपमा भौगोलिक विकटताले नै हामीलाई सताइरहेको छ ।

बजेट व्यवस्थापन गरिदिन भनी प्रदेश र संघीय सरकारका मन्त्रालयमा पुग्नुभएको छ ?
तिला गाउँपालिकाको उपाध्यक्ष भइसकेपछि समग्र पालिकाको विकास गर्नका लागि मलगायत पालिका अध्यक्ष र वडाध्यक्षको नेतृत्वमा प्रदेशका मुख्यमन्त्री र संघीय सरकार मन्त्रीसँग अपुग बजेटको माग पनि गरेका छौँ । तर, भनेअनुसारको खासै बजेट आउने गरेको छैन । पालिकामा प्राप्त भएको सीमित बजेटले हाम्रा जनताका आवश्यकता पूरा नहुने भएकाले संघ, प्रदेश धाउनुपर्ने अवस्था छ ।

जनप्रतिनिधिको हैसियतले कर्मचारीसँग कसरी सहकार्य गरिरहनुभएको छ ?
गाउँपालिकाको भौतिक स्रोत, मानवीय साधन र प्रविधिलाई समेत संयोजन गर्दै काम गरिरहेका छौँ । नागरिक सन्तुष्टिलाई केन्द्रमा राखेर संयुक्त रूपमा काम गरिरहेका छौँ । तिलाको कार्यसम्पादनलाई अझ प्रभावकारी तुल्याउन कर्मचारीहरूसँग कार्यसम्पादन सम्झौता गरी सम्पादित कार्यहरूको मासिक प्रतिवेदन लिने, सम्पादित कार्यहरूको निरन्तर मूल्यांकन गरी देखिएका कमी-कमजोरी सुधार गर्न कार्यपालिकाको बैठकमार्फत् निर्णय गरी अगाडि बढ्ने सोच बनाएको छु ।

महिलालाई आत्मनिर्भर बनाउन कस्तो रणनीति लिनुभएको छ ?
नीति कार्यक्रम र बजेटमा नै विशेषगरी महिलालाई आत्मनिर्भरमा जोड्नका लागि विभिन्न कार्यक्रम समावेश गरिएका छन् । महिलासँग उपाध्यक्ष कार्यक्रममार्फत् ३० लाख बजेट विनियोजित भएको छ । उक्त कार्यक्रमबाट सीपमूलक तालिम, गर्भवती महिलाको स्वास्थ्य चाँज, पालिकाका सबै वडामा प्रजनन् स्वास्थ्यसम्बन्धी शिविर सञ्चालन, महिलालाई रैथाने बाली उत्पादन र संरक्षणसम्बन्धी तालिम प्रदान गरिने भएको छ । सामाजिक सेवा क्षेत्रअन्तर्गत सोही बजेटबाट बालविवाह अन्त्य गर्नका लागि सडक नाटक, छाउपडी प्रथालाई हटाउनका लागि अन्तरक्रिया, विद्यालयगत रूपमा जनचेतना, वतृत्वकला प्रतियोगिता जस्ता अन्य परिमाणमुखी गतिविधि गरिने भएको छ । लक्षित वर्गअन्तर्गत पर्ने ज्येष्ठ नागरिक र एकल महिलालाई राहत बोकेर गत वर्ष गाउँ-गाउँ पुगेका थियौँ । पालिकाभित्रका २०८ जना लक्षित वर्गलाई कम्बल वितरण गरिएको थियो ।

तपाईं न्यायिक समितिको संयोजकसमेत हो । कसरी मेलमिलापको काम गर्नुभएको छ ?
तपाईंले यो प्रश्न सोध्नुभएकोमा धन्यवाद । स्थानीय तहमा न्यायिक सम्पादनको काम धेरै जटिल छ । सरकारले स्थानीय तहमा संयोजकको जिम्मेवारी तोकेरमात्र हुँदैन, कानुनी परामर्शको मेलमिलापकर्ताको व्यवस्थापन गरिदिनुपर्छ । गाउँघरमा हुने सानातिना झगडालाई न्यायिक समितिमार्फत् मिलाउने काम गरेका छौँ । अन्य जटिल र ठूला घटना आएको खण्डमा सम्बन्धित निकायमा पठाउने काम गरेका छौँ ।

अन्त्यमा ?
तिला गाउँपालिकालाई नमुना बनाउनका लागि सबै पक्षको सहयोगको खाँचो छ । विशेषगरी कर्मचारी र जनप्रतिनिधिबीच सहकार्य र समन्वयको भूमिका अति आवश्यक रहेको छ । तिलाका राजनीतिक दलको महत्वपूर्ण भूमिका रहने भएकाले सबै निकायसँग सहकार्य र समन्वयबाट काम गर्न तिला गाउँपालिका तयार छ । विकासे योजना र सेवा प्रवाहबारे केही सुझाव वा गुनासो भए सम्पर्क गर्न सबैलाई अनुरोध छ । सबै सरोकारवालाहरूको सहयोगको अपेक्षा तिला गाउँपालिकाले राखेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?