सरकार आफैँ सुन तस्करी गरिरहेको छ : अध्यक्ष ओली

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफैँले सुन तस्करी गरिरहेको आरोप लगाउनुभएको छ ।

स्वर्ण युगको झल्को दिनेगरी सरकार आफैँ सुन तस्करीमा संलग्न रहेको ओलीको जिकिर थियो ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सुन तस्करी प्रकरण चलाउनेहरु आफैँले स्वर्ण युग आयो भनेर भनिरहेको भन्दै सरकारको कटाक्ष पनि गर्नुभयो । चिल आयो, चिल आयो भनेर देखाउने अनि कुखुरा आफू बोकेर कुद्ने शैली सरकारले अपनाएको ओलीले बताउनु भयो । उहाँले देशको अवस्था नाजुक भएको उल्लेख गर्दै यस्तो अवस्थामा परिवर्तन ल्याउनैपर्ने बताउनु भयो ।

ओलीले भन्नुभयो, ‘प्रश्न के हो भने अगाडि बढने हो भने देशलाई शिरमा राख्न सक्नुपर्दछ । सबभन्दा माथि देशलाई राख्न सक्नुपर्दछ । आफ्नो स्वार्थलाई शिरमा राख्यो भने, आफ्नो स्वार्थलाई केन्द्र भागमा राख्यो भने देशलाई सफल बनाउन सकिँदैन । देशलाई सफल बनाउनका निम्ति नातागोता, परिवारवाद भन्नुहुँदैन । देशलाई सफल बनाउने हो भने यस्ता अहिले तस्करी काण्डहरु चलेका छन् नि । यस्ता काण्डहरु चलाउनु हुँदैन । म काण्डहरु चलेका छन् भनिराखेको छैन, चलाएका भनिराख्या छु । यस्ता काण्डहरु चलाउनु हुँदैन । यस्ता काण्ड चलाएर अनि देश विकास हुन्छ ? चिल आयो, चिल आयो भन्ने अनि कुखुरा यतातिर बोकेर कुँदने ? मैले अघि नै भनेको छु–सरकारको आलोचना खास गर्न चाहन्न । तर अवस्था नाजुक छ । धेरै नाजुक छ । र, धेरै नेपालीले यस नाजुक स्थितिबाट सोच्न पर्दछ । यसस्थितिमा परिवर्तन ल्याउनै पर्दछ । किन, देशको मूल्यमा कुनै व्यक्तिका स्वार्थ आदिइत्यादि छ भन्न सकिँदैन । सुन फल्छ भनेर यहाँ काठमाडौं आएको, यहाँत नुन पनि पाईदो रहेनछ भन्ने कसैले भनेका छन । सुन त यहाँ ब्रेक सुमा सुनैसुन । वेपमा सुनैसुन । सिग्रेट खान खोज्यो सुनैसुन । पानी चलाउने मोटर ल्यायो, सुनैसुन । जे छोयो, त्यो सुनैसुन । स्वर्ण युग आयो भन्दैछ सरकार । यति सुन आएको छ । फेरी स्वर्ण युग नआए कहिले आउँछ त ? भन्दैछ सरकार । नुन पनि पाइँदैन भन्दा सरकारको बिरोध गरेजस्तो हुँदैन । स्वर्ण युग नै आएको छ । उहिले हामी गोल्डेन टच भन्ने पढथ्यौं । त्यस्तै भएको छ । केरुङ भन्सारबाट आउने ट्रकहरुमा सुन बोकिन्छ । पहिलेपहिले रातो चन्दन उत्तर लगिन्थ्यो, अहिले उत्तरतिरबाट सुन ओरालो झारिन्छ । यो भईराखेको छ ।’

अध्यक्ष ओलीले देशको मूल्यमा कुनैपनि व्यक्तिको स्वार्थ पूरा गर्न नसकिने पनि बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?