स्वदेशी कपडाको मल्टी ब्राण्ड स्टोर

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाली कपडा उत्पादन गर्ने पाँच उद्योगीले सामूहिक लगानीमा ‘मल्टी ब्राण्ड स्टोर’ सञ्चालनमा ल्याएका छन् । शुक्रबारदेखि काठमाडौंको नयाँ वानेश्वरमा सञ्चालनमा आएको मल्टी ब्राण्ड स्टोरमा याक एण्ड नेक, फ्रिडम, केके, ट्याग, भर्जिन्स र गोफी गरी छ प्रकारका स्वदेशी ब्राण्डका कपडा पाइन्छ । स्टोरमा सबै उमेर समूहका कपडा पाइने स्टोर सञ्चालकले जनाएको छ । स्टोरमा सर्ट, पाइन्ट, टिसर्ट, वान पिस, ज्याकेटलगायतका जाडो र गर्मी दुवैलाई हुने कपडा पाइन्छ । स्वदेशी उद्योगबाट उत्पादन भएका कपडा उद्योगबाट सिधै उपभोक्तासम्म पुर्‍याउने उद्देश्यले मल्टीब्राण्ड स्टोर सञ्चालनमा ल्याइएको हो ।

मल्टी ब्राण्ड कपडा स्टोरका सञ्चालक तथा तयारी पोशाक व्यवसायी राजकुमार कार्कीले स्वदेशी उत्पादनको प्रयोग र राष्ट्र निर्माणमा सहयोग गर्ने उद्देश्यले तयारी पोशाक व्यवसायीले संयुक्त लगानीमा स्टोर सञ्चालनमा ल्याएको बताउनुभयो । पछिल्लो समय नेपाली उत्पादनका वस्तुभन्दा पनि विदेशी वस्तुको महत्व बढ्दै गएकाले अब विदेशीभन्दा पनि स्वदेशी ब्राण्डलाई प्राथमिकता दिन आवश्यक रहेको उहाँले बताउनुभयो । कार्कीका अनुसार करिब २० लाखभन्दा बढी लगानीमा सञ्चालनमा आएका स्टोर कपडाहरू ३५ प्रतिशत सस्तोमा पाउन सकिनेछ ।

बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवनकुमार गोल्यानले गुणस्तरीय नेपाली ब्राण्डका कपडा एउटै स्टोरमा सस्तोमा दिने प्रयासले मल्टीब्राण्ड कपडा स्टोर सञ्चालनमा आएको बताउनुभयो । जसबाट भविष्यमा स्वदेशी ब्राण्डका कपडा निर्यात र मुलुकभित्रै खपत गरी मुलुकको अर्थतन्त्रमा थप सहयोग पुग्ने उहाँको भनाइ थियो । गोल्यानका अनुसार नेपालमा वार्षिक तीन खर्बको कपडाको माग रहेको छ ।

नेपालमा गार्मेन्ट उद्योगले सबैभन्दा बढी रोजगारी दिएको र अर्थतन्त्रमा सबैभन्दा बढी भ्यालु एडिसनसमेत गरेकाले स्वदेशी यसलाई सरकारले पनि प्रोत्साहित गर्नुपर्ने उहाँले बताउनुभयो । मल्टीब्राण्ड कपडा स्टोर सञ्चालक मुना थापाले स्टोरमा नेपालीहरूको स्ट्रक्चर अनुसन्धान गरेर नेपालीहरूलाई सुहाउने गरी डिजाइन गरेर बनाएका कपडा पाइने बताउनुभयो । तयारी पोशाक संघका अध्यक्ष किशोर नेपालले उद्योगबाट उत्पादित कपडा उद्योगबाट सिधै उपभोक्तासम्म पुर्‍याउने उद्देश्यले मल्टीब्राण्ड कपडा पसल सञ्चालनमा ल्याएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?