ओरियन्टल होटल्सको लाभांश दाबी गर्ने आजै अन्तिम दिन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ओरियन्टल होटल्सले लाभांश प्रस्तावसहित असोज २५ गते साधारण सभा बोलाएको छ । सभाले हाल कायम चुक्ता पुँजीको ५.२६३२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । जसअनुसार यस कम्पनीले ५ करोड ९३ लाख ७३ हजार १८० रुपैयाँ ९३ पैसा बराबरको नगद लाभांश वितरण गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि ओरियन्टलले असोज १२ गते शुक्रबारदेखि असोज २५ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यसर्थ, असोज ११ गते बिहीबारसम्म कायम सेयरधनीले मात्र प्रस्तावित लाभांश र सभामा भाग लिन पाउनेछन् ।

तर भोली बिहीबार असोज ११ गते इन्द्र जात्रा परेको छ । यस पर्वमा काठमाडौं उपत्यकामा सार्वजनिक विदा हुन्छ । उपत्यकामा विदा हुँदा नेप्से पनि बन्द हुन्छ । यसआधारमा लाभांश हात पार्न आज बुधबार असोज १० गतेभित्रै सेयरधनी बनिसक्नुपर्ने हुन्छ ।

सभामा आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदनमा छलफल हुनेछ । साथै, सोही आर्थिक वर्षको नाफा नोक्सान, नगद प्रवाहमा पनि छलफल गर्ने एजेन्डा रहेको छ ।

आर्थिक वर्ष २०८०-८१ को लागि लेखा परीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि राखिएको छ । कम्पनीको साधारण सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल, ललितपुरमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?