दलको नेता बन्न कांग्रेसमा दौडधुप तीव्र, इतरसमूह तितरबितर हुँदा देउवालाई सहज

डिबी शर्मा
Read Time = 7 mins

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसमा दलको नेता बन्न दौडधुप भइरहेको छ । संसदीय दलको नेता नै भावी प्रधानमन्त्रीको उम्मेदवार हुने भएकाले कांग्रेसमा दलको नेता बन्न दौडधुप तीव्र बनेको हो । आधा दर्जन आकांक्षी देखिए पनि मूलतः दलको नेता बन्न दुई पक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । तर, संस्थापनइतर समूहबाट बन्ने उम्मेदवार निश्चित छैन । इतर समूहबाट नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा बलियो दाबेदार हुनुहुन्छ । तर, दुई नेताबीच सहमति भएर एकजना मात्रै उम्मेदवार हुने वा दुवै भिड्न तयार हुने भन्ने यकिन छैन । महामन्त्री थापा खुलेरै प्रचार प्रसारमा लाग्नुभएको छ भने नेता कोइराला खुल्नुभएको छैन । कोइरालाले आफ्नो पोजिसन प्रष्ट पार्नुभएको छैन ।

संस्थापन पक्षबाट वर्तमान प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा आकांक्षी हुनुहुन्छ । देउवाले आन्तरिक तयारीसमेत सुरु गरिसक्नु भएको छ । देउवालाई संसदीय दलको नेता बन्न गणितीय हिसाबमा सहज हुने देखिन्छ । सभापतिसमेत भएकाले आफू निकटकालाई टिकट वितरण गरेको र उनीहरू नै अधिकांश विजयी भएकाले देउवालाई सहज हुने देखिएको हो । इतर समूहबाट प्रधानमन्त्रीको चाहना राखिरहनु भएका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री थापा, डा. शेखर कोइराला, पूर्व-महामन्त्रीहरू प्रकाशमान सिंह र शशांक कोइराला पनि आकांक्षी हुनुहुन्छ । तर, उहाँहरू सबैको पोजिसन प्रष्ट भइसकेको छैन । कसले संस्थापन समूहलाई साथ दिन्छ र कोको इतर समूहमा रहन्छन् भन्ने पनि खुलेको छैन । देउवा इतर समूह एकजुट भए देउवालाई चुनौती दिनसक्ने अनुमान छ । इतरबाट युवा नेता थापाले आकांक्षा राख्नुभएकाले उहाँ एकल उम्मेदवार भए देउवालाई टक्कर दिनसक्ने आँकलन गरिएको छ । तर, इतर समूह तितरबितर हुँदा भने देउवालाई सहज हुने देखिन्छ । गत कांग्रेस महाधिवेशनमा पनि अन्तिम समयमा इतर समूह तितरबितर हुँदा देउवालाई सभापति जित्न सहज भएको थियो ।

देउवा-शशांक भेट
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पूर्व-महामन्त्री शशांक कोइरालासँग भेटवार्ता गर्नुभएको छ । मंगलबार सभापति देउवा र नेता कोइरालाबीच बालुवाटारमा भेटवार्ता भएको हो । सभापति देउवालाई भेट्न नेता कोइराला बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमै पुग्नुभएको थियो । भेटका क्रममा देउवाले संसदीय दलमा आफूलाई सहयोग गर्न आग्रह गर्नुभएको कोइरालानिकट एक नेताले जानकारी दिनुभयो । उहाँका अनुसार सभापति देउवाले गठबन्धनलाई निरन्तरता दिन आफू नै प्रधानमन्त्री बन्नुपर्ने भएकाले सहयोग गर्न आग्रह गर्नुभएको थियो । तर, नेता कोइरालाले भने प्रष्ट जवाफ नफर्काएको उहाँले बताउनुभयो । शशांक योपटक संसदीय दलको नेता बन्ने दौडमा हुनुहुन्छ ।

पार्टी एक ढिक्का भएर अघि बढ्छ : शेखर कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अब गठबन्धनकै सरकार बन्ने बताउनुभएको छ । मंगलबार कांग्रेस नेता गुरुराज घिमिरेको पुस्तक ‘बाटो बिराएको राजनीति’ सार्वजनिक कार्यक्रममा बोल्दै कोइरालाले अब पनि गठबन्धनकै सरकार बन्ने भन्दै कुनै चिन्ता गर्नु नपर्ने बताउनुभयो । पार्टी एकढिक्का भएर अघि बढ्ने उहाँको भनाइ छ । ‘गठबन्धनकै सरकार बन्छ, यसमा कुनै चिन्ता गर्न आवश्यक देख्दिनँ,’ उहाँले भन्नुभयो, ‘त्यो सरकारले तपाईं हामीले खोजेको जस्तो काम गर्न सक्छ कि सक्दैन ? यसमा चुनौती छ । तपाईंहरू ढुक्क हुनुस् कांग्रेस एकढिक्का भएर अघि बढ्छ ।’

गगन थापाको प्रश्न : देश बदल्छौँ भन्दा बाबुको उमेर कति हो भनेर सोध्ने ?
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशको नेतृत्व लिने अभियानबाट पछि नहट्ने बताउनुभएको छ । विराटनगरमा कांग्रेस नेता गुरु घिमिरेको पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले देश बनाउने अभियानमा लाग्दा उमेर सोध्ने काम भएको बताउँदै अभियानबाट पछि नहट्ने स्पष्ट पार्नुभयो । महाधिवेशनदेखि सँगै रहेका नेता डा. शेखर कोइरालासँग अहिले पनि सँगै रहेर पार्टीभित्र विधि स्थापित गर्न लागिपरेको उहाँको भनाइ छ । ‘देश बदल्छौँ भन्दा बाबुको उमेर कति हो भनेर सोध्ने ? कुन दाइ रिसाउनुहुन्छ मतलव गर्नुहुँदैन । अब मनको डर निकाल्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘कसलाई खुसी बनाउनुपर्छ भनेर होइन । मनको डर निकालेर सही ठाउँमा उभिनुपर्छ । हामी उहाँ (शेखर)कै नेतृत्वमा, उहाँसँगै रहेर काम गर्छौँ । पार्टीभित्र पनि सुधारका एजेण्डा अघि सर्छौँ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?