उखुको अनुदान नपाएपछि काठमाडौंमा धर्ना

Read Time = 2 mins

काठमाडौं । सरकारले दिएको उखु अनुदान चिनी मिल सञ्चालकले नदिएपछि कपिलवस्तुका उखु किसान धर्ना दिन काठमाडौंमा आएका छन् । २०७१ सालमा उखुमा दिने भनिएको अनुदान नपाएपछि काठमाडौंको माइतीघर मण्डलामा आएर धर्नामा बस्न बाध्य हुनुपरेको कपिलवस्तु उखु किसान संघर्ष समितिका सदस्य रामलाल कलवारले बताउनुभयो ।

२०७१ सालमा सरकारले उखु किसानलाई प्रतिक्विन्टल २५ रुपैयाँका दरले अनुदान दिने निर्णय गरेको थियो तर सो रकम हालसम्म पनि नपाएपछि न्यायको खोजीमा उनीहरू काठमाडौं आएका हुन् । अनुदान रकम लिन जिल्ला प्रशासन कार्यालयमा दिइएको दबाब काम नलागेपछि काठमाडौंमा आएर धर्नामा बस्नुपरेको संघर्ष समितिका सदस्य कलवारले बताउनुभयो । अनुदान नदिएसम्म धर्नाको कार्यक्रम नरोकिने उहाँको चेतावनी छ । कपिलवस्तुका किसानले अन्य जिल्लालाई दिइएको अनुदानबापतको रकम आफूलाई नदिएको भन्दै पाँचदेखि काठमाडौंमा धर्ना दिँदै आए पनि सरकारले कुनै सुनुवाइ नगरेको गुनासो गरेका छन् ।

सरकारले दिनुपर्ने साढे दुई करोड रुपैयाँ भुक्तानी मिल मालिकले नदिएको उनीहरूले बताए । २०७१/०७२ मा सरकारले दिने निर्णय गरेको रकम हालसम्म पनि आठ हजार किसानले नपाएको कपिलवस्तु किसान संघका अध्यक्ष अनुपकुमार चौधरीले बताउनुभएको छ ।

कपिलवस्तुको शिवराज नगरपालिकास्थित महालक्ष्मी सुगर्स मिलले पैसा नदिएको हो । किसानलाई साथ दिन कपिलवस्तु क्षेत्र नम्बर ४ बाट सांसद मंगलप्रसाद गुप्ता, शिवराज नगरपालिकाका प्रमुख अजय थापा र शिवराज-३ का वडाध्यक्ष टेकलाल सापकोटासमेत उखु किसानसँगै माइतीघर मण्डलामा ऐक्यबद्धता व्यक्त गर्न आएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?