गौतमबुद्ध रंगशालाको बाँकी कामका लागि प्राविधिक समिति गठन

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । अलपत्र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका बाँकी काम गर्न नेपाल सरकारले प्राविधिक समिति गठन गरेको छ । मन्त्रिपरिषद्को साउन ९ गते सम्पन्न बैठकले शहरी विकास मन्त्रालयका सहसचिवको नेतृत्वमा प्राविधिक समिति गठन गरिएको हो ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव डा.दामोदर रेग्मीका अनुसार शहरी विकास मन्त्रालयका सहसचिव प्रकृर्ण तुलाधरको संयोजकत्वमा छ सदस्यीय समिति गठन गरेको हो । समितिमा सघन शहरी विकास तथा भवन निर्माण आयोजनाका सिनियर डिभिजन इञ्जिनियर प्रकाश अर्याल, आर्थिक प्रशासन प्रमुख र लेखा अधिकृत युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्का इञ्जिनियर राजु श्रेष्ठ सदस्य रहनुभएको छ ।

यस्तै युवा तथा खेलकुद मन्त्रालयका शाखा अधिकृत दीपेन्द्र रावल, भरतपुर महानगरपालिकाका लेखा अधिकृत जगन्नाथ अर्याल पनि उक्त समितिको सदस्य हुनुहुन्छ । समितिले अध्ययन गरी २१ दिनभित्र प्राविधिक प्रतिवेदन तयार गरी मन्त्रालयमा पेश गर्नेछ । उक्त समितिको सिफारिशपछि युवा तथा खेलकुद मन्त्रालयले बाँकी काम अघि बढाउँदै स्वामित्व ग्रहण गर्ने जनाएको छ । समितिले रंगशाला निर्माण कार्य के कसरी प्रारम्भ भयो, रंगशाला निर्माणका लागि तयार गरिएको संरचना, ड्रइङ, डिजाइन र लागत अनुमान अन्तर्राष्ट्रिय मापदण्ड अनुसार छ कि छैन भन्ने विषयमा अध्ययन गर्ने छ ।

यस्तै निर्माणस्थलको जग्गाको स्वामित्वको विषयमा विस्तृत अध्ययन गरी उक्त बाँकी निर्माण कार्य कुन विधिबाट सम्पन्न गर्न उचित हुने भन्ने विषयमा समेत सिफारिश गर्नेछ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले मन्त्रिपरिषद्को निर्णय रंगशाला निर्माणका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित जिल्लाका जनप्रतिनिधिको ‘डेलिगेसन’ पश्चात् मन्त्रालय र मन्त्रिपरिषद्को निर्णय स्वागतयोग्य रहेको छ ।’

रंगशाला निर्माणका लागि धुर्मुस–सुन्तली फाउण्डेशनले काम गर्दै आएकामा कोरोना कहर र आर्थिक अभाव देखाउँदै भरतपुर महानगरलाई स्वामित्व लिन आग्रह गरेको थियो । भरतपुर महानगरपालिकाको विसं २०७८ माघ २७ गतेको स्वामित्व लिन नेपाल सरकारलाई अनुरोध गरेनुसार अध्ययनका लागि प्राविधिक समिति गठन गरिएको हो । रंगशाला निर्माणका लागि तीन अर्ब लाग्ने अनुमान गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?