पर्यटन दिवस : पर्यटन क्षेत्रको विकासमा स्थानीय तह जिम्मेवार

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 6 mins

भोजपुर । ४४ औँ बिश्व पर्यटन दिवस मनाइरहँदा भोजपुरवासीले पर्यटन क्षेत्रको बिकासका लागि स्थानीय तह जिम्मेवार हुनु पर्ने बताएका छन् । पर्यटन क्षेत्रको बिकासमा स्थानीय तह बढी जिम्मेवार हुनु पर्ने भोजपुरका सरोकारवालाको भनाई रहेको छ ।

“स्थानीय सरकारले आसपासका सम्भाबित धार्मिक, पर्यटन र कृषि पर्यटनका क्षेत्रहरुलाई पहिचान गरि प्रदेश र संघीय सरकारसँगको सहकार्य तथा समन्वयमा काम गर्न सकेमा मात्र पर्यटन विकासको संभावना छ ।” स्थानीय प्रकाश राईले भन्नुभयो । आफनो क्षेत्रमा के के छन् संभावना, कसरी पूर्वाधारहरु निर्माण गर्न सकिन्छ, यो सवै स्थानीय सरकारलाई थाहा हुन्छ । दिगो र दीर्घकालीन पर्यटन बिकास गर्न सहर देखि गाउँगाउँसम्म होमस्टे, पूर्वाधार निर्माण, सडक जस्ता बिषयलाई पहिलो प्राथमिकतामा राख्न जरुरी देखिएको सामाजिक अभियन्ता घमचन्द्र दाहालको भनाई रहेको छ ।

दाहालले भन्नुभयो, “ नेपालको आर्थिक विकासका लागि पर्यटनको ठूलो महत्व छ, यसका लागि पर्यटन क्षेत्र लक्षित स्वदेशी तथा बिदेशी लगानी र कार्यक्रमहरू भित्रयाउन स्पस्ट नीति, योजना तर्जुमा र मार्गदर्शनको खाँचो छ, यसका लागि पहिलो जिम्मेवार निकाय स्थानीय तह बन्नु पर्छ ।” पर्यटकीय सम्पदाहरु, तिर्थस्थलहरू, धरातलीय, वनस्पतीय, जैविक, सामाजिक, सांस्कृतिक, धार्मिक एवंम् जातिय, जनजातिय विविधता पर्यटन क्षेत्रका आधारहरु भएकाले यी क्षेत्रको संरक्षण र सम्वर्धन आवश्यक रहेको भोजपुरवासीको माग रहेको छ ।

भोजपुर जिल्लामा पनि धार्मिक, सांस्कृतिक, पुरातात्विक, डाँडाकाँडाहरु देखिएकाले यसको बिकास र प्रचार प्रसारमा बिशेष योजना आवश्यक रहेको स्थानीय शंकरप्रसाद आचार्यको भनाई छ । आचार्यले प्रचार प्रसारका कारण ओझेलमा परेको पर्यटकिय क्षेत्रहरु चिनाउन सकेमा आन्तरिक तथा बाह्रय पर्यटन प्रवर्धनमा टेवा पुग्ने बताउनुभयो । भोजपुरमा धेरै धार्मिक तथा पर्यटकीय क्षेत्र भए पनि ती क्षेत्र ओझेलमा परेका छन ।

भोजपुरमा धार्मिक ठाउँ तथा डोली पैसा छापिएको टक्सार, बालागुरु षडानन्द अधिकारीले पहिलो संस्कृत पाठशाला स्थापना गरेको दिङला, क्रान्तियोद्धा योगमाया जलसमाधि लिएको क्षेत्र मझुवाबेँसी लगायत दर्जनौँ ऐतिहासिक तथा पर्यटकीय क्षेत्र छन । भोजपुरको पर्यटन क्षेत्रको आर्कषणका केन्द्रहरुमा सदरमुकाममा रहेको प्रसिद्ध सिद्धकाली मन्दिर, गोल्मेराजा गोल्मेरानी भिर, नागछाँगा, साल्पापोखरी जस्ता थुप्रे सम्पदाहरु छन । यस्तै छाँगे झर्ना, सिलिचुङ चुचुरो, टेम्केडाँडा, मैयुङडाँडा लगायत स्थानहरु प्नि पर्यटन क्षेत्रका आर्कषण ठाउँहरु हुन ।
प्रचार अभाव तथा आवश्यक पूर्वाधारका कारण जिल्लाको पर्यटन क्षेत्रमा बिकास हुन नसकेको भोजपुर नगरपालिका वडा नम्वर ५,बोखिमका वडाध्यक्ष फबिन्द्र प्रधानले बताउनुभयो । स्थानिय सरकारहरु र सरोकारवाला निकाय, ब्याबासायी, होटल ब्यबसायी सवै क्षेत्रको सहकार्य र सहभागितामा पर्यटन क्षेत्रको बिकास जरुरी रहेको प्रधानको धारणा रहेको छ ।

सरकारले पर्यटकीय सुचीमा रहेको यहाँको मुन्दुम पदमार्ग पछिल्लो समयमा परिचित बनेको छ । पदमार्ग निर्माणको कार्य समेत भएकाले यसबाट पर्यटन क्षेत्रको बिकासमा टेवा पुग्ने आशा गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो । स्थानीय सरकार, संघीय सरकार र दातृ निकायको सहयोगमा पदमार्गको बिकास गरिएको छ । तर पनि अपेक्षा अनुसार भोजपुरमा पर्यटकको आगमन हुन नसकेको अध्यक्ष बस्नेतको भनाई रहेकोछ । पर्यटन प्रवर्धनका लागि पालिकाको वडा नम्वर २, छिनामखुमा गोठे सिं होमस्टे समेत संचालनमा रहेको छ । सडक नजिकै रहेकाले खान बस्नका लागि यो होमस्टेले सहयोग गरेको छ ।

दिगो सोच र साझा छलफल नगरी पहुँचको भरमा बजेट उपलब्ध गराउने परिपाटीका कारण पनि पर्यटन प्रवर्धनका कार्य सफल हुन नसकेको भोजपुर नगरपालिका वडा नम्वर ८ का वडाध्यक्ष नवीन प्रधानले बताउनुभयो । वडाध्यक्ष प्रधानले भन्नुभयो, “बनेको संरचनाहरुको पनि ब्यबस्थापन सही ढंगले हुन सकेको छन् ।”

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?