किन गरिन्छ सोह्रस्राद्ध ? यस्तो छ महत्व

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । आज असोज १३ गतेदेखि सोह्रस्राद्ध प्रारम्भ भएको छ । देवयोनी र पितृयोनी एउटा यस्तो योनी हो, जसले टाढाबाट भनिएका कुराहरु सुन्ने, पूजा पनि ग्रहण गर्ने र टाढाबाटै गरिएको स्तुतिबाट पनि प्रसन्न हुन्छन् । देवता र पितृहरु सुगन्धित तथा भावबाट नै तृप्त हुन्छन् । जस्तै मनुष्यको आहार भएजस्तै पितृहरुको आहार भनेको अन्नको सारतत्त्व हो ।

शास्त्रमा भनिएको पनि छ–

देशे काले च पात्रे च श्रद्धया विधिना च यत् ।
पितृनुद्दिश्य विप्रेभ्यो दत्त श्राद्धमुदाहृतम् ।।

शास्त्र अनुसार पिताको श्राद्ध पुत्रले नै गर्नुपर्ने बताइएको छ । यदि छोरा नभएको अवस्थामा पत्नीबाट पनि श्राद्ध गर्नु पर्ने नियम बताइएको छ । पत्नी नभएको अवस्थामा भाइ र यदि भाइको पनि अभाव भएमा जामाता (ज्वाईं) पनि श्राद्धका अधिकारी हुन्छन् । आमाको श्राद्ध पिताको श्राद्धसँग नै गर्नुपर्ने हुन्छ ।

मत्स्यपुराणका अनुसार श्राद्ध गर्नका लागि सबैभन्दा राम्रो समय मध्याह्नकाललाई मानिन्छ । श्राद्ध गर्ने समयमा तीन कुरा अत्यन्त आवश्यक हुन्छन् । रीस, अपवित्रता र हतारलाई त्याग गरी शुद्धपवित्र भावनासहित गर्नुपर्ने कुरा शास्त्रमा वर्णन गरिएको छ ।

श्राद्धकर्ताले ताम्बुलभक्षण, तेलमालिस, उपवास तथा अन्यत्रबाट ल्याइएको अन्न पनि खान निषेध गरिएको छ । श्राद्धभोजन गर्ने व्यक्तिहरुले पनि २ पटक भोजन गर्नु नहुने र श्राद्धको दिन यात्राको लागि पनि वर्जित गरिएको छ ।

त्यसैगरी दान लिन, हवन गर्न, हिंसादि कर्ममा लिप्तता पनि शास्त्रनिषिद्ध गरिएका छ । श्राद्धमा प्रयोग गरिने अन्नको बारेमा पनि शास्त्रमा व्यापक रुपमा चर्चा गरिएको छ ।

श्राद्धको दिन कालो दाल, तील, जौँ, सामा, चामल, दूध, मह, गौँ, चिनी, कपूर, अमला, कटहर, अनार, नरिवल, सुपारी, तुलसी, कागती, पीपल लगायतका वस्तुहरुको प्रयोग गर्नु अत्यन्त राम्रो हुने कुरा उल्लेख गरिएको छ । उक्त पुराणका अनुसार सात्विक अन्न वा फलबाट पितृलाई तृप्त गराउनु पर्ने कुरा बताइएको छ ।

भनिएको पनि छ– श्राद्धका अवसरमा कदम्ब, कबेडा, बेलपत्र, करवीर, रातो तथा कालो रंगका पूmल एवं धेरै बस्ना आउने सबै फूलहरु श्राद्धमा वर्जित गरिएको छ ।

श्राद्धका लागि उपयुक्त मानिएको कमल, मालती, जुही, चम्पाका साथै बास्ना आउने सेतो पूmलहरु तथा तुलसी या भृङ्गराजको प्रयोग गर्न हुने बताइएको छ । श्राद्धचन्द्रिका नामक ग्रन्थमा केराको पातमा भोजन गर्न नहुने तर श्राद्ध बाहेकका अन्य क्रियाकलाप भने गर्न हुने करा उल्लेख गरिएको छ । श्राद्ध–भोजनका लागि पात्रको रुपमा सुन, चाँदी, काँस, तामा र पातलाई सर्वोपरि मानिएको छ ।

त्यसैगरी आसनका रुपमा रेसमी वस्त्र, ऊन, काठ, कुशको आसनलाई उत्तम मानिएको छ । निषिद्ध काठका रुपमा पलाँस, वर, पीपल, मौवा आदिको आसनमा बसेर भोजन गर्न नहुने कुरा बताइएको छ ।

वैदिक परम्परा अनुसार श्राद्धका चार विधि वर्णन गरिएको छ । ती पिण्डदान, हवन, तर्पण, ब्रह्मण भोजन हुन् । यो नियम अनुसार सम्भव भएमा पिण्डदान र हवन गर्न सकिनेछ । यदि असम्भव अवस्थामा पिण्डदान पनि छाड्न सकिन्छ तर तर्पण र ब्राह्मणभोजन गराउनु पर्ने हुन्छ । तर्पण र ब्राह्मणभोजनलाई मुख्य अंग मानिएको छ ।

पितृहरुको नाममा कहि पनि गर्न  नसक्नेले तिथि परेको दिनमा ब्राह्मणभोजन र दक्षिणादान मात्र गरे पनि पितृहरु तृप्त हुन्छन् भन्ने कुरा मार्कण्डेय पुराणमा बताइएको छ । कुनै पनि प्रकारको पितृकार्य नगर्नेहरुका लागि पितृहरुले लाचार भएर उक्त परिवारको रक्तपान गर्दछन् भन्ने कुरा पनि बताइएको छ । (लेखक सुरेशचन्द्र रिजाल ज्योतिषी तथा वास्तुविद् हुन् ।)

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?