पाल्पामा रातारात अवैध ढुंगा चोरी, ढुंगा निकासी गर्ने जेसीबी र टिपर कारवाहीमा

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 4 mins

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिकास्थित सिद्धार्थ राजमार्गमा रातरात अवैध ढुंगा चोरी निकासी गरेको फेला परेको छ । तिनाउ–३, हेडबक्स नाग मन्दिर नजिकै सिद्दार्थ राजमार्गमा रातको समयमा दुईवटा जेसीबीको प्रयोग गरी अवैध रुपमा ढुंगा उत्खनन गरेको फेला परेको हो ।

ढुंगा निकासी भइरहेको गोप्य सूचना पाएपछि प्रहरीले दुई वटा जेसीबी र दुई वटा टिपर नियन्त्रमा लिई पालिकाको जिम्मा लगाएको छ । प्रहरीका अनुसार बा.प्र.०१–००३ प ९१९४, प्रदेश ३ ०१–०३ क ६७७७ नम्वरको जेसिबी र लु २ ख ३६६२ ,लु २ ख ३९६४ नम्बरको टिपरलाई नियन्त्रणमा लिइएको हो । प्रहरी चौकी दोभानबाट प्रहरी नायव निरीक्षक सहितको प्रहरी टोली खटि टिपर र जेसिबीलाई नियन्त्रणमा लिई गाउँपालिकामा बुझाइएको प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले दुई टिपरलाई २५ हजारका दरले जरिवाना लिइएको बताउनुभयो । सत्यवती कन्स्ट्रक्सनको जेसीभी भएकाले कागजपत्र पेस गर्छु भनेकाले जेसीभीको जरिवाना नकाटिएको श्रेष्ठको भनाइ छ ।

.पछिल्ला केही महिना यता तिनाउ र झुम्सा खोलाबाट अवैध रूपमा ढुंगा निकाल्ने काम भइरहेको छ । तिनाउ गाउँपालिकाको स्वीकृतिविना यहाँका खोलाहरुबाट अत्यधिक नदीजन्य पदार्थ दोहन भइरहेको हो । ढुंगा निकासी भइरहेको थाहा पाएपछि प्रहरीले भने त्यहाँ निगरानी बढाएको छ । उसले खोलाबाट अवैध रूपमा ढुंगा निकाल्न प्रयोग भएका जेसीबी, टिपर र ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । प्रहरीले यस अघि पनि अवैध रूपमा ढुंगा निकाल्न र ओसार पसार गर्न प्रयोग भएका एक दर्जन उपकरणलाई नियन्त्रणमा लिइसेको छ ।

संघीय सरकारले पुस २२ गतेदेखि मापदण्डविपरीत र अवैध क्रसर तथा बालुवा प्रशोधन उद्योगहरू बन्द गराएको थियो । पुनः सरकारले मापदण्ड नपुगेकालाई २०८३ असार मसान्तसम्म मापदण्ड पु¥याउने अवसर दिने निर्णय गरेकाले पनि अहिले जिल्लामा अवैध नदी तथा खोला उत्खनन् भइरहेका छन् । विशेष गरी जिल्लाको रामपुर, निस्दी, तिनाउ लगायतका स्थानीय तहका खोलाहरुबाट अवैध रुपमा गिट्टी–बालुवा चोरी निकासी हुँदै आएको छ । तर सम्बन्धित निकायबाट यसको निगरानी हुन नसक्दा चोरी निकासी रोकिन सकेको छैन।

नदीजन्य तथा खानीजन्य पदार्थको अवस्था अनुगमन गर्न जिल्ला समन्वयन समितिका प्रमुख संयोजक रहने गरी जिल्लामा नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समिति पनि छ । प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय प्रहरी उपरिक्षक (एसपी) लगायतका सदस्य छन् । तर, यो समितिले जिल्लाका नदीजन्य तथा खानीजन्य पदार्थको दोहनको अवस्थाको प्रभावकारी अनुगमन गर्न सकेको छैन् । जसले गर्दा यहाँका नदी लगायत अन्य खोलाहरूबाट बालुवा, गिट्टी, ढुंगाजस्ता नदीजन्य पदार्थ अवैध तस्करी भइरहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?