ॐ शान्तिले जुराएको यात्रा

शम्भु कोइराला
Read Time = 19 mins

नमागिएको सल्लाह :

ब्रहृम कुमारी ईश्वरीय विश्वविद्यालयले संस्थाको प्रमुख केन्द्र माउण्ट आबु क्षेत्र जान उत्प्रेरित गरेको केही दशकअघिदेखि नै हो । जागिरे जीवनमा ब्रहृम कुमारी संस्थाका भाइजी, बहनजी र दादाजीहरूसँग हुने भेटघाट, विचार आदानप्रदान र सहकार्यको कारण संस्थाका बारेमा सामान्य जानकारी पाएकै अवस्था हो । सेवा निवृत्तिपछि समयको अनुशासनमा खासै बस्नुपर्ने अवस्था रहेन । उमेर र रुचिले पनि आध्यात्मिक सान्निध्य खोज्ने रहेछ । यस्तै मेसोमा ब्रहृम कुमारी संस्थामा लामो समयदेखि आबद्ध भाइ सुदीप भट्टराईलाई आबु रोड, राजस्थानस्थित केन्द्रमा हुने वार्षिक सम्मेलनमा सरिक हुने इच्छा जाहेर गरेपछि यस पालिको यात्राको चाँजोपाँजो मिल्यो ।

यात्राको व्यवस्थापन सामान्य विषय लागे तापनि यसमा सूक्ष्म रूपमा ध्यान दिन सकिएन भने कठिनाइको सामना गर्नुपर्ने हुन्छ । धेरै धार्मिक पर्यटनमा जानेहरूको सामान हराउँने, लडेर घाइते हुने, टोलीका सदस्य समूहबाट छुट्नेलगायत समस्या आमरूपमा सुनिएको र भोगिएको पनि हो । भारतको यात्रामा अझ सावधानी अपनाउन जरुरी छ । भारत देशले विश्व रंगमञ्चमा उच्च स्थान बनाउन सफल भएको छ तर ठूलो जनसंख्या र चरम गरिबीको कारण आपराधिक घटना हुनु सामान्य विषय हुन् । यसमा विशेष सावधानी अपनाउन सकिएन भने यात्रामा खल्लोपन र कठिनाइको सामना गर्नुपर्ने हुन्छ । हाम्रो टोलीले पनि त्यो नियति भोग्नु पर्‍यो । टोलीका एकजना वयोवृद्ध सदस्यको मोबाइल भाडामा लिएको सवारीसाधनबाट उत्रेर रेलेवे स्टेसनमा पुग्ने पाँच मिनटको समयभित्र गायव भयो ।

ॐ शान्ति रिट्रिट सेन्टर (ओआरसी) दिल्लीको व्यवस्थापन :
ओआरसी दिल्लीस्थित केन्द्र हो । यसको प्रथम हेराइ नै दीर्घकालीन प्रभाव छोड्ने किसिमको छ । भाडाको सवारीसाधनबाट केन्द्रमा प्रवेश गर्नासाथ प्राकृतिक र शान्त वातावरणले जोकोहीको मनमा शान्तिको अनुभूति हुन्छ । प्राकृतिक वातावरणमात्र होइन, केन्द्रभित्र आवतजावत गर्न कम प्रदूषण गर्ने साना र ठूला सवारीसाधनलगायत भौतिक विकासलाई पनि आध्यात्मिक सेवामा उपयोग गरेर सहज बनाइएको छ । ब्रहृम मुहुर्तको समयको वातावरण, काल्पनिक स्वर्गको अनुभूति दिने किसिमको छ । प्रभातकालीन मनमोहक वायुको आनन्दमा विभिन्न किसिमका चराचुरुंगीको चिर्बिर आवाज र हरियाली वातावरण धेरै समयदेखि पालेर राखेको मानसिक तनाव हटाउने किसिमको छ । केन्द्रमा पालिएका मयूरलगायत पक्षीहरूको श्वेतवस्त्रधारी साधकहरूसँग यस्तो मित्रता गाँसिएको छ कि उनीहरू निर्भय रूपमा यत्रतत्र विचरण गर्दछन् ।

सरकारी व्यवस्थापनका दिल्लीस्थित कतिपय संरचना समस्याग्रस्त देखियो जब कि केन्द्रभित्र त्यस्तो महसुस गर्नुपरेन । भान्साको फोहोरलाई प्रशोधन गरेर ग्यास निकालिएको, प्रयोग भएको पानीलाई प्रशोधन गरेर बोटबिरुवाको सिँचाइका लागि उपयोग गरिएको छ । जुन पानी बिरुवाका लागि अरू पानीभन्दा बढी मलिलो हुनेगर्छ ।

उनीहरूलाई त्यहाँ बस्ने मनुष्यबाट कुनै खतरा छ भन्ने महसुस नै छैन, उनीहरूले त्यहाँबाट संरक्षणमात्र पाएका छन्, मित्रताको मात्र महसुस गरेका छन् । काखमा बस्छन्, टाउको र हातमा बस्छन् । लाग्दछ-ध्यानमय वातावरणमा उनीहरू ध्यान पनि गर्छन् । पंक्षीहरूले सार्वजनकि स्थानमा यदाकदा गरेको फोहोर केन्द्रमा बस्ने कुमार, कुमारी र दादा दादीजी जसले देख्यो उसले व्यवस्थापन गर्ने अनुशासनको कारण पंक्षीजन्य फोहोरको महसुस नै गर्नुपर्दैन । थरिथरिका सेमिनार हलहरू, फुर्सद नभएका व्यापारिक घरानाहरूलाई शान्त वातावरणमा बैठक, गोष्ठी, सेमिनार गर्न तयार पारिएका सुविधा सम्पन्न कन्फ्रेन्स हलहरू र तिनको समुचित मर्मतसंभार कुनै पनि सरकारी व्यवस्थापनलाई चुनौती दिने किसिमका छन् ।

हजारौंका संख्याका आगन्तुकलाई भोजन व्यवस्थापन गर्नेगरी तयार गरिएका भान्सा, डाइनिङ हल र विना तछाडडमछाड खाना खुवाउने गरी गरिएको व्यवस्थापन उदेकलाग्दो छ । यस्तो ठूलो भान्सा, डाइनिङ भए तापनि फोहोर र दुर्गन्धको महसुस कतै गर्नु परेन । सरकारी व्यवस्थापनका दिल्लीस्थित कतिपय संरचनाहरू समस्याग्रस्त देखियो जब कि केन्द्रभित्र त्यस्तो महसुस गर्नुपरेन ।

भान्साको फोहोरलाई प्रशोधन गरेर ग्यास निकालिएको छ । प्रयोग भएको पानीलाई प्रशोधन गरेर बोटबिरुवाको सिँचाइका लागि उपयोग गरिएको छ । जुन पानी बिरुवाका लागि अरू पानीभन्दा बढी मलिलो हुनेगर्छ । अनुयायीहरूको समर्पणभाव, धारा, बत्तीको निरन्तर सेवाको प्रत्याभूतिका लागि आवश्यक सामग्रीको भण्डारन, प्रविधिको प्रयोग, प्राविधिकको उपलब्धता, कामको विभाजन लगायतका कारण केन्द्रको चुस्त व्यवस्थापन सम्भव भएको महसुस भयो । केन्द्र र अन्य निकायलाई पनि उपलब्ध गराउन सकिने गरी लोगोलगायत सामग्रीको छपाइ ओआरसीभित्र नै हुने परिस्थितिले आत्मनिर्भर आध्यात्मिक केन्द्रको संकेत गरिरहेको थियो । यत्रतत्र उपलब्ध हुने र विशेष किसिमका ध्यानकेन्द्रहरूले ध्यान गर राजयोगी वन भन्ने सन्देश प्रवाहित गरिरहेका थिए ।

शान्तिवन, राजस्थानमा हाम्रो बैकुण्ठवास :
एक दिनको ओआरसीको बसाइपछि हाम्रो यात्राको मुख्य आकर्षण बिन्दु राजस्थानको आबुरोडस्थित शान्तिवन अर्थात् मधुवनतर्फ अगाडि बढ्यो । रातभरिको शताब्दी राजधानी एक्स्प्रेसको यात्रापछि हामी भोलिपल्ट बिहान अर्थात् सेप्टेम्बर २२ का दिन मधुवन पुग्यौं । हाम्रो टोलीलाई लिनका लागि शान्तिवन ब्रहृम कुमारीजले बाहनको व्यवस्था गरेको थियो । केही सयको प्रतीक्षापछि बसोवासको व्यवस्थापन भयो । नेता प्रकाशमान सिंह पनि सपत्नीक यो यात्रामा सरिक हुनुहुन्थ्यो । उहाँलगायत हामी मनमोहिनी आवास क्षेत्रतर्फ लाग्यौं । त्यस आवास क्षेत्रको हामी बस्ने आवासको नाम थियो-बैकुण्ठ । बैकुण्ठ वास्तवमै बैकुण्ठ थियो । हामीलाई उपलब्ध गराएको कक्ष कुनै तारे होटलको स्तरभन्दा कमको थिएन । पानी, बत्तीलगायत आवश्यक सामग्रीको उपलब्धता प्रशंसा गर्न लायक थियो ।

पानीको स्रोत नभएको स्थानमा पानीको उत्कृष्ट व्यवस्थापन र सार्वकालिक उपलब्धता सरकारी व्यवस्थापनलाई गिज्याउने किसिमको थियो । चिया, कफीलगायत पेय पदार्थ आफैँले बनाएर खान पाउनेगरी चौबीसै घण्टा उपलब्ध थिए । हामीसँगैको आवास क्षेत्र दिव्यलोकमा त तयारी अवस्थाका चिया-कफीलगायतका पेय पदार्थ बिहान तीन बजेदेखि नै उपलब्ध हुने व्यवस्था थियो । मनमोहिनी आवास क्षेत्रको ब्रहृममुहूर्तको मोहकतालाई अनुभव गर्ने मनशायले पत्नी रन्जुसहित बिहान चार बजे प्रात भ्रमणमा निस्केर गरेको अनुभूतिले मनमोहिनी नामलाई सार्थकता प्रदान गरेको थियो ।

साना-ठूला व्यवस्थित उद्यान, संरक्षण गरिएको हरियाली, बसेर आनन्द लिन सकिने झुलाहरू, ध्यान गर्न मिल्ने गरी बनाइएका बस्ने बेन्चहरूमा बसेर ध्यानमा लीन भएका साधकहरू, त्यहाँको मौनता र शान्तिमय वातावरण देख्दा लाग्दथ्यो-यो कुनै काम क्रोध, लोभ, मोह र मात्सर्य भएको भूमण्डल नभएर वास्तवमै अर्को लोकको मनमोहिनी आवास हो । सौर्य ऊर्जाको व्यवस्थापन उदाहरणीय थियो । दिल्लीको ओआरसीमा पनि सौर्य ऊर्जाबाट विद्युत् उत्पादन गर्ने व्यवस्था थियो । आफूलाई आवश्यक नभएको प्रयोग गरेर बचेको बिजुली सरकारी निकायलाई विक्री गर्ने व्यवस्था गरिएको थियो । शान्तिवनमा पनि सौर्य ऊर्जा निकालेर उपयोग गर्ने गरिएको, बचेको अवस्थामा बिक्री गर्नेगरी व्यवस्थापन गरिएको थियो । यसरी हाम्रो पाँच दिनसम्म मनमोहिनीमा बैकुण्ठवास भयो ।

ब्रहृम कुमारी संस्था र वैश्विक शिखर सम्मेलन :
सेप्टेम्बर २२ देखि २६ सम्म आयोजित वैश्विक शिखर सम्मेलन नाम अनुसारको वैश्विक भन्न सुहाउँने थियो । नेपाल, भारत, अमेरिका, बेलायत जस्ता विभिन्न देशबाट ब्रहृम कुमारीको आस्थामा समर्पितहरू र सामान्य आस्थावानहरूको उपस्थिति थियो । २० हजार क्षमता भएको पिलररहित डाइमन्ड सभाकक्षमा आयोजित कार्यक्रममा ब्रहृम कुमारी संस्थाका र बाहिरका शुभेच्छुकहरूको विशिष्ट उपस्थिति रहेको थियो । ८ हजार ९८८ स्क्वायर फिटको ४६ ढोका भएको र बाइस भाषामा अनुवाद गर्ने सुविधा भएको विशाल सभाकक्षमा सहभागी हुन नेपालबाट पनि राजनीति, प्रशासन र न्यायक्षेत्रका व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

गीतामा श्रीकृष्णले युद्धबाट हच्केका अर्जुनलाई सम्झाउने क्रममा आत्माको अमरत्वको आधारभूमिमा यो संस्थाको दार्शनिक पक्ष टिकेको छ । आत्माको अमरत्वको विषयमा भनिएका गीताका श्लोकहरू ब्रहृम कुमारीका लागि प्रेरणाका स्रोत रहेका छन् ।

प्रजापिता ब्रहृम कुमारी विश्वविद्यालयलाई यसका अनुयायीहरूले भन्ने गरेजस्तो ईश्वरको विश्वविद्यालय भन्न लायक छ । सात्विक खाना, ब्रह्म चिन्तन, यत्रतत्र ध्यान र मौनताको वातावरण, सकारात्मक चिन्तन, लोभरहित वातावरण, परमार्थ सुधारका लागि स्वर्गीय चिन्तनजस्ता विशेषताहरूको कारण यसलाई ईश्वरीय विश्वविद्यालय भन्नुमा अतिशयोक्ति देखिँदैन । उजाड मरुभूमिजस्तो माउन्ट आबु क्षेत्रलाई स्वर्गीय वातावरणमा लैजाने क्षमता देखाएका यसका समर्पित साधकहरूको क्षमता पनि ईश्वर प्रदत्त किसिमको छ ।

हैदरावाद सिन्धमा सन् १९३६ मा हीरा व्यापारी लेखराज कृपलानीले स्थापना गरेको संस्था यसरी विश्वव्यापी रूपमा फैलिएला भनेर स्वयं संस्थापक दादा लेखराज कृपालानीले पनि कल्पना गर्नुभएको थिएन होला । सांसारिक जीवनमा हीराको व्यापारबाट पर्याप्त अर्थोपार्जन गरेका दादा लेखराजले आफ्नो साठी आसपासको परिपक्व उमेरमा यो गैरसरकारी संस्थाको स्थापना गर्नुभएको थियो । भारत पाकिस्तान अलग देशको रूपमा स्थापित भएपछि मुस्लिम वर्चस्व क्षेत्रमा काम गर्न सहज नहुने ठानी भारतीय भूमिमा स्थानान्तरण हुने क्रममा माउन्ट आबुमा आएर राजयोगको प्रचारमा लागेको देखिन्छ ।

पछि संस्थाका अनुयायीहरूले दादा लेखराजमा ईश्वरीय शक्ति प्रवेश गरेको विश्वासमा ब्रहृमा बाबाको रूपमा प्रचारप्रसार गरी सर्वव्यापक बनाएको पाइन्छ । वैश्विक शिखर सम्मेलनको मूल थलोका सबै कुनाकाप्चा, कोठाचोटा, पाहुना कक्ष सबै किसिमका शयनकक्षमा बहृमा बाबाको तस्वीरले सजिसजाउ देखिन्थ्यो । अनुयायीहरू समर्पित र निःस्वार्थी भए भने सामान्य मानिसलाई पनि देवत्वकरण गर्न सकिन्छ भन्ने राम्रो उदाहरण त्यो क्षेत्रमा देखिन्थ्यो । गीतामा श्रीकृष्णले युद्धबाट हच्केका अर्जुनलाई सम्झाउने क्रममा आत्माको अमरत्वको आधारभूमिमा यो संस्थाको दार्शनिक पक्ष टिकेको छ । आत्माको अमरत्वको विषयमा भनिएका गीताका यी श्लोकहरू ब्रहृम कुमारीका लागि प्रेरणाका स्रोत रहेका छन् ।
वासांसि जीर्णानि यथा विहाय नवानि गृहृणाति नरोद्रपराणि ।
तथा शरीराणि विहाय जीर्णान्यन्यानि संयाति नवानि देही ।।
नजायते म्रियते वा कदाचिन्नायं भूत्वा भविता वा न भूयः ।
अजो नित्य ः शास्वतोद्रयं पुराणो नहन्यते हन्यमाने शरीर ।।

नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावकः ।
न चैनं क्लेदयान्त्यापो न शोषयति मारुत : ।।

अच्छेद्योद्रयमदीहृयोद्रयमक्लेद्योद्रशोष्य एव च ।
नित्यः सर्वगतः स्थाणुरचलोद्रयं सनातन : ।।
आत्माको प्रतीकात्मक बिम्ब बनाएर त्यसमा प्रकाश दिएर परमात्माको ध्यानमा लाग्नु यहाँको ध्यान विधि हो । योगको अर्थ जोडिनु हो । राजयोगमार्फत परमात्मासँग आफूलाई जोड्नु र तदनुकूलको आचरण गर्नु राजयोगको विशेषता हो । वैश्विक शिखर सम्मेलनमा विभिन्न वक्ताहरूले यसै विषयमा जोड दिए । शरीरको अस्तित्वका लागि पृथिवी, अप, तेज, वायु र आकाश अनिवार्य भएजस्तै आत्माको अस्तित्व, आत्मिक र मानसिक शान्ति र स्वस्थताका लागि सात तत्व अनिवार्य भएको चर्चा भएको थियो ।

१) ज्ञान, २) पवित्रता, ३) प्रेम, ४) शान्ति, ५) सुख, ६) आनन्द र ७) शक्ति ले मनका लागि अनिवार्य तत्व हो भन्ने विषयमा प्रभावकारी रूपमा अनुशिक्षण गरिएको थियो । राजयोग भनेको मनको मालिक बन्ने हो, आफ्नो कर्मबाट भाग्यलाई तानेर ल्याउँने हो, कोही क्रोधित बन्यो भने आफू संयमित रहन सक्नु आफ्नै स्वास्थ्यको सुरक्षा गर्नु हो, जीवन यस्तो जिउनुपर्छ कि भोलिका लागि कुनै बोझ नै नराखौँ भन्ने टेलिभिजन प्रस्तोता शिवानी बहनजीका अनुपम वाणीलाई हृदयंगम गर्न सके सामान्य मानिसको जीवन पनि तनावरहित र सुखमय हुने निश्चित छ । ॐ शान्ति ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?