भूकम्पबाट घर भत्किएकाहरूलाई तत्कालै ५० हजार रुपैयाँ दिने प्रधानमन्त्री प्रचण्डको घोषणा

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बझाङ केन्द्रविन्दु भएको भूकम्पबाट पूर्ण क्षति भएका प्रतिघर परिवारलाई अस्थायी आवास निर्माणका लागि तत्कालै ५० हजार रुपैयाँ दिने घोषणा गर्नुभएको छ । शुक्रबार हेलिकप्टरबाट बझाङको सदरमुकाम चैनपुर पुगेर भूकम्पबाट भएको क्षति अवलोकनपछि प्रधानमन्त्री प्रचण्डले अस्थायी आवास निर्माणका लागि तत्कालै ५० हजार रुपैयाँ दिने घोषणा गर्नुभएको हो । उहाँले भूकम्पका कारण ज्यान गुमाएका व्यक्तिका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने बताउनुभयो । ‘सामान्य मर्मत, प्रबलीकरण वा पुनर्निर्माण के गर्नुपर्ने हो निश्चित गरी काम अघि बढाउँछौँ,’ उहाँले भन्नुभयोे, ‘भूकम्पबाट पूर्ण क्षति भएका घर परिवारलाई तत्काल अस्थायी आवास बनाउन ५० हजार रुपैयाँका दरले सहयोग गर्छौं ।’

यस्तै, भूकम्पबाट प्रभावित अरू परिवारलाई राहतस्वरूप परिवार संख्याको आधारमा मापदण्डअनुसार १५ देखि २० हजार रुपैयाँ तत्काल राहत खर्च व्यवस्था गर्ने प्रचण्डले बताउनुभयो । भूकम्पका कारण घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउनुको साथै पाल, कम्बल, औषधि, खाद्यान्न, लत्ता–कपडालगायत राहत सामग्रीहरू उपलब्ध गराएको र आवश्यकताका आधारमा थप गर्ने उहाँले बताउनुभयो ।

बिहीबार बिहान सेनाको हेलिकप्टरबाट बझाङ जानुभएका प्रधानमन्त्री प्रचण्डले सदरमुकाम चैनपुरमा भूकम्पले पु¥याएको क्षति अवलोकन गर्नुभएको थियो । उहाँले त्यहाँका स्थानीय जनप्रतिनिधि र प्रमुख जिल्ला अधिकारीसँग भूकम्पबाट भएको क्षति र तत्काल राहतका लागि भएका कामहरूको जानकारी लिनुभएको थियो । प्रधानमन्त्रीसँगै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, विपद् व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेल पनि बझाङ जानुभएको थियो ।

बझाङको तलकोट र चैनपुर आसपास केन्द्रविन्दु भएर मंगलबार गएको भूकम्प र त्यसपछिका परकम्पले बझाङलगायत आसपासका जिल्लामा क्षति गरेको छ । बझाङमा भूकम्पका कारण जयपृथ्वी नगरपालिकाकी ४० वर्षीया गुणमति धामीको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । भूकम्पबाट ३७८ निजी आवास र सात वटा विद्यालय भवनमा क्षति पुगेको छ भने २५ वटा सरकारी कार्यालय भवन, एउटा स्वास्थ्य भवन क्षतिग्रस्त भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?