जनताले संघीयता मान्य छैन भनेर देखाइसके : अध्यक्ष केसी

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जनतालाई संघीय व्यवस्था मान्य नभएको बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद केसीले नेपाली जनताले नेपालमा एकात्मक प्रणालीको विकल्प संघात्मक प्रणाली हुन नसक्ने कुरा महशुस गरिसकेको बताउनु भयो । उहाँले नेपाली जनताले संघीयता मान्य छैन भनेर देखाइसकेको बताउनु भयो । उहाँले जनतालाई मान्य नहुँदापनि संघीयताको मुरली किन बजाइरहेको भनेर सांसदहरुलाई प्रश्न गर्नुभयो । उहाँले मुख्यमन्त्रीहरुलाई भैसेपाटीमा दरबार बनाउनु नै संघीयता हो भनि प्रश्न समेत गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘म यहाँ सुनिरहन्छु, संघीयता बलियो बनाउनुपर्छ । एउटा प्रदेशको ६ वर्षसम्म न्वारन हुन्न । कोशी प्रदेशको । ६ वर्षमा संविधानमा लेखिए अनुसार त्यसको न्वारन पनि हुन्छ । न्वारनमा बाहुनहरुले नाम किटानी गरिसकेपछि त्यो नाम भएन भनेर फेरी त्यहाँ उत्पात मच्चिन्छ । कतिचोटी त्यहाँ सरकार बने ? कति भत्किइरहेछन् । यो जात्रा सुन्न र देख्न नेपाली जनताले परेको छ । तैपनि संघीयताको मुरली माननीयजीहरुले बजाइरहनु भएको छ । त्यसकारणले संघीयताले गरेर खाएन अब । मुख्यमन्त्रीहरुलाई काठमाडौं भैँसेपाटीमा दरबार बनाउने हो ? उहाँहरु प्रदेशबाट आएर यहाँ बास बस्न कठैबरा । यही हो ? अब चल्छ संघीयता ? धान्न सक्नुहुन्छ तपाईहरुले ? लाज नमानिकन प्रजातान्त्रिक विकेन्द्रीकरण गरौँ । नगरपालिका र गाउँपालिकालाई अधिकार दिऔँ । नेपाल एकात्मक प्रणालीको विकल्प संघात्मक प्रणाली हुँदै होइन । नेपाली जनताले महशुस गरिसके । हामीले यहाँ जति घोक्रो फुलाएपनि नेपाली जनतालाई यो मान्य छैन भनेर देखाइसके । कोशीमै देखाइरहेका छौँ । यस्तो देख्दादेख्दै किन हामीले लाज पचाइरहेका छौँ ? हामीले किन जबर्जस्ती गरिराखेका छौँ ?’

अध्यक्ष केसीले संघीयताले गरी नखाएको टिप्पणी गर्नुभयो । उहाँले प्रजातान्त्रिक विकेन्द्रीकरण गरेर स्थानीय तहलाई अधिकार दिनुपर्ने बताउनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?