‘परदेशी २’ टिमलाई सम्मान

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । दशैँको अवसर पारेर यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘परदेशी २’ यतिबेला प्रचार-प्रसारमा लागिपरेको छ । चलचित्र प्रचारका लागि निर्माण टिमले देशका विभिन्न ठूला शहरमा पहिलो चरणको भ्रमण सकेर काठमाडौं फर्किएको छ । निर्माण टिमले यतिबेला एकातर्फ काठमाडौंका विभिन्न कलेजमा गीति नाटकमार्फत चलचित्रको प्रचारप्रसार गरिरहेको छ । अर्कोतर्फ, चलचित्रका कलाकार विभिन्न कार्यक्रमहरूमा समेत पुगेर ‘परदेशी २’ हेर्न दर्शकलाई अपिल गरिरहेका छन् ।

यसैबीच, चलचित्रका निर्देशक एवं कलाकार शनिवार भक्तजनमाझ प्रस्तुत भएका छन् । भक्तपुरको चाँगुनारायण ताथलीमा जारी श्रीमद्भागवत महायज्ञमा पुगेर चलचित्रका निर्देशक नारायण रायमाझी, अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारी र वर्षा शिवाकोटीले चलचित्रको प्रचारप्रसार गर्नुभएको हो ।

निर्देशक एवं कलाकारलाई त्यहाँ बाजागाजा र फूलमालाले भव्य स्वागत एवं सम्मान गरिएको थियो । निर्देशक नारायण रायमाझीले सुरुवातमा भक्तजनमाझ भजन प्रस्तुत गगर्नुभएको थियो । त्यसपश्चात अन्य सांगीतिक प्रस्तुतिसमेत दिनुभएका उहाँले घरघरको कथामा ‘परदेशी २’ बनेको बताउँदै चलचित्र हेर्न अपिल गर्नुभएको थियो । अभिनेता प्रकाश सपूतले चर्चित गीतहरू प्रस्तुत गर्दा भक्तजनले तालीले स्वागत गरेका थिए । उहाँले ‘परदेशी २’ सामाजिक कथामा पारिवारिक चलचित्र बनेको बताउँदै माया गरिदिन आग्रह गर्नुभयो ।

अभिनेत्रीद्वय केकी र वर्षाले दशैँको फेष्टिभ माहोलमा मनछुने चलचित्र आउँदै गरेको बताउँदै सबैलाई मनपर्ने विश्वास दिलाउनुभयो । शनिबार महायज्ञमा झण्डै १५ सय भक्तजन उपस्थित थिए । फरक खालका दर्शकमाझ पुग्दा नौलो अनुभूति भएको अनुभव निर्माण टिमको थियो । चलचित्रमा प्रकाश, केकी र वर्षासँगै प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, सविन बास्तोला, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको अभिनय छ ।

रमेश बिजीले कथा एवं पटकथा लेखन रहेको चलचित्रले अध्ययनका लागि विदेशिने युवा र सन्तान विदेशिदा बुढेसकाल लागेका आमाबुवाले भोग्ने पीडालाई प्रस्तुत गर्छ । राजेश वंशल र निर्देशक नारायण रायमाझीले संयुक्त रूपमा चलचित्रको निर्माण गर्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?