काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का कर्मचारी आन्दोलित भएका छन् । नेप्से कर्मचारी संघले तत्काल नेप्सेको आइपिओ जारी गरी नेप्सेलाई पुनर्संरचना गर्नुपर्ने, नेप्सेलाई सवल, सक्षम, प्रतिस्पर्धी तथा आधुनिक प्रविधियुक्त बनाउनुपर्ने माग गर्दै बुधबारदेखि आन्दोलन सुरु गरेको हो ।
उल्लेखित विषयमा सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गर्दै आन्दोलनको कार्यक्रम सुरु गरिएको नेप्से कर्मचारी संघका अध्यक्ष नवराज थापाले बताउनुभएको छ ।पहिलो चरणमा प्लेकार्डसहित शान्तिपूर्ण दबाबमूलक कार्यक्रमस्वरूप एक घण्टे धर्ना गरिएको तर माग सम्बोधन नभएसम्म दबाबमूलक कार्यक्रम निरन्तर रहने उहाँले बताउनुभएको छ ।
सेयर बजारमा सामान्य सुधार
गत सातादेखि निरन्तर घट्दोक्रममा रहेको सेयर बजारमा बुधबार भने सामान्य सुधार देखिएको छ । तर, नेप्सेमा सामान्य सुधार देखिए पनि कारोबार रकम भने बढ्न सकेन । नेप्से ५.१६ अंकले बढेर १८९४.७६ अंक कायम भएको छ भने दुई सय ८६ कम्पनीका ३७ लाख ३३ हजार पाँच सय २४ कित्ता सेयर एक अर्ब आठ करोड ८५ लाख ४७ हजार नौ सय ८० रुपैयाँमा कारोबार भएको छ । कारोबारमा आएका १३ मध्ये १० सूचक बढेका छन् भने तीनवटा घटेका छन् । व्यापार ०.१३, उत्पादन तथा प्रशोधन ०.१३ प्रतिशत र निर्जीवन बिमा ०.०६ प्रतिशतले घटेको छ । होटल तथा पर्यटन सर्वाधिक १.८० र म्युचुअल फण्ड १.०७ प्रतिशतले बढेको छ ।
कारोबार रकमका आधारमा शीर्षस्थानमा रहेको माण्डु हाइड्रोपावरको चार करोड ८० लाख ९० हजार रुपैयाँको कारोबार भएको छ भने एनआइसी एसिया बैंकको तीन करोड ५४ लाख, नबिल बैंकको तीन करोड ३१ लाख, हाथवे इन्भेष्टमेन्टको तीन करोड १९ लाख र रिलायबल नेपाल लाइफको दुई करोड ७८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा आएका माण्डु हाइड्रोपावर, हाथवे इन्भेष्टमेन्ट, सिटी होटल, समता लघुवित्त र सयपत्री हाइड्रोपावरको सेयरमूल्य सकारात्मक सर्किट लेबलमा बढेको छ ।
सानिमा जिआइसी इन्स्योरेन्सको सेयर मूल्य सर्वाधिक ४.२१ प्रतिशतले घटेको छ भने ग्रिन डेभलपमेन्ट बैंकको ३.४१, बुद्धभूमि नेपाल हाइड्रोपावर ३.४०, सुपर मादी हाइड्रोपावर ३.३१ र बिपिडब्लु लघुवित्तको ३.२३ प्रतिशतले घटेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच