काठमाडौँमा एनआरएनए महाधिवेशनको चहलपहल बढ्यो

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । यही असोज ३० गतेदेखि हुन गइरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनका लागि विश्वभरबाट प्रतिनिधि (डेलिगेट्स) हरु नेपाल आउनेक्रम सुरु भएको छ । काठमाडौंको सोल्टी होटलमा असोज ३० देखि कार्तिक ३ गतेसम्म हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएकाले चुनावी चहलपहल पनि व्यापक बढेको छ ।

नयाँ नेतृत्वका लागि हालका कार्यकारी अध्यक्ष डा. बद्री केसी, अध्यक्ष रविना थापा, उपाध्यक्ष महेशकुमार श्रेष्ठ तथा अर्का उपाध्यक्ष आरके शर्मा बीच प्रतिस्पर्धा हुँदैछ । तर डा.केसी र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

महाधिशनका लागि निर्वाचन समितिले ४ हजार १९२ जनाको प्राराम्भिक मतदाता नामावली प्रकाशित गरिसकेको छ । यस पटक भौतिक र अनलाइनमार्फत मतदान गर्न पाउने व्यवस्था भएपनि ठूलो संख्यामा डेलिगेट्सहरु काठमाडौं उत्रने क्रम जारी छ । ठमेल, दरबारमार्ग, बालुवाटारलगायतका क्षेत्रमा उम्मेदवार तथा डेलिगेट्सहरुको बाक्लो उपस्थिति देखिएको छ ।

विभिन्न देशको भ्रमण सकेर अध्यक्षलगायत अन्य पदका प्रत्यासीहरुले काठमाडौमा चुनावी अभियानलाई तीब्रता दिएका छन् । ९ बुँदे प्रतिवद्धतासहित डा. केसीले २०२३–०२५ कार्यकालका लागि अध्यक्षमा दाबी प्रस्तुत गर्नुभएको छ भने मुख्य प्रतिस्पर्धी उपाध्यक्ष श्रेष्ठले पाँच बुँदे प्रतिबद्धतासहित चुनावी अभियानलाई अघि बढाउनुभएको छ।

१० औं महाधिवेशनबाट पूर्वअध्यक्ष शेष घले समर्थित ठूलो समूह असन्तुष्ट भएपछि बिनोद कुँवरको नेतृत्वमा छुट्टै कार्य समितिको घोषणा गरिएको थियो । विभाजनमा रहेको एनआरएनए अभियानलाई एक ठाउँमा ल्याउनको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा जुन १८, २०२३ मा दुवै पक्षबीच सहमति भएको थियो। तर पछिल्लो समय चार बुँदामा समेटिएको सहमति कार्यान्वयनमा नआएपछि एकताको महाधिवेशन हुने सम्भावाना निकै कमजोर भएको बताइन्छ ।

यद्यपि , तीन दिन अघि अध्यक्षका प्रत्यासी महेशकुमार श्रेष्ठले कोरिया भ्रमणका क्रममा असन्तुष्ट समूहको नेतृत्व गरिरहनुभएका विनोद कुँवरसँग भेटेर एकताका लागि अनौपचारिक सहमति गरेपछि चुनावी माहोल परिवर्तन भएको छ । उहाँहरुबीच भएको आन्तरिक छलफलमा तीन महिनाभित्र एकता गर्ने सहमति जुटेको थियो ।

कोरिया भ्रमणमा रहेका बेला श्रेष्ठले आफ्नो टिमका उम्मेदवारहरु र डेलिगेट्स एवम सदस्यहरुबीच आयोजना गरिएको अन्तरसंवादलाई सम्बोधन गर्ने क्रममा तीन महिनाभित्र एकता गराउने प्रतिबद्धता जनाउनुभएको थियो। आफ्नो सम्बोधनको क्रममा उहाँले एक महिनाभित्र एकताको खाका तयार गर्ने र तीन महिनाभित्र सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई एकताको सूत्रमा बाँध्ने प्रतिज्ञा गर्दै विनोद कुँवरलाई साथमै राखेर सम्बोधन गरेपछि महेशप्रति सदभाव बढेको छ ।

त्यस क्रममा उहाँले भन्नुभयो ,‘ गैरआवासीय नेपाली संघप्रति ठूलो अपेक्षा छ । तर पछिल्लो समय संस्थामा विवाद बढेकाले अब सहमति, सहकार्य र भावनात्मक एकता गर्नुपर्ने छ । त्यसैले विनोद कुँवरजीलाई साथमै राखेर म संघलाई एक बनाइ छाड्ने वाचा गर्दछु । विगतका दिनमा केही अविश्वास बढ्यो, प्राविधिक कारणले मिलन हुन सकेन, तर म समन्वयकारी भूमिका निर्वाह गरेर इतिहास बनाउँछु ।’

त्यस क्रममा कुँवरले १०औं महाधिवेशनमा जस्तै त्रुटीहरु नगर्न र एकता गर्न आब्हान गर्नुभएको थियो। उहाँले श्रेष्ठलाई शुभकामना समेत दिंदै सदभाव प्रकट गर्नुभएको थियो। गत मार्च २०२२ मा काठमाडौँमा एनआरएनएको छुट्टाछुट्टै १० औं महाधिवेशन आयोजना गरिएपछि कुँवर नेतृत्वको समूहले समानान्तर संस्था संचालन गर्दै आएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?