पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–७ ,ज्यामिरेका ५२ वर्षीय मनु सारु गाउँमा बिजुली पुगेको देख्दा दंग हुनुहुन्छ । बिजुली पु-याउन एक दशक अघि गाडिएका पोल ढलिसकेका कारण उहाँको बत्ती बाल्न पाउने आस मरिसकेको थियो । केही दिन अघि ज्यामिरे स्थित ट्रान्सफर्मर राखिएको पोलमा बत्ती बालिएपछि उहाँको खुसी फर्किएको हो । ‘बत्ती बलेको देख्दा निकै खुसी लागेको छ,’ सारुले भन्नुभयो, ‘हाम्रो गाउँ पनि उज्यालो हुने भयो ।’
विद्युत् नहुँदा घरमा टुकी बाल्नुहुन्थ्यो । उखरमाउलो गर्मीमा चाहेर पनि पंखा राख्न सक्नुभएको थिएनन् । ‘अब सजिलो हुने भयो,’ उहाँले भन्नुुभयो । सोही वडाकै सिन्दुरे गाउँका ६० वर्षीय दीपक रानाले पारीको गाउँमा घरबाटै बिजुली बलेको देख्नुहुन्यो । आफ्नोतर्फ भने अन्धकार नै थियो । ‘बत्ती नहुँदा धेरै दिक्कत सहनुपरेको थियो,’ उहाँले भन्नुभयो, ‘केटाकेटीले राम्रोसँग पढ्न पाउँथेनन् ।’ अँध्यारोमा टुकीको भरमा रात काट्दै आएका यहाँका स्थानीयमा अहिले बिजुली पुगेपछि भने खुसी फर्किएको छ । उनीहरुको दैनिकी सामान्य बन्दै गएको छ ।
विद्युतका लागि पैसा बुझाएको एक दशकपछि यहाँको विकट गाउँ ज्यामिरे, बतासा र सिन्दुरे गाउँमा पहिलो पटक बिजुली बत्ती बलेको हो । ज्यामिरे, मोटेखरक, अधमारा, सिन्दुरे, सिमलडाँडा र मोटेखरक गाउँमा बिगत लामो समयदेखि बिजुली बत्तीको पर्खाइमा रहेका स्थानीयहरु पहिलो पटक बत्ती पुगेपछि अत्यन्त उत्साहित भएका छन् । विद्युतका लागि ज्यामिरेका स्थानीयले दश बर्ष अगाडी करिब २ लाख रुपैयाँ बुझाएको भए पनि दशकसम्म पनि बिजुली बाल्न नपाएपछि स्थानीय निराश बनेका थिए । ढिलै भएपनि गाउँमा बल्ल बिजुली बलेपछि स्थानीय अहिले उत्साहित भएका छन् । निस्दी गाउँपालिकामा अझै पनि ६० प्रतिशत नागरिकहरु विद्युतको पहुँच भन्दा बाहिर रहेका छन् । बाँकी रहेका गाउँमा पालिकाले बिद्युत विस्तारका लागि ७२ करोड रकम विनियोजन गरेर काम गरिरहेको छ । विद्युत बिस्तार भएपछि गाउँका ४५ घरपरिवारले सुविधा लिएका छन् ।
गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले स्थानीयको मेहनत, साथ र सहयोगका कारण लामो समयको प्रयासपछि बिजुली बाल्न सफल भइएको बताउनुभयो । पालिकाभित्र बाँकी रहेका स्थानमा केन्द्रीय प्रसारण लाइनको सेवा विस्तार गर्ने उहाँले बताउनुभयो ।
यसअघि सामुदायिक विद्युत् प्रसारण लाइनबाट निस्दी गाउँपालिकाभित्रका चारघरे, घुल्लीखरक, पोखरीछाप, हुवास र दार्सिङबासमा विद्युत् सेवा पुगिसकेको छ । अहिले निस्दीको बेभोके, रोल्लाबास, मदनपुरलगायतका टोलमा विद्युत् विस्तारका लागि खम्बा गाड्ने र तार तान्ने काम भइरहेको छ । विद्युत् सुविधाको पहुँच पुगेपछि गाउँमा बत्ती बाल्न, विद्यार्थीलाई पढ्न, मोबाइल चार्ज गर्न, रेडियो, टेलिभिजन प्रयोग, कुटानीपिसानी मिल सञ्चालन गर्न सजिलो भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच