कोराला नाका जोड्ने सडक स्तरोन्नतीलाई प्राथमिकता दिएका छौँ

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 5 mins

बागलुङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चिन र भारत जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको स्तरोन्नतिलाई पूर्णता दिन सरकारले प्राथमिकता दिएको बताउनु भएको छ । जलवायु परिवर्तन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी हुन मुस्ताङ आउनु भएका प्रधानमन्त्री प्रचण्डले चीनको सीमामा रहेका व्यापारिक नाका नियमित सञ्चालन हुने बताउनुभयो ।

कोरालासहितका अन्य नाका नियमति संचालन भएपछि नेपाली उत्पादन निर्यात र चिनबाट सामान आयात गर्न सहज हुने उहाँको भनाइ थियो । आफू चिन भ्रमणमा गएका बेला चौध वटा व्यापारीक नाका नियमित सञ्चालन गर्ने समझदारी भएको बताउनुभयो । अब कुनै पनि नाका बन्द नहुने प्रधानमन्त्री प्रचण्डले स्थानीयलाई आश्वासन दिनुभयो । उहाँले फरक प्रसंगमा बोल्दै आफू नेतृत्वको सरकार भ्रष्ट्राचारविरुद्ध थालेको सुशासनको अभियान नरोकिने बताउनुभयो ।

“अब मुस्ताङका नागरिकले व्यापार गर्न समस्या हुने छैन, धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण रहेको मुस्ताङमा अब विकासले गति लिन्छ, कोरलासीमा क्षेत्रका बासिन्दालाई प्रवेशपत्रको आधारमा आवतजावत गर्ने व्यवस्था मिलाउने समझदारी भएको छ” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो - “छिट्ट नेपालतर्फ भौतिक पूर्वाधार निर्माणमा चीनले सघाउने सहमति भएको छ, अहिले सरकारले जुन अभियान थालेको छ, त्यो रोकिदैन, भ्रष्टाचार शून्य गर्ने अभियानबाट हामीहरु पछि हट्ने छैनौँ ।”

गठबन्धनको सरकारले गरेको काम देखेर सत्ता बाहिरका नेता छटपटिएको बताउनुभयो । यो सरकारले पाँच वर्ष सत्ता संचालन गरे भन्दै नागरिको जीवनस्तर फेरिने गरि र जनताले महशुस गर्ने गरि काम गर्ने उहाँको भनाइ छ । प्रधानमन्त्री दाहालले हेलिकप्टरबाट कोरला नाका, लोमान्थाङ, मुक्तिनाथ र गत साउनको बाढीले क्षति पुगेको कागबेनीको निरीक्षण गर्नु भएको थियो ।

क्षति न्यूनिकरण गर्न माग

जलवायु परिवर्तनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी हुन मुस्ताङ आउनु भएका प्रधानमन्त्री दाहालाई स्थानीयले जलवायु परिवर्तनको असरबाट हुने क्षति न्यूनीकरणका गर्न माग गरेका छन् । उनीहरुले जग्गासम्बन्धी समस्या समाधान गर्न, कालीगण्डकी नदीको कटान र उपल्लो मुस्ताङको पाँच वटा गाउँलाई अर्धनिषेधित क्षेत्रबाट हटाउन माग गरेका थिए । सो अवसरमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजिन जामगेल गुरुङले जलवायु परिवर्तनका कारण मुस्ताङवासीले ठूलो क्षति व्यहोर्नु परेको सुनाउनुभयो ।

बाढीका कारण कागबेनीमा ठूलो क्षति पुगेको भन्दै यसको पुनस्थापनका लागि सरकारले ध्यान दिन आग्रह गर्नुभयो । बाढी, पहिरो र बेमौसमी हिमपातले रहेक वर्ष स्थानीयलाई दुःख दिइराखेको उहाँको भनाइ छ । जलवायु परिवर्तनका कारण मुस्ताङमा मानवीय र भौतिक क्षति बढेकाले न्यूनीकरणका लागि सरकार जिम्मेवार बन्नु पर्ने बताउनुभयो ।

अध्यक्ष गुरुङले भन्नुभयो - “केही समय अगाडि कागबेनीमा ठूलो बाढी आयो, बाढीले भौतिक संरचना बगाउँदा करोडौँको क्षति भयो, पहिले मुस्ताङमा यस्तो विपद् आइ लागेको थिएन, पछिल्लो समय किन यस्तो बन्दै गएको छ ?, हामीहरुलाई लाग्छ पक्की जलवायु परिवर्तनको प्रभाव हो, गत वर्ष लगातार एक साता वर्षा हुँदा धेरै क्षति पुगेको थियो, साउन २८ गतेको बाढीले कागबेनीमा ठूलो क्षति पुर्‍याएको छ, यस तर्फ सम्बान्धित निकायको ध्यान जाओस् ।”

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?