काठमाडौं । चीनमा रहनुभएका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई माइल्ड हार्ट अट्याक भएको छ । अहिले उहाँको बेइजिङस्थित युनियन अस्पतालमा उपचार भइरहेको छ । छातीमा समस्या देखिएपछि बुधबार राति साढे १ बजेतिर उहाँलाई अस्पताल भर्ना गरिएको प्रेस सल्लाहकार कमल गिरीले हिमालय टाइम्सलाई जानकारी दिनुभयो । उहाँ खतरामुक्त रहेको पनि उहाँले बताउनुभयो ।
‘राति १ बजेको समयमा माइल्ड हार्ट अट्याक भएको हो, लगत्तै अस्पताल भर्ना गरिएको छ । अहिले उहाँको अवस्था खतरामुक्त छ । राति नै तुरुन्तै उहाँको मुटुको एन्जिओप्लास्टी गरिएपछि उहाँको अवस्था अहिले स्थिर रहेको गिरीले बताउनुभयो । श्रेष्ठको मुटुमा रक्तप्रवाह रोकिएपछि हाल ‘स्टेन’ हालिएको छ । उहाँका अनुसार उपप्रधानमन्त्री श्रेष्ठलाई २४ घण्टासम्म अस्पतालमै अब्जर्भेसनमा राख्नुपर्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
यता, सरकारले पनि चीन भ्रमणमा रहनुभएका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ हृदयाघातका कारण बेइजिङस्थित अस्पतालमा उपचाररत रहेको पुष्टि गरेको छ । मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता रेखा शर्माले भन्नुभयो, ‘गृहमन्त्रीज्यू अहिले चीन भ्रमणमा हुनुहुन्छ । उहाँलाई अचानक बुधबार राति हृदयाघात भयो र उहाँको चाइनाको बेइजिङस्थित अस्पतालमा अप्रेसन भएको छ । उहाँ अहिले खतरामुक्त हुनुहुन्छ’, उहाँले अगाडि भन्नुभयो, ‘प्रधानमन्त्री पुष्पकमल दाहालले पनि उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे चीनका लागि नेपाली राजदूतसँग जानकारी लिइराख्नुभएको छ । उपचारका क्रममा केही दिन उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङमा नै रहने जानकारी आएको छ । उहाँ बोल्नसक्ने स्थितिमा आउनुभएको छ ।’
उता, उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे ‘पेकिंग युनियन मेडिकल कलेज अस्पताल, बेइजिङ’ले पनि बिहीबार ‘मेडिकल सर्टिफिकेट’ जारी गरेको छ ।
श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फेक्शन’ भएको र आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा ‘ओब्टस मार्जिनल शाखामा अवरोध देखिएको अस्पतालले जनाएको छ । उहाँको मुटुको बायाँ धमनीमा महत्वपूर्ण ‘स्टेनोसिस’ देखिएको र त्यसलाई कम गर्न तुरुन्तै ‘स्टेन्ट’ राखिएको समेत अस्पतालले जनाएको छ । श्रेष्ठ अहिले निरन्तर निगरानी, उपचारका लागि मेडिकल आईसीयूमा रहनुभएको र उहाँ स्थिर अत्यावश्यक संकेतहरूका साथ पूर्णरूपमा सचेत रहनुभएको पनि अस्पतालले जनाएको छ । यता, चिनियाँ सरकार र पार्टीका उच्च अधिकारीहरूले उच्चतम् प्रविधि अपनाउन र उहाँको उपचारमा विशेष ध्यान दिन अस्पताल प्रशासनलाई निर्देशन दिएको छ । पारिवारिक स्रोतका अनुसार उपप्रधानमन्त्री श्रेष्ठका सहयोगी सुसन कर्मचार्य आज (शुक्रबार) उहाँको स्वास्थ्य अवस्था बुझ्नका लागि बेजिङतर्फ जानुहुने पारिवारिक स्रोतले बताएको छ ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन जानुभएका उपप्रधानमन्त्री श्रेष्ठ बुधबारमात्रै आयोजित तेस्रो ‘बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन’को उद्घाटन समारोहमा सहभागी हुनुभएको थियो । सो अवसरमा उहाँले ‘प्रकृतिसँग सद्भावका लागि हरित सिल्क रोड’ भन्ने नाराका साथ आयोजित साझा विकासका लागि हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्चलाई सम्बोधन गर्नुभएको थियो । बीआरआई शिखर मञ्चमा भाग लिन उहाँ चीन जानुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच