
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष आरके शर्मा नेतृत्वको प्रतिनिधिमण्डलले सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग भेटवार्ता गरेको छ ।
अध्यक्षमा चयन भएसँगै शर्माले उच्चस्तरीय भेटवार्तादेखि गैरआवासीय नेपालीको एजेण्डा सम्बोधनका लागि सरकारी निकायमा ध्यानाकर्षण सुरु गर्नुभएको हो ।
सोही क्रममा मन्त्रालयमा मन्त्री भण्डारीलाई एक ज्ञापनपत्र बुझाउँदै शर्माले मध्यपूर्व लगायत श्रमिकका समस्या समाधान गर्न मन्त्रालयको ध्यानाकर्षण गराउनु भयो ।
ज्ञापनपत्रमा शर्माले नेपालीहरु रोजगारीको जाने देशहरुमा देखिएको राजनीतिक अन्योलताले गर्दा भविष्यमा आउने सक्ने समस्यालाई सम्बोधन गर्न नेपाल सरकारको निकायको नेतृत्वमा मध्यपूर्व संयोजक राजेन्द्र अर्याल (जोन) र युरोप संयोजक चिन्तामणि सापकोटाको संयोजकत्वमा एनसीसी प्रतिनिधि सदस्य तथा त्यहाँ स्थित बैचारिक संस्थाका प्रतिनिधि संलग्न भएको समिमि गठन गर्न अनुरोध गर्नुभएको छ ।
यसैगरी लामो समयदेखि वैदेशिक रोजगारीमा जाने क्रम नरोकिएको र विभिन्न अध्ययन अनुसार अबका १० वर्ष यही वैदेशिक रोजगारीमा जाने क्रमले नै निरन्तरता पाउने देखिएको ज्ञापनपत्रमा उल्लेख छ । ‘वैदेशिक रोजगारमा रहेका दाजुभाइ दिदीबहिनीलाई सहजताको लागि अनलाइनबाट श्रम स्वीकृति सहज बनाउनुपर्ने देखिएको छ’, ज्ञापनपत्रमा भनिएको छ, ‘सामाजिक सुरक्षा कोषमा वैदेशिक रोजगारीमा जाने बीमा गर्नुपर्ने अनिवार्य व्यवस्थालाई एकद्धार नीतिबाट एक किसिमको नीति बनाउँदा श्रमिकहरूलाई सहज हुन्छ ।’
यस्तै सामाजिक सुरक्षा कोषमा आकर्षण बढाउनको लागि समय अनुकूल नीतिहरूमा परिमार्जन तथा सामाजिक सुरक्षा कोषको सञ्चालक समितिमा एक जना गैरआवासीय नेपाली संघबाट प्रतिनिधित्वको लागि अनुरोध मन्त्रीसमक्ष गरिएको छ ।
यसैगरी योगदानमा आधारित सामाजिक सुरक्षा कोषलाई डिजिटल सूचना प्रणालीमा आबद्ध गर्ने काम सहाहनीय भएको भन्दै शर्माले अब पारिवारिक लगतमा आधारित एकीकृत सामाजिक सूचना प्रणाली विकास गर्नुपर्नेमा मन्त्री भण्डारीको ध्यानाकर्षण गराउनु भयो ।
यसैगरी घरेलु महिला कामदारको सुरक्षा, न्यूनतम पारिश्रमिक तथा रोजगारीको सुनिस्चितताकालागि रोजगारदातासँग सुरुमै सम्झौता गर्ने प्रणाली विकास गर्नुपर्ने शर्माको धारणा छ । नेपालको वैदेशिक रोजगारलाई सम्मानित र मर्यादित बनाउने काममा संघ नेपाल सरकारसँग सहकार्य गर्न सधैं तयार रहेको पनि उहाँले बताउनु भयो ।
यस्तै शर्माले वैदेशिक रोजगारीमा इराक पुगेका नेपालीको पासपोर्ट नवीकरण नहुँदा कतिपय नेपाली नेपाल फर्कन समेत नसकेको मन्त्री भण्डारीलाई अवगत गराउनु भयो । इराक लगायत देशमा पासपोर्ट नवीकरण प्रक्रिया सहजीकरण गर्नको विशेष पहल गरिदिन आग्रह गर्दै शर्माले विगतदेखि नै श्रमिकको समस्या बुझिदिएर मन्त्री भण्डारीले लिएको पहलकदमीप्रति पनि धन्यवाद दिनुभयो ।
ज्ञापनपत्र बुझ्दै मन्त्री भण्डारीले सामाजिक सुरक्षा कोषमा वैदेशिक रोजगारीमा जाने बीमा गर्नुपर्ने अनिवार्य व्यवस्थालाई एकद्धार नीतिबाट लैजाने विषय सकारात्मक रहेको बताउनु भयो । ‘यो मलाई पनि खड्केको विषय हो । यसलाई कामदार मैत्री बनाउनेमा पहल गर्नेछु’, उहाँले भन्नुभयो । यसका लागि दुई वर्षलाई नै श्रमिकको कोषमा जम्मा हुनेगरी व्यवस्था मिलाउने उनको भनाइ थियो । मध्यपूर्व लगायतका देशमा देखिएको श्रमिकसँग सम्बन्धित समस्या समाधान गर्न पनि मन्त्रालय गम्भीर रहेको उहाँको भनाइ थियो ।
सो अवसरमा मन्त्री भण्डारीले एनआरएनएको अध्यक्ष चयन भएकोमा बधाई तथा शुभकामना दिँदै चुनावमा अर्को पक्षले गरेको धाँधलीबारे आफू जानकार रहेको बताउनु भएको थियो। ज्ञापनपत्र बुझाउन मन्त्री भण्डारीको निवासमा शर्मासहित उपाध्यक्ष गंगाधर गौतम,महासचिव बुद्धिसागर सुवेदी,युरोप संयोजक चिन्तामणि सापकोटा गैरआवासीय अयिभन्ता तथा पूर्वउपाध्यक्षहरु डिबी क्षेत्री,नारायण आचार्य पुगेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच