गौतमबुद्ध विमानस्थल नियमित सञ्चालनका लागि प्रधानमन्त्रीलाई सिद्धार्थ सञ्जालको पत्र

हिमालय टाइम्स
Read Time = 4 mins

भैरहवा । सिद्धार्थ सञ्जाल, रुपन्देहीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको व्यवस्था मिलाउन माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ ।

मंगलबार लुम्बिनी आएका प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै सञ्जालले यथाशक्य विमानस्थल नियमित र पूर्ण सञ्चालनका लागि कुटनीतिक पहलकदमी गर्न तथा नेपाल सरकारको स्वामीत्व रहेको नेपाल वायुसेवा निमगको जहाजहरुबाट उडान भर्न अपील गरेको हो ।

विमानस्थल सञ्चालनमा नआए यहाँका आम नागरिक, उद्योगी व्यवसायी, विभिन्न संघ-संस्था विमानस्थलमा धर्ना दिन, आन्तरिक उडान ठप्प पार्नेसम्मका दबाबमूलक आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएको छ ।

यहाँको समग्र पर्यटन विकासका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन, आन्तरिक उडानहरु थप गर्न, बेलहिया नाका व्यवस्थापन, रेल कनेक्टिभिटीलगायतका विषयमा तत्काल सरकारले उचित कदम चाल्न आवश्यक रहेको सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताउनुभयाे ।

‘यथाशक्य विमानस्थल सञ्चालनको व्यवस्था मिलाउन र कार्गो सञ्चालन गर्न तथा वैदेशिक यात्राका लागि गरिने सम्पूर्ण विषयगत कार्यालयको स्थापना गर्न सञ्जालक सरकारको पूर्ण ध्यानाकर्षण होस् भन्ने चाहन्छ,’ ज्ञवालीले भन्नुभयाे ।

लुम्बिनी प्रदेशको समृद्धिको मूल आधार मानिएको यो विमानस्थल सञ्चालनमा नआउँदा विमानस्थललाई लक्षित गर्दै खोलिएको करिब १५ देखि २० वटा ठूला होटलहरु अहिले बैंकले लिलामी गरिसकेको अध्यक्ष ज्ञवालीले बताउनुभयाे ।

‘यस्ता धेरै पर्यटन व्यवसायी छिटै सडकमा आउने निश्चित छ । एकातिर निजी क्षेत्रको अरबौ लगानी खेर गइरहेको छ भने अर्कोतर्फ एडिबीको करिब ४३ अर्ब लगानी जोखिममा छ,’ उहाँले भन्नुभयाे ।

विमानस्थल सञ्चालनका लागि ठोस कदम नचाल्दा अब यहाँका उद्योगी व्यवसायी तथा आम नागरिकमा सरकारप्रतिको विश्वसनीयता घट्दै गइरहेको ज्ञवालीले बताउनुभयाे ।

ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री प्रचण्डले विमानस्थल सञ्चालनका लागि सरकार गम्भिर रहेको र यसबारे थप छलफल काठमाडौंमा हुने अश्वासन दिनुभएको ज्ञवालीले जानकारी दिनुभयाे । ‘प्रधानमन्त्री प्रचण्डले सकारात्मक कुरा गर्नुभएको छ, काठमाडौं आउनुहोस् थप छलफल गरौंला भन्नुभएको छ,’ ज्ञवालीले भन्नुभयाे ।

त्यस्तै सञ्जालले विमानस्थल नियमित सञ्चालनको माग गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र गृहमन्त्री सन्तोष कुमार पाण्डेयलाई पनि मंगलबार ज्ञापनपत्र बुझाएको छ ।

सोमबार सिद्धार्थ सञ्जाल रुपन्देहीले भैरहवामा पत्रकार सम्मेलन गरी विमानस्थल सञ्चालनमा नआए आन्तरिक उडानदेखि बेलहिया नाका ठप्प पार्नेसम्म आन्दोलनका कार्यक्रम घोषणा गरिसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?