पाल्पा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार जनताप्रति जवाफदेही र उत्तरदायी हुुँदैन भने काँग्रेसले अपजसको भारी बोक्न नसक्ने बताउनुभएको छ ।
नेपाली काँग्रेस तानसेन नगरपालिकाले पाल्पाको तानसेनमा आयोजना गरेको नगर सम्मेलनलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य महरले सरकार जनताप्रति जवाफदेही र उत्तरदायी हुनुपर्ने भन्दै त्यसो नभए काँग्रेसले अपजसको भारी बोकी रहन आवश्यक नरहेको बताउनुभएको हो ।
युवा नेता समेत रहनुभएका महरले भन्नुभयो, ‘काँग्रेस सधैं सरकारका कमजोरी र त्यसको अपजस बोक्ने अवस्थामा छैन ।’ उहाँले सरकारले जनमैत्री काम नगरे काँग्रेस गठबन्धनमा बसी रहनुको औचित्य समेत नरहेको स्पष्ट पार्नुभयो ।
महरले सरकारलाई जनताको जनजीविकाको सवालमा काम गराउनका लागि चौतर्फी दवाब दिनु अहिलेको आवश्यक रहेको बताउनुभयो । फरक प्रसंगमा महरले गठबन्धन सरकारको ५ वर्षसम्म विकल्प नखोजिने स्पष्ट गर्दै आउने निर्वाचनमा काँग्रेस एक्लैले निर्वाचन लड्ने गरी तयारी गरिरहेको समेत बताउनुभयो ।
उहाँले भन्नुभयो ‘काँग्रेस बरु २० वर्षसम्म प्रतिपक्षको भूमिकामा बस्न तयार छ तर रुखमै भोट हाल्ने वातावरण हामीले सिर्जना गछौं, त्यसका लागि ठाउँ– ठाउँबाट साथीहरुले सहयोग गर्नुपर्छ ।’ महरले काँग्रेसमा पुस्तान्तरण र रूपान्तरणका लागि नेतृत्व सचेत हुनुपर्ने बेला आएको समेत बताए । उहाँले २० औं वर्षैसम्म पनि आफ्नै सम्पति जस्तै गरी एउटै व्यक्तिले जिम्मेवारी लिन नहुने भन्दै पुस्तान्तरण र रूपान्तरणका ठाउँ खाली गरिनुपर्ने धारणा व्यक्त गर्नुभयो । नेता महरले समय सान्दर्भिक र प्रवृद्धिमैत्री बनाउन सकेमात्र काँग्रेसलाई बलियो बनाउन सकिने बताउनुभयो । उहाँले भन्नुभयो,‘अहिले युवा पार्टीको मुख्य जिम्मेवारी छौँ, हामीले आफ्नो शक्ति बुझेर पार्टी रूपान्तरणको आवाज बुलन्द पार्नुपर्छ । म त उक्त कुरामा प्रस्ट नै छु ।’
नेता महरले जनताको जीवनस्तर माथि उकास्ने कुरामा पार्टी गम्भीर बन्नुपर्ने बताउनुभयो । उहाँले काँग्रेस लोकतान्त्रिक पार्टी भएकाले समूह बन्नु स्वाभाविक रहेको पनि बताउनुभयो । महरले भन्नुभयो‘ लोकतन्त्रमा समूूह बन्नु अन्यथा हैन, निर्वाचनमा जाँदा समूूह बन्नुपर्छ तर निर्वाचनको परिणामपछि त्यसलाई आत्मसाथ गर्नुपर्छ ।’ निर्वाचनको परिणामलाई लिएर एक आपसमा तिक्ता साध्नु गलत रहेको उहाँले बताउनुभयो । नेता महरले नीति अधिवेशनबाट काँग्रेसलाई थप बलियो र सशक्त बनाएर अगाडि बढ्नेमा विश्वास व्यक्त गर्नुभयो ।
काँग्रेसका पूर्व केन्द्रीय सदस्य राजनप्रसाद पन्तले विगतबाट पाठ सिकेर काँग्रेस अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो‘तुष्टीकरणको सिद्धान्त नभई रुपान्तरणको सिद्धान्तबाट अगाडि बढे काँग्रेसको भविष्य सुनिश्चित छ ।’ नेता पन्तले अहिले कम्युनिष्ट नेताहरु तुष्टीकरणमा लागेकाले देशमा भ्रष्टचार, अनियमिता मौलाउँदै गएको समेत बताउनुभयो ।
काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले उच्च मनोबलका साथ अगाडि बढ्न पार्टी नेतृत्वलाई आग्रह गर्नुभएको छ ।
उहाँले भन्नुभयो‘ ०८४ को मिसन हैन हामी जनताको सुख, दुख र उनीहरुकै मुद्धामा केन्द्रीत हुनुपर्छ र हुन्छौं पनि, यसो भयो भने काँग्रेसलाई कुनै पनि शक्तिले परास्त गर्न सक्दैन ।’ जनताकै बिचबाट स्थापित पार्टी भएकाले पनि काँग्रेसलाई कुनै पनि शक्तिले परास्त गर्न नसक्ने सभापति श्रेष्ठले दावी गर्नुभयो । अनुसासन नभएकाले राजनीतिक अराजकता सिर्जना भएकाले त्यसतर्फ सचेत बन्न काँग्रेसका नेता कार्यकर्तालाई उनले आग्रह समेत गर्नुभयो ।
काँग्रेस पाल्पाका निवर्तमान सभापति एवं लुम्बिनी प्रदेशका सांसद वीरबहादुर रानाले पार्टी भित्र तिक्ता, कुण्ठ र आक्रोश पैदा हुँदै गएकाले नयाँ – नयाँ पार्टीहरुको उदय भएको बताउनुभयो । उहाँले काँग्रेस पुरानो र विचारले उत्कृष्ट पार्टी भएकाले त्यस्ता तिक्ता, कुण्ठ र आक्रोश पैदा हुन नहुने धारणा व्यक्त गर्नुभयो ।
नेता रानाले भन्नुभयो‘ विचारका हिसावले हामी अत्यन्त धनी छौं तर हामी भित्र केही समस्या छ, त्यसलाई सच्याएर अगाडि बढ्नु अहिलेको आवश्यकता हो ।’ देशको समृद्धि र विकास काँग्रेसले नै गर्ने भएकाले पार्टीलाई बलियो बनाएर लैजानुपर्ने उहाँले बताउनुभयो । पूर्व मन्त्री समेत रहेका रानाले आफु मन्त्रीको जिम्मेवारी पाएको छोटो समयमै पाल्पाको विकासमा उल्लेखी काम गर्न सफल भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘ म मन्त्री हुँदै पाल्पाको सिचाई, विद्युत्, पुल, तटबन्ध लगायका क्षेत्रका धेरै नै काम गरेको छु, केही काम सम्पन्न भएका छन् भने केही हुने क्रममा छन् ।’ नेता रानाले बहुवषर्षीया योजना अन्तर्गत तानसेनको अर्गलीलाई शहरीकरण गर्ने गरी काम अगाडि बढाइएको बताउनुभयो ।
काँग्रेस पाल्पा क्षेत्र न. २ का सभापति मुक्तिराम जिसीले केन्द्रबाट धमिलो पानी छोड्दा तल्लो तहमा समस्या उत्पन्न भएको बताउनुुभयो । उहाँले केन्द्रीय नेतृत्वप्रति लक्षित गर्दै भने ‘अब काँग्रेस सक्किने कि, सच्चिने ? यसतर्फतर्फ ध्यान दिन आवश्यक छ । ’ कार्यक्रममा काँग्रेस तानसेन –३ का वडा सभापति पुष्करराज रेग्मी, तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठ लगायतले आफ्ना धारणा राख्नुभएको थियो ।
नगर सभापति सुवर्ण मुनी शाक्यले काँग्रेसलाई बलियो बनाएर लैजाने दिशामा नगर समिति प्रतिवद्ध भएर लागेको बताउनुुभयो । सोही अवसरमा काँग्रेसले नगर समितिका पूर्व सभापतिहरु सूर्यरत्नराज भण्डारी, मधु दयाल सैजु र स्वर्गीय चकोरमान शाक्यलाई सम्मान समेत गरेको थियो । समितिका सचिव लक्ष्मण खड्काले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेको अर्का सचिव शैलेन्द्र भट्टराईले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच