नाडा अटो शो सुरु, गाडीलाई विलासिता सूचीबाट हटाउन आग्रह

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । अटोमोबाइल्ससम्बन्धी १५औँ संस्करणको नाडा अटो शो २०२३ मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ । नाडा अटो शो उद्घाटन गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्र आर्थिक रूपान्तरणको वाहक भएको भन्दै हरेक नागरिकको क्षमता, सिर्जना, सम्भावना र उद्यमशीलताको पूर्ण उपयोगिताबाट मात्रै मुलुकको आर्थिक वृद्धि सम्भव हुने बताउनुभययो । जुन निजी क्षेत्रले गर्न सक्ने उहाँको भनाइ थियो ।

अर्थमन्त्री महतले शिक्षा, स्वास्थ्य र सामाजिक न्यायबाहेक अन्य गतिविधिमा आर्थिक उपार्जन गर्न निजी क्षेत्रको अहं भूमिका हुने भएकाले सरकारले निजी क्षेत्रलाई उच्च महत्व दिइरहेको जिकिरसमेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘निजी क्षेत्र नै आर्थिक रूपान्तरणको वाहक, इन्जिन हो भन्ने कुरामा सरकार विश्वास राख्छ । हरेक नागरिकको क्षमता, सिर्जना, सम्भावना र उद्यमशीलताको पूर्ण उपयोगिताबाट मात्रै मुलुकको आर्थिक वृद्धि सम्भव छ ।

सरकारको जिम्मेवारी सहजकर्ताको भूमिका नियमनकारी, प्रतिस्पर्धी बनाउने, कानुनी राज्य लागू गर्ने र सामाजिक आर्थिक पूर्वाधार निर्माण गर्ने भूमिकामा सामान्यतया निजी क्षेत्र आउन हिच्किचाउँछ । सडक यातायातका कुरामा र न्यूनतम दरमा शिक्षा र स्वास्थ्य प्रदान गर्ने विषयबाहेक अन्य सबै क्षेत्रमा निजी क्षेत्रको भूमिका प्रमुख हो ।’ अर्थमन्त्री महतले पहिले सवारीसाधनलाई विलासिताका साधन मान्ने र कर लगाउने गरिए पनि अब त्यस्तो सोच राख्न नहुने बताउनुभयो । पछिल्लो समय विद्युतीय सवारीको प्रयोग बढ्दो क्रममा रहेकाले सरकारले सहज नीति अंगिकार गरिरहेको उहाँको भनाइ थियो ।

साथै अर्थमन्त्री महतले मुलुकभित्रै सवारी उत्पादन तथा एसेम्बलिङमा जोड दिँदै सवारी उत्पादन तथा एसेम्बलिङ उद्योगका लागि सरकारले सहुलियत तथा प्रोत्साहन गरिरहेको बताउनुभयो । उहाँले अटो मोबाइल क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्न सरकार तयार रहेको पनि बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले श्रीलंकाजस्तै खराब स्थिति हुन्छ भनेर आयातमा प्रतिबन्ध लगाउँदा राजस्व संकुचनमा परेको भन्दै मन्त्रालयबीच समन्वयमा जोड दिनुभयो । श्रीलंकाको त्रास देखाएर ल्याइएका नीतिले अटो व्यवसायमा समस्या आएको र सोही कारण राजस्व खुम्चिन पुगेको उहाँको भनाइ थियो ।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले उच्च ब्याजदरका कारण निजी क्षेत्रले लगानी विस्तार गर्न नसकेको भन्दै निजी क्षेत्रको मनोबल बढाउन सरकारले कुनै कदम नचालेको आरोप लगाउनुभयो । लिलामीका सूचनाले पनि देशको अर्थतन्त्रबारे आंकलन गर्न सकिने उहाँको भनाइ थियो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकार र निजी क्षेत्र मिलेर अघि बढे पनि नियामक निकायले सहयोग नगरेको आरोप लगाउनुभयो । आयोजक नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले गाडीलाई विलासिता वस्तुबाट हटाई अति आवश्यक वस्तुमा वर्गीकरण गर्न माग गर्नुभयो । उहाँले विद्युतीय गाडीको कर स्थिर राख्नसमेत अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

काठमाडौंको भृकुटीमण्डपमा आयोजित नाडा अटो शोको शीर्ष प्रायोजक टाटा मोटर्स जेन्युइन आयल रहेको छ भने सह-प्रायोजकमा शिखर इन्स्योरेन्स रहेको छ । मेलामा ठूला तथा साना गरी एक सय २० वटा स्टल र ब्लक रहेका छन् । प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकको सहभागिता रहेको छ । मेलामा १६ ब्राण्डका चारपांग्रे, २२ ब्राण्डका दुईपांग्रे, सात ब्राण्डका लाइट कमर्सियल भेहिकल, नौ वित्तीय संस्था तथा ३० लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्टपुर्जालगायत कम्पनीको सहभागिता रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?