बीपी साहित्य महोत्सव र यसको महत्व

हिमालय टाइम्स
Read Time = 8 mins

विश्वेश्वरप्रसाद कोइरालालाई नेपाली कांग्रेसले मात्र होइन अन्य दलहरूले समेत कुनै न कुनै रूपमा सम्मान गर्दै आएका छन् । पञ्चायत कालमा पञ्चहरूले उहाँविरुद्धका नारामा समेत ‘वीर विश्वेश्वर’ भन्ने गर्थे भनिन्थ्यो । यसबाट उहाँको स्थापत्य पुष्टि हुन आउँछ । बीपीलाई गाली गर्नेहरूले पनि उहाँबाट कुनै न कुनै राजनीतिक प्रेरणा लिइरहेका हुन्छन् । नेपाली कांग्रेस पार्टीका संस्थापक नेता बीपीकै मार्ग दर्शनबाट उहाँको अवसानको चार दशकभन्दा लामो समयसम्म पनि नेपालको सबैभन्दा ठूलो पार्टीका रूपमा नेपाली कांग्रेस रहन सकेको छ । उहाँको राजनीतिक निष्ठाबाट हालका दिनमा पार्टी विचलित बन्दै गएको हो कि भन्ने अवस्थामा नेपाली कांग्रेसले उहाँको जन्मजयन्तीको सन्दर्भ पारेर बृहत् साहित्य महोत्सव आयोजना गर्‍यो ।

भदौ २४ गते बीपीको जन्मजयन्ती हो । यस पटक उहाँको ११०औं जन्मजयन्तीका सन्दर्भमा संस्मरण गर्दै बीपी साहित्य महोत्सवको आयोजना भयो । गत भदौ २४, २५ र २६ गते आयोजना भइरहेको उक्त महोत्सवको तेस्रो दिन २६ गते नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण त्यस दिनको कार्यक्रम स्थगित गरिएको थियो । स्थगित भएको उक्त कार्यक्रम असोज तीन गते संविधान दिवसका दिन पुनः आयोजना गरी सम्पन्न भएको छ । यस महोत्सवमा विभिन्न कार्यक्रम आयोजना भएका थिए । तिनको महत्व एकातिर छँदैछ, त्यसभन्दा पनि बीपी कोइरालाई नेपाली कांग्रेसले बिर्सिंदै गएको छ भनेर आलोचना भइरहेका बेला पार्टीले जुन महोत्सव आयोजना ग¥यो त्यसबाट त्यस्तो आलोचनालाई जवाफ दिएको छ ।

दुईवटा डुंगामा खुट्टा राख्यो भने पार लागिँदैन भन्ने उखान छ तर बीपी त्यसको अपवाद पात्र हुनुहुन्छ । उहाँले साहित्य र राजनीति रूपी दुई डुंगामा खुट्टा टेक्नुभयो तर ती दुवै क्षेत्रमा उहाँ सफल बन्नुभयो । राजनीतिमा उहाँको असफलता देख्नेहरू पनि नभएका होइनन् । छोटो समयको उहाँको प्रधानमन्त्रीको काललाई हेरेर त्यस्तो मूल्यांकन गर्नु उचित हुँदैन । उहाँको समयमालाई हेरेर मूल्यांकन गर्दा उहाँ डेढ वर्ष प्रधानमन्त्री बन्न सक्नुमात्र पनि उहाँको सफलता थियो । जनताको छोरो राष्ट्रको सर्वोच्च पदमा पुग्न सफल हुनुभयो उहाँ । त्यसलाई असफलता भन्न मिल्दैन । त्यसपछि पनि नेपाली कांग्रेस पार्टी उहाँको आदर्श र सिद्धान्तबाट आजका मितिसम्म डोहोरिँदै आएको छ र अन्य राजनीतिक विचारक पनि उहाँको भावनाबाट कुनै न कुनै रूपमा प्रेरित छन् ।

त्यो उहाँको राजनीतिक सफलता थियो भने साहित्यमा त उहाँको जति सफलताको उचाइमा पुग्ने अर्को कुनै नेपाली आख्यानकार छैन । काव्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको सफलताको उचाइ एकातिर छ आख्यानमा भने बीपीको उचाइ चूडान्त छ । नौ कक्षाको विद्यार्थी छँदैदेखि साहित्यको सिर्जनामा लाग्नुभएका बीपीले पहिले हिन्दीमा लेखेर भारतको हंशमा कथा छपाउन थाल्नुभएको थियो । एन्टोन चेखोभ, लियो टोल्सटोयका साथै यौनमनोविज्ञानमा सिग्मन्ड फ्राइड, एडलर र युङबाट उहाँ प्रभावित बन्न पुग्नुभयो र आफ्ना रचनाहरूमा समेत त्यही भाव भिœयाउनुभयो । सूर्यविक्रम ज्ञवालीको सुझावमा नेपालीमा लेख्न थाल्नुभएको बीपीले त्यसपछि निरन्तर लेखिरहनुभयो । विसं १९९२ सालको शारदा पत्रिकामा ‘चन्द्रवदन’ प्रकाशित गरेयता राणा शासन कालमै उहाँको ‘दोषी चश्मा’ प्रकाशित भयो २००६ सालमा ।

त्यसयता व्यस्त राजनीतिक जीवनका कारण उहाँले एक दशकभन्दा लामो समय साहित्य सिर्जना गर्न पाउनु भएन । साहित्य सिर्जनाका दृटिले उहाँको जेल जीवन उर्वर बन्न पुग्यो । उहाँका बाँकी अरू सबै एक दर्जन जति कृतिहरू जेलमै सिर्जना भए । जसले नेपालका सन्दर्भमा मात्रै होइन विश्व साहित्यमै केही महत्वपूर्ण उपहारहरू थप्ने काम भयो । विभिन्न भाषामा अनुवाद हुनु, नेपाल भारतलगायत विभिन्न देशका साहित्यकारहरूबाट उहाँका कृतिहरूका शोध हुनुबाट यसको पुष्टि हुन्छ । सयौंले उहाँका कृतिमा शोध गरेका छन् । यसलाई पनि उहाँको सफलताको कसी मान्न सकिन्छ । साहित्यमा यति ख्याति भएको मानिस आफ्नै पार्टीको संस्थापक भएर पनि उहाँको सुकर्मको बारे कुनै कार्यक्रम नगरी रहनु उचित थिएन ।

अहिलेसम्म जे भए पनि यस वर्ष बीपीको ११०औं जन्मजयन्ती सन्दर्भ पारेर पार्टीले जुन साहित्य महोत्सव आयोजना गर्‍यो यो प्रशंसनीय छ । यसबाट एकजना राजनेताको भन्दा पनि वरिष्ठ साहित्यकारको सम्झना र सम्मान भएको छ । कार्यक्रममा नेपाली कांग्रेसको मात्र होइन अन्य विभिन्न पार्टीका अग्रपंक्तिका नेताहरूलाई पनि संलग्न र सहभागी गराइनु अर्को प्रशंसनीय कार्य हो । उहाँका परिवारका सदस्यहरूको संलग्ना र बीपीप्रतिको उहाँहरूको धारणासमेत प्रकट गर्ने यो एउटा अवसरका रूपमा देखा पर्‍यो । परिवारकै सदस्यहरूको साझा धारणा बन्न नसकिरहेको अवस्थामा उहाँहरूबीच समान विचार सिर्जना गर्नसमेत यस महोत्सवले अवसर जुटाइदिएको छ । यी सबै कारणले गर्दा बीपी कोइरालाको जन्मजयन्ती सन्दर्भ पारेर आयोजना गरिएको यस साहित्य महोत्सवको विशेष महत्व रहृयो । आयोजक नेपाली कांग्रेस पार्टीलाई यसका लागि विशेष धन्यवाद ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?