दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका : कोरोना नियन्त्रणमा डेढ करोड बढी खर्च

क्वारेन्टाइन र विरामी ओसार पसारमा अस्भाविक खर्च

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 9 mins

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कोरोना भाईरस(कोभिड-१९) रोकथाम तथा नियन्त्रणमा डेढ करोड बढी खर्च गरेको छ । आर्थिक वर्ष २०७६/०७७, २०७७/०७८ र २०७८/०७९ मा कोरोना भाईरस रोकथाम तथा नियन्त्रणमा कूल १ करोड ६२ लाख ६७ हजार १६६ रुपैयाँ खर्च गरेको हो ।

विवरण अनुसार नगरपालिकाले क्वारेन्टाइन र विरामी ओसार पसारमा मात्रै ३९ लाख १२ हजार ५ रुपैयाँ खर्च गरेको पाईएको छ । तीन वर्षमा विरामी ओसार पसारमा २५ लाख ६७ हजार ६८५ रुपैयाँ तथा क्वारेन्टाइन व्यवस्थापनमा १३ लाख ४४ हजार ३२० रुपैयाँ खर्च गरेको छ ।

क्वारेन्टाईन बहुउद्देश्यीय कर्भडहल माटिकोरे, जिल्ला आयुर्वेद कार्यालय र सरस्वती माविमा बेञ्च जोडेर कामचलाउ रुपमा बनाईएको थियो । काम चलाउ क्वारेन्टाइनमा खर्च धेरै देखिएको छ । जिल्ला आयुर्वेद कार्यालयको क्वारेन्टाइनमा बसेका कोभिड संक्रमितहरुले क्वारेन्टाइन व्यवस्थित नभएको र खानेकुरा गुणस्तरीय नभएको भन्दै विरोध नै गरेको थियो । तीनवटै क्वारेन्टाइनमा ओछ्याउने र ओढ्ने कपडा पनि काम नदिने भएको भन्दै क्वारेन्टाइन बसेकाहरु आफैले ओड्ने ओछयाउने कपडा किनेका थिए । यस्तै, कोभिडका बहानामा विरामी ओसार पसारमा धेरै खर्च भएको देखिन्छ ।

तत्कालिन मेयर दीपनारायण रिजाल, उपमेयर विणादेवी राईको कार्यकालमा कोरोना महामारी नियन्त्रण गरिएको हो । नेपालमा २०७६ माघ १० गते कोरोना भाईरसको संक्रमण फेला परेको थियो । कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि २०७६ चैत ११ गते देखि चैत १८ गतेसम्म पहिलो पटक लकडाउन भएको थियो । त्यसपछि स्थानीय सरकारहरुले आ-आफ्नो ढंगबार कोरोना भाईरस रोकथाम तथा नियन्त्रण गर्दै आएको हो ।

नगरपालिकाले कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि खरीद गरिएको एकथान जेनेरेटर कार्यालयमै रहेको छ, भने ३२ वटा अस्पताल बेड, १० वटा अक्सिजन सिलिण्डर स्वास्थ्य शाखामा र टिभी प्रमुख प्रशासकीय अधिकृतको निवासमा रहेको विवरण प्राप्तभएको छ ।

कुन वर्षमा कती खर्च?

नगरपालिकाले उपलब्ध गराएको जानकारी अनुसार कोरोना भाईरस रोकथाम तथा नियन्त्रणमा कुन आर्थिक वर्षमा के-के कार्यक्रममा कति खर्च भयो भनेर हामी तपाईलाई दिन चाहान्छौ ।

आर्थिक वर्ष २०७६/२०७७

यो आर्थिक वर्षमा कोरोना रोकथाममा ७३ लाख १० हजार २५१ रुपैयाँ खर्च भएको पाईएको छ । विवरण अनुसार औषधि तथा सुरक्षा उपकरण पिपि सेट लगायतमा ११ लाख ६८ हजार ५८० रुपैयाँ, भौतिक व्यवस्थापन मर्मतलगायतमा १० लाख ४० हजार ६० रुपैयाँ, ईन्टरनेट जडानमा १ लाख १५ हजार १५ रुपैयाँ, रुपाकोट रेडियोमा जनचेतना मूलक सन्देश प्रसारणमा १८ हजार, बिरामी ओसार पसार भाडाको गाडी ३ लाख ७५ हजार २८५ रुपैयाँ, क्वारेन्टाइन व्यवस्थापनमा ५ लाख १३ हजार ८६० रुपैयाँ, रेडक्रसलगायतलाई एम्बुलेन्सको भाडा १३ लाख १० हजार ५० रुपैयाँ र विपन्नवर्ग तथामजदुर वर्गलाई स्वास्थ्य सामाग्री तथा राहत सामाग्री वितरणमा ४ लाख १५ हजार १३५ रुपैयाँ खर्च भएको देखिन्छ ।

यस्तै, वडा कार्यालयहरुबाट पनि मोटो रकम कोरोना रोकथाम तथा नियन्त्रणमा खर्च भएको देखिन्छ । विवरण अनुसार राहत तथा माक्स, सेनिटाइजरलगायतमा वडा कार्यालय दिक्तेलले ८३ हजार ९४०, दिक्तेल सोल्माले ९१ हजार ३९०, बाम्राङले ३६ हजार ४४६, खाल्लेले ५० हजार, लफ्याङले २ लाख २० हजार खर्च गरेका छन् ।

राहत तथा माक्स, सेनिटाइजरलगायतमा दोर्पा ७ ले ५ लाख १३ हजार, दोर्पा चिउँरीडाँडा ८ ले ४ लाख ३१ हजार, निर्मली डाँडाले ५० हजार, पाथेकाले २ लाख ७२ हजार, खार्मीले १ लाख ६१ हजार, जालपाले १ लाख ६३ हजार ६००, नुनथलाले ५० हजार, बुईपाले ६ लाख २३ हजार ३९०, विजयखर्कले ५० हजार र राहत तथा माक्स, सेनिटाइजर तथा क्वारेन्टाइन लगायतमै नेर्पाले ६ लाख १६ हजार खर्च गरेको छ ।

आर्थिक वर्ष २०७७/२०७८

यो आर्थिक वर्षमा कोरोना रोकथाम तथा नियन्त्रणमा ६८ लाख ६३ हजार ९९५ रुपैयाँ खर्च भएको पाईएको छ । विवरण अनुसार क्वारेन्टाइन व्यवस्थापन खर्च ९ लाख ५२ हजार २७०, विरामी ओसार पसार भाडाको गाडीबाट ७लाख ६० हजार ६००, औषधिजन्य सामाग्री खरिदमा १९ लाख ९ हजार २०७, ज्वरो नाप्ने थर्मलगनमा २ लाख ४८ हजार ६००, स्वाव टेष्ट गर्ने कर्मचारी करार व्यवस्थापनमा ३ लाख २५ हजार, सचेतनामूलक सन्देश प्रसारण अनलाईन आवाज र सयपत्री मिडियामा ६१ हजार २०० भुक्तानी भएको छ ।

बुईपा एम्बुलेन्सलाई भुक्तानी २ लाख ५० हजार, क्वारेन्टाइनमा खानेपानीलगायतको भौतिक व्यवस्थापनमा १ लाख १६ हजार ५००, विपन्नवर्ग तथा मजदुर वर्गलाई स्वास्थ्य सामाग्री तथा राहत सामाग्री वितरणमा १ लाख ३७हजार २००, जेनेरेटर खरिदमा ४ लाख ७७ हजार ८००, सचेतना मूलक कार्यक्रममा १ लाख ८० हजार ५००, स्वास्थ्य कर्मचारी प्रोत्साहन खर्चमा २ लाख ३७हजार ८१८, सामान ढुवानी तथा विरामी ओसारपसारमा संलग्न जनशक्ति खर्च ७१ हजार ४८०, गाडी मर्मतमा ५ लाख ५९ हजार ६००, गाडीको लागि इन्धनमा १ लाख ५७हजार ४८० रुपैयाँखर्च भएको छ ।

यस्तै, राहत तथा माक्स, सेनिटाइजरलगायतमा वडा कार्यालय दिक्तेलले २ लाख ६७हजार ३४० रुपैयाँ तथा सोही शिर्षकमा दिक्तेल सोल्माले ४ लाख खर्च गरेको पाईएको छ ।

आर्थिक वर्ष २०७८/२०७९

यो आर्थिक वर्षमा कोरोना रोकथाम तथा नियन्त्रणमा २० लाख ९२ हजार ९२० रुपैयाँखर्च भएको पाईएको छ । विवरण अनुसार विरामी ओसार पसारका लागि खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङसँगको सम्झौता बमोजिममा १३ लाख ४५ हजार १००, विरामी ओसारपसार गरे वापत अन्य गाडी भाडामा ८६ हजार ७००, औषधिजन्य सामग्री खरीदमा १ लाख ३७०, मिडियालाई भुक्तानी (भिजन एफएमलगायतलाई) ५५ हजार, क्वारेन्टाइन व्यवस्थापनमा २ लाख ७५ हजार ५५० रुपैयाँखर्च भएको देखिन्छ ।

विपन्न वर्ग तथा मजदुर वर्गलाई स्वास्थ्य सामाग्री तथा राहत सामाग्री वितरणमा १ लाख ८० हजार २०० र आगलागी राहतमा ५० हजार खर्च भएको विवरणमा उल्लेख छ । २०७९ जेठ ६ गतेयता नगरपालिकाको नेतृत्वमा मेयर तीर्थराज भट्टराई र उपमेयर विसन राई हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?