अधिवक्ता, उद्यमी व्यवसायी र गीतकारका रूपमा आफूलाई अघि बढाइरहनुभएका गणेश घिमिरेको गीत ‘देवता भाकी’ श्रोता दर्शकमाझ आएको छ । सानैदेखि साहित्यमा अभिरुचि राख्ने घिमिरेले थुप्रै गीत रचना गर्नुभएको छ । गीतिसंग्रह पनि पाठकमाझ ल्याउने सोच बनाउनुभएका उहाँ जीवन र जगत्का लागि, मानवीय भोगाइ र चरित्रका लागि, आवेग र धैर्यताका लागि, प्रेम, वासना, कामना तथा धोकाका लागि, वेदना र आनन्दका लागि, हाँसो र रोदनका लागि, सहानुभूति र अनुभूतिका लागि, सेवा र अपराधका लागि, अभिनय र सच्चाइका लागि गीत लेख्ने गरेको बताउनुहुन्छ । भोगाइ र अनुभूति नै आफ्ना गीतका आधार रहेको बताउनुहुने गीतकार गणेश घिमिरेसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अंशः-
यहाँको हालै ‘देवता भाकी’ गीत सार्वजनिक भएको छ, यो गीत कसरी जन्मियो ?
मान्छेहरूको प्रकृतिलाई नियाल्दा चाहे प्रेमी-प्रेमिका हुन्, चाहे श्रीमान्-श्रीमती, प्रायः द्वैध चरित्र भेटिन्छ । समर्पण औपचारिकतामा मात्र सीमित हुनेका लागि एउटा सन्देशात्मक भावमा सिर्जना भएर जन्मियो ।
गीत लेखनको यहाँको रुचि कहिलेदेखि हो ?
बचपन तथा स्कुल कालमा साहित्यमा अत्यन्तै रुचि थियो । छन्द, अन्त्यानुप्रास प्रायः मिलाएर कविता लेख्थेँ, कलेज पुगेपछि कानुन अध्ययनतिर लाग्दा साहित्यलाई खासै निरन्तरता दिन सकिनँ । सायद आधार बचपनमै बन्यो होला ।
यहाँले धेरै गीत रचना गरेको भए पनि श्रोता/दर्शकमाझ पहिलो गीत लिएर आउनुभयो । आफ्ना गीत सार्वजनिक गर्न किन ढिला गर्नुभयो ?
गीत धेरै सिर्जना गरेँ । २०६९ सालताका फेसबुकमा साथीहरूले दिएको शीर्षकमा आधा घण्टाभित्र गीत तयार गर्ने गरेको याद छ । त्यो बेला लाइभमा नै गीत लेख्ने र पोष्ट गर्थेँ । एउटा फेसबुके साथी त मेरो सिर्जनाले रोएको स्मरण ताजै छ । गीत बन्नलाई रचनात्मकताले मात्र पुग्दो रहेनछ । संगीतकारसँगको सामिप्यता जरुरी हुनुको आवश्यकतामा सूर्य दयालु जस्तो मूर्धन्य संगीतकार तथा गायकसँग भेटपश्चात् यो गीत संगीतमय बन्यो । नाम चलेको एरेञ्जरको खोजीमा गोपाल रसाइलीको एरेञ्जपश्चात् म्युजिकको एउटा फ्रेम निर्माण भयो । स्वरूपराज आचार्य, जसको आवाजले मलाई सधैँ मन्त्रमुग्ध बनाउँथ्यो, उहाँकै आवाजमा एक वर्षपहिला नै गीतलाई कैद गरियो । गीतलाई भिडियोमार्फत् मात्रै युट्युबमा सार्वजनिक गर्न सकिने बाध्यताको उपज कथा लेख्न र अन्य व्यवस्थापनमा अरू एक वर्ष ढिला भयो । कुनै पनि कार्य निश्चित समयभन्दा अगाडि हुँदैन भन्ने कुराको चरितार्थ यो गीत पनि ढिला भएर आयो ।
नेपाली गीत संगीतको बजार कस्तो पाउनुभयो ?
गीत निर्माणमा निर्माताले राम्रो गीत बनाउन धेरै नै खर्च हुने रहेछ । व्यापारिक हिसाबले गीत संगीतमा फाइदा बेफाइदा ठम्याउन मलाई एउटा गीतले त गाह्रै पर्ला । तर, गीत संगीतको नेपाली बजार राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नै भएको र वर्तमान परिपे्रक्ष्यमा गीत तथा संगीतलाई हेर्ने नजर पनि अलि फराकिलो भएको हुनाले गीत संगीतमा लागेर पनि बाँच्न सकिने आधारचाहिँ तय भएको जस्तो देखिन्छ ।
गीत धेरै सिर्जना गरेँ । २०६९ सालताका फेसबुकमा साथीहरूले दिएको शीर्षकमा आधा घण्टाभित्र गीत तयार गर्ने गरेको याद छ । त्यो बेला लाइभमा नै गीत लेख्ने र पोष्ट गर्थेँ । एउटा फेसबुके साथी त मेरो सिर्जनाले रोएको स्मरण ताजै छ । गीत बन्नलाई रचनात्मकताले मात्र पुग्दो रहेनछ । जीवन दुःख र सुखको बीच पृथ्वीभित्र भोगिने एउटा भोगाइ हो जुन पृथ्वीको नाताभित्र अस्थायी छ, त्यही भोगाइलाई चरितार्थ गर्ने माध्यम हो गीत ।
गीतसंग्रह पनि पाठकमाझ ल्याउने सोचमा हुनुहुन्छ ?
रचनाहरू त अहिले पनि संग्रहका लागि प्रशस्त छन् । संगीतमय हुने वातावरण तय भयो भने ल्याउन पनि सकिन्छ ।
गणेश घिमिरेलाई अधिवक्ता, सफल उद्यमी व्यवसायी अथवा गीतकार के भनेर चिन्ने ?
अहिले यी सबै क्षेत्रमा पूर्ण नभइसकेकाले भविष्यमा जुन क्षेत्रको पल्ला भारी हुन्छ, त्यही नामले सम्बोधन गरिपाऊँ ।
जीवन के हो ? गीतलाई कसरी परिभाषित गर्नुहुन्छ ?
जीवन दुःख र सुखको बीच पृथ्वीभित्र भोगिने एउटा भोगाइ हो जुन पृथ्वीको नाताभित्र अस्थायी छ, त्यही भोगाइलाई चरितार्थ गर्ने माध्यम हो गीत ।
तपाईं कसका लागि गीत लेख्नुहुन्छ ?
जीवन र जगत्का लागि, मानवीय भोगाइ र चरित्रका लागि, आवेग र धैर्यताका लागि, प्रेम, वासना, कामना तथा धोकाका लागि, वेदना र आनन्दका लागि, हाँसो र रोदनका लागि, सहानुभूति र अनुभूतिका लागि, सेवा र अपराधका लागि, अभिनय र सच्चाइका लागि आदि ।
तपाईंले लेख्ने गीतको आधार के हो ?
भोगाइ र अनुभूति नै मेरा गीतका आधार हुन् ।
तपाईंलाई साह्रै मनपर्ने गीत ?
नारायण गोपाल, भक्तराज आचार्य, बच्चु कैलाश, फत्तेमान, मधु क्षेत्री, गोपाल योञ्जन, शिव शंकर, नातिकाजी, प्रेमध्वज प्रधान, दीप श्रेष्ठ, प्रकाश श्रेष्ठ, दीपक खरेल, तारादेवी, अरुणा लामा, मिरा राणा, ज्ञानु राणा, लोचन भट्टराई, डेजी बराइली, शान्ति ठटालका पुराना कालजयी गीतहरू असाध्यै मन पर्छ ।
तपाईंलाई मनपर्ने गायक/गायिका, गीतकार र संगीतकार ?
गायक र गायिकामा माथि उल्लेख गरेका बाहेक सत्य-स्वरूप, यम बराल, रामकृष्ण ढकाल, सूर्य दयालु, मुरलीधर, राज सिग्देल, दीपक लिम्बू, राजेशपायल राई, उदय सोताङ, प्रमोद खरेल, राजु लामा, निमा रुम्बा, नवीन के भट्टराई, यश कुमार, कुवेर राई, अञ्जु पन्त, देविका बन्दना, सपना श्री, सुकमित गुरुङ, मेलिना राई, प्रविशा अधिकारी, मिलन नेवार आदि अन्य धेरै छन् । गीतकारहरूमा रत्न शमशेर थापा, म वि.वि. शाह, चाँदनी शाह, माधव घिमिरे, कृष्णहरि बराल, राममान तृषित आदि । संगीतकारहरूमा शिव शंकर, नातिकाजी, नारायण गोपाल, शम्भुजित बास्कोटा, न्हृयु बज्राचार्य, सूर्य दयालु, अर्जुन पोखरेल, चेतन सापकोटा, महेश खड्का, कालीप्रसाद बास्कोटा आदि ।
यति धेरै गायक-गायिका, गीतकार तथा संगीतकारहरूको नाम लिनुभयो, तपाईंलाई संगीतको ज्ञानचाहिँ कत्तिको छ ?
मैले संगीत सिकेको त छैन तर तालमा झपताल, रूपक, दादरा, दिपचण्डी, खेम्टालाई नजिकबाट नियाल्ने मौका संगीतकार सूर्य दयालु र कुन्दन शाहमार्फत् पाएको छु ।
गीतबाहेक अन्य विषयमा लेख्ने झोक चलेको छैन ?
लेखनमा संगतले ठूलो असर पार्दाे रहेछ । स्कुलमै पढ्दा एउटा उपन्यास लेख्ने कोसिस गरेको थिएँ । देशको अस्तव्यस्तता, भ्रष्टाचार, कुशासनले मन कँुडिन्छ । यी विषयहरूले झोक चलाउन सक्छ ।
परिवारबाट तपाईंलाई लेखनमा कत्तिको सहायता मिलेको छ ?
परिवारमा सबैबाट साथ सहयोग पाएको छु । श्रीमतीले पनि मलाई प्रोत्साहन गर्छिन् । छोराछोरीहरूले पनि गर्व गर्छन् । खुसी लाग्छ । अन्य परिवारहरूबाट पनि सहयोग पाएको छु, कृतार्थ छु ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच